एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले चीन र युरोपेली संघ (इयु) सहित १६ अर्थतन्त्रबाट आयात हुने औद्योगिक वस्तुमा थप कर लगाउने तयारी गरेको छ ।
अमेरिकी व्यापार प्रतिनिधि कार्यालयले सरकारी अनुदानका कारण औद्योगिक वस्तुको अत्यधिक उत्पादन भइरहेको विषयमा गरेको अनुसन्धानको नतिजा सार्वजनिक गर्ने तयारी गरेको छ । अनुसन्धानको निष्कर्षका आधारमा नयाँ आयात शुल्क लगाउन सकिने जनाइएको छ ।
यस विषयमा जानकारी दिएका दुई व्यक्तिका अनुसार नयाँ कर लागू हुने समय भने परिवर्तन हुनसक्नेछ । ह्वाइट हाउसले सरकारी अनुदानका कारण सस्तो वस्तुको अत्यधिक उत्पादन र निर्यात हुँदा अमेरिकी उद्योगहरू प्रतिस्पर्धामा कमजोर बनेको जनाएको छ ।
प्रस्तावित शुल्क अमेरिकी सर्वोच्च अदालतले गत फेब्रुअरीमा असंवैधानिक ठहर गरेको व्यापक आयात शुल्कको विकल्पका रूपमा ल्याउन लागिएको हो । अमेरिकी व्यापार ऐन, १९७४ को धारा ३०१ अन्तर्गत भइरहेको अनुसन्धानले अमेरिकी व्यापारमाथि भेदभाव गर्ने देशविरुद्ध शुल्क लगाउने अधिकार राष्ट्रपतिलाई प्रदान गर्छ ।
नयाँ शुल्कको दरबारे भने स्पष्ट निर्णय भइसकेको छैन । यसअघि घोषणा गरिएका १० देखि १२.५ प्रतिशतका शुल्कमाथि थप कर लगाइने अपेक्षा गरिएको छ ।
चीनको विशाल औद्योगिक उत्पादन क्षमता र कमजोर घरेलु मागका कारण त्यहाँका कम्पनीहरू विदेशी बजारमा निर्भर हुँदै गएका छन् । विशेषगरी सवारीसाधन, सौर्य प्यानल, सिमेन्ट र इस्पात क्षेत्रमा चीनको बढ्दो उत्पादनले उसका व्यापारिक साझेदारहरूमा चिन्ता बढाएको छ । गत वर्ष चीनको व्यापार बचत कीर्तिमानी एक हजार दुई सय अर्ब अमेरिकी डलर पुगेको थियो ।
अमेरिकी राष्ट्रपति ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच हालै सेन्झेनमा भेटवार्ता भए पनि व्यापार घाटा दुई देशबीचको प्रमुख विवादका रूपमा रहेको छ । चिनियाँ राष्ट्रपति सी आगामी महिना फ्लोरिडामा आयोजना हुने समूह २० (जी-२०) शिखर सम्मेलनमा सहभागी हुने अपेक्षा गरिएको छ ।