काठमाडौं । बूढानीलकण्ठबाट साढे २१ किलो सुनसहित पक्राउ परेका तीन चिनियाँ नागरिक पुर्पक्षका लागि कारागार चलान भएका छन्। उनीहरूमाथि संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा समेत थप अनुसन्धान हुने भएको छ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले संगठित अपराध तथा सम्पत्तिसम्बन्धी कसुरको अनुसन्धानका लागि डीएसपीको नेतृत्वमा छुट्टै टोली गठन गरेको छ।
कार्यालयका एसएसपी सन्तोष खड्काका अनुसार पक्राउ परेका तीनै जनामाथि थप अनुसन्धान अघि बढाउन टोली परिचालन गरिएको हो।
कारागार चलान हुनेमा चीनका २७ वर्षीय हान फिई, ४७ वर्षीय चोउ लङसिन र ३७ वर्षीय वाङ जियान्जेन रहेका छन्। उनीहरूलाई पुर्पक्षका लागि कारागार पठाउने आदेश आएपछि कारागार चलान गरिएको एसएसपी खड्काले जानकारी दिए ।
गत असोज २२ गते एसएसपी खड्काकै नेतृत्वमा खटिएको टोलीले बूढानीलकण्ठको माथिल्लो भंगालस्थित एक घरबाट उनीहरूलाई २१ किलो ७५०.६८ ग्राम सुनसहित पक्राउ गरेको थियो ।
बरामद भएको दिनको बजार मूल्यअनुसार उक्त सुनको मूल्य ५४ करोड ६० लाख सात हजार ३२० रुपैयाँ रहेको थियो।
प्रहरीले उक्त घरबाट सुनका टुक्रा, बिस्कुट आकारका ढिक्का तथा लेसिलो अवस्थामा रहेको सुन बरामद गरेको थियो। प्रारम्भिक अनुसन्धानका क्रममा चिनियाँ समूहले पूरै घर भाडामा लिएर सुन प्रशोधन तथा उत्पादन गर्ने कारखाना सञ्चालन गरेको खुलेको थियो।
पक्राउ परेका तीनै जनालाई सुरुमा भन्सार ऐनअन्तर्गतको कसुरमा कारबाहीका लागि विमानस्थल भन्सार कार्यालय पठाइएको थियो।