काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडलाई विश्वप्रसिद्ध भुक्तानी सेवा प्रदायक संस्था भिसा इन्टरनेसनलले दुईवटा प्रतिष्ठित अवार्ड प्रदान गरेको छ ।
भिसा इन्टरनेसनलद्वारा आयोजित ‘भिसा लिडरसिप कन्क्लेभ’ कार्यक्रममा कार्ड व्यवसायमा उत्कृष्ट प्रदर्शन गरेको आधारमा बैंकलाई दुई विधामा सम्मानित गरिएको हो ।
बैंकले ‘एक्सिलेन्स इन कन्जुमर प्रिपेड कार्ड्स बिजनेस’ र ‘एक्सिलेन्स इन कन्जुमर क्रेडिट कार्ड्स बिजनेस’ अवार्ड प्राप्त गरेको जनाएको छ ।
ग्राहकलाई सुरक्षित, छरितो तथा आधुनिक डिजिटल बैंकिङ सेवा प्रदान गर्ने उद्देश्यले सिद्धार्थ बैंकले क्रेडिट कार्ड तथा प्रिपेड कार्ड सेवाको विस्तार गर्दै आएको छ । यी उपलब्धिले बैंकको सेवा गुणस्तर, प्रविधिमैत्री नीति तथा बजारमा बढ्दो विश्वासलाई प्रतिबिम्बित गरेको बैंकले जनाएको छ ।
बैंकका अनुसार २०८३ असार मसान्तसम्म नेपालका बैंक तथा वित्तीय संस्थाले कुल ३ लाख ३० हजार क्रेडिट कार्ड जारी गरेका छन् । त्यसमध्ये सिद्धार्थ बैंकको हिस्सा करिब ६९ हजार कार्ड रहेको छ । यस आधारमा क्रेडिट कार्ड बजारमा बैंकको हिस्सा करिब २१ प्रतिशत रहेको छ ।
त्यस्तै, सोही अवधिसम्म बजारमा दुई लाख ८० हजार प्रिपेड कार्ड जारी भएकामा सिद्धार्थ बैंकको हिस्सा करिब ४२ हजार कार्ड रहेको छ ।
क्रेडिट कार्ड सुविधालाई थप प्रभावकारी तथा सहज बनाउने उद्देश्यले बैंकले मंसिर २९, २०८३ सम्म ग्राहकलाई आजीवन निःशुल्क क्रेडिट कार्डका लागि आवेदन दिन सकिने सुविधा पनि उपलब्ध गराएको छ ।