• Menu

२८ वर्षपछि कार्यान्वयनमा आयो पशु बधशाला तथा मासु जाँच ऐन, उपत्यकाका २१ स्थानीय तहमा लागू

नेपाल प्रफिट

२०८३ मंसिर १, मंगलबार १३:१०

२८ वर्षपछि कार्यान्वयनमा आयो पशु बधशाला तथा मासु जाँच ऐन, उपत्यकाका २१ स्थानीय तहमा लागू

काठमाडौं । पशु बधशाला तथा मासु जाँच ऐन, २०५५ आजदेखि काठमाडौं उपत्यकाका ३ जिल्लामा कार्यान्वयनमा आएको छ। काठमाडौं, ललितपुर र भक्तपुरका २१ स्थानीय तहमा पहिलो चरणअन्तर्गत ऐन लागू गरिएको कृषि, वन तथा पर्यावरण मन्त्रालयले जनाएको छ।

कानुन जारी भएको २८ वर्षपछि कार्यान्वयनमा आएको उक्त ऐनले अव्यवस्थित रूपमा पशु बध गर्ने तथा अस्वस्थ मासु बिक्री वितरण गर्ने प्रवृत्तिलाई नियन्त्रण गर्ने अपेक्षा गरिएको छ।

मन्त्रालयका सहप्रवक्ता एवं वरिष्ठ कृषि अर्थविज्ञ डा. लालकुमार श्रेष्ठले काठमाडौं, भक्तपुर र ललितपुरका २१ स्थानीय तहमा आजदेखि ऐन कार्यान्वयनमा आएको जानकारी दिए ।

ऐन कार्यान्वयनमा आएसँगै जथाभावी पशु बध गर्न तथा जथाभावी रूपमा मासु बिक्री गर्न नपाइने भएको छ। यसबाट उपभोक्तासम्म अस्वस्थ र गुणस्तरहीन मासु पुग्ने क्रम नियन्त्रण हुने विश्वास सरकारले लिएको छ।

सरकारले गत भदौ १ गते राजपत्रमा सूचना प्रकाशन गरी देशभर तीन चरणमा ऐन लागू गर्ने कार्यतालिका सार्वजनिक गरेको थियो। सोही कार्यतालिकाअनुसार पहिलो चरणमा काठमाडौं उपत्यकाका तीन जिल्लाका २१ स्थानीय तहमा आजदेखि ऐन कार्यान्वयनमा ल्याइएको हो।

ऐन कार्यान्वयनसँगै पशु बध तथा मासु बिक्री वितरणलाई व्यवस्थित, स्वच्छ र सुरक्षित बनाउने सरकारी लक्ष्य रहेको छ।