• Menu

गुह्येश्वरीदेखि वीरगन्जको घडिअर्वासम्मका छठ घाट दुलहीझैँ सिँगारिए

नेपाल प्रफिट

२०८३ कात्तिक २९, आइतबार ११:११

गुह्येश्वरीदेखि वीरगन्जको घडिअर्वासम्मका छठ घाट दुलहीझैँ सिँगारिए

काठमाडौं । अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ दिई छठ पर्व मनाउन राजधानीको गुह्येश्वरी गौरीघाट बाग्मती किनारलाई आकर्षक रूपमा सजाइएको छ ।

छठ पर्वको मुख्य दिन आज बेलुकी अस्ताउँदो र सोमबार बिहान उदाउँदो सूर्यलाई पूजा, आराधनासहित अर्घ दिन राजधानीको यो मुख्य छठ घाटलाई दुलहीझैँ सिँगारिएको हो । छठ घाट एवं छठी माताको मूर्ति सजावटलगायत सबै तयारी पूरा भएको छठ पूजा समिति, गुह्येश्वरीका अध्यक्ष अनिल सिंहले जानकारी दिए ।

गुह्येश्वरी गौरीघाट क्षेत्रमा यस वर्ष ६०० भन्दा बढी छठ घाटको निर्माण गरिएको छ । विगत वर्षभन्दा यहाँ आउने छठ व्रतालु यस वर्ष बढेको पनि उनले सुनाए ।

कार्तिक शुक्ल चतुर्थीका दिन शुक्रबार स्नान गरी चोखो खाएर व्रतालु बसेका थिए । यसदिनदेखि छठ पर्व नसकिएसम्म व्रतालुले माछा, मासु, लसुन, कोदो, फापर, मुसुरो आदि नखाने विधि छ ।

मनोकाङ्क्षा पूरा हुने विश्वासमा महिलाले छठमा कठोर व्रत गर्छन् । विशेषगरी तराईमा मनाइने मिथिला संस्कृतिमा आधारित छठ पर्व २०४६ सालपछि काठमाडौंलगायत पहाडमा मनाउन थालिएको हो ।

यसैबीच, पर्साका छठघाट पनि दुलहीझैँ सिँगारिएका छन् । यहाँका पोखरी, नदी, सरोवर र पौडी पोखरीसमेत झकिझकाउ पारिएको छ ।

घडिअर्वा छठघाटमा भारतको कोलकाताबाट आएका कारीगरले विशेष रूपमा सजावट गरेका घडिअर्वा छठ पूजा व्यवस्थापन समितिका अध्यक्ष राकेश साहले जानकारी दिए । छठ व्यवस्थापनका लागि २६ लाख विनियोजन गरिएको उनले बताए । रासस