रसुवा । गत भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावित बनेको रसुवाको प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल गोसाइँकुण्डमा पर्यटकको चहलपहल पुनः बढ्न थालेको छ। सडक तथा पदमार्गमा भएको क्षतिपछि सुस्ताएको पर्यटन व्यवसाय आवागमन सहज बन्दै गएसँगै क्रमशः पुरानै लयमा फर्किन थालेको हो।
धार्मिक आस्था, प्राकृतिक सौन्दर्य र जैविक विविधताले भरिपूर्ण गोसाइँकुण्डमा पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढ्दै गएको छ। पर्यटकको सङ्ख्या बढ्न थालेपछि स्थानीय होटल व्यवसायी, पथप्रदर्शक, यातायात मजदुर तथा साना व्यवसायीलाई समेत राहत मिल्न थालेको छ।
गोसाइँकुण्ड गाउँपालिकाका अध्यक्ष कैसाङ नुर्पु तामाङले बाढीबाट प्रभावित पर्यटन क्षेत्र पुनः चलायमान हुन थालेको बताए। बाढीपछि केही समय पर्यटकीय गतिविधि ठप्पजस्तै बने पनि बाटोघाटो सहज हुँदै गएपछि पर्यटक आउन थालेको उनको भनाइ छ। गाउँपालिकाले पदमार्गको मर्मतसम्भार तथा पर्यटकको सुरक्षा र सहजताका लागि आवश्यक समन्वय गरिरहेको उनले जानकारी दिए।
लाङटाङ राष्ट्रिय निकुञ्जका सूचना अधिकारी एवं संरक्षण अधिकृत गणेशप्रसाद तिवारीले पनि आवागमन सहज भएसँगै गोसाइँकुण्ड क्षेत्रमा पर्यटकको आगमन नियमित हुन थालेको बताए। उनका अनुसार निकुञ्जले यस क्षेत्रको प्राकृतिक वातावरण र जैविक विविधता संरक्षणका कार्यक्रम सञ्चालन गर्दै आएको छ।
नागरिक समाज रसुवाका अध्यक्ष बाबुलाल तामाङले सडक तथा पदमार्गको अवस्था सुधार हुँदै गएपछि गोसाइँकुण्ड आउने तीर्थयात्री र पदयात्रीको सङ्ख्या बढ्न थालेको बताए। बाढीले बाटोघाटोमा क्षति पुर्याएपछि केही समय पर्यटन गतिविधि प्रभावित बनेको उनले उल्लेख गरे।
स्थानीय होटल व्यवसायी सन्तोष घलेका अनुसार पछिल्लो समय गोसाइँकुण्ड पुग्ने आन्तरिक पर्यटक र युवापुस्ताको आकर्षण बढ्दै गएको छ। यसअघि जनैपूर्णिमा र गङ्गादशहराका अवसरमा मात्रै तीर्थयात्रीको बढी चहलपहल हुने गरेकामा अहिले वर्षभरिजसो पदयात्रा र घुमफिरका लागि पर्यटक पुग्न थालेका छन्।
उनले पदयात्रा मार्गको दिगो स्तरोन्नति, सञ्चार सुविधा र आधारभूत पूर्वाधार विकासमा ध्यान दिन सके गोसाइँकुण्डको पर्यटनले स्थानीयको जीविकोपार्जनसँगै राष्ट्रिय अर्थतन्त्रमा समेत योगदान पुर्याउने बताए।
लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्रमा अवस्थित गोसाइँकुण्ड समुद्री सतहबाट चार हजार ३८० मिटर उचाइमा गोसाइँकुण्ड गाउँपालिका-६ मा पर्दछ। करिब १३.८० हेक्टर क्षेत्रफलमा फैलिएको यस कुण्डको लम्बाइ ६२५.५५ मिटर, चौडाइ ३०२ मिटर र गहिराइ २६ मिटर रहेको छ। कुण्डमा करिब १४ लाख ७२ हजार घनमिटर पानी रहेको बताइन्छ।
हिन्दू तथा बौद्ध धर्मावलम्बीको साझा आस्थाको केन्द्र गोसाइँकुण्डको धार्मिक महत्त्व प्राचीनकालदेखि रहँदै आएको छ। हिन्दू धार्मिक मान्यताअनुसार समुद्र मन्थनबाट निस्किएको कालकूट विष सेवन गरेपछि भगवान् शिवले त्यसको डाहा शान्त पार्न त्रिशूल प्रहार गरी पहरा खोपेर पानी निकालेका थिए। सोही पानीबाट गोसाइँकुण्ड बनेको जनविश्वास छ। यही मान्यताका आधारमा यस क्षेत्रलाई त्रिशूलधारासँग पनि जोडेर हेर्ने गरिन्छ।
गोसाइँकुण्डलाई विभिन्न समुदायले आ–आफ्नै नामले चिन्ने गरेका छन्। तामाङ समुदायले ‘ग्यो’ वा ‘छोकर’, शेर्पा समुदायले ‘घ्यो’, तिब्बती समुदायले ‘छो’ र नेवार समुदायले ‘शिलु’ भन्ने गरेका छन्।
गोसाइँकुण्ड आसपासमा भैरवकुण्ड, सरस्वतीकुण्ड, सूर्यकुण्ड, चन्द्रकुण्ड, दूधकुण्ड र गणेशकुण्डलगायत अन्य कुण्ड पनि रहेका छन्। यस क्षेत्रको ऐतिहासिक अमरसिंह गुफा र स्थानीय तामाङ समुदायको मौलिक संस्कृति पर्यटकका थप आकर्षण हुन्।
पारिस्थितिकीय महत्त्वका कारण गोसाइँकुण्ड क्षेत्रलाई विसं २०६४ असोज ५ गते (सन् २००७ सेप्टेम्बर २३) रामसार सूचीमा सूचीकृत गरिएको हो। यहाँ हिमचितुवा, रातो हाब्रे, कस्तुरी मृग र हिमाली थारलगायत वन्यजन्तुका साथै लालीगुराँस, सुनाखरी तथा अन्य हिमाली वनस्पति पाइन्छन्।
गोसाइँकुण्ड नेपालका प्रमुख धार्मिक तथा पर्यटकीय गन्तव्यमा पर्छ। यस क्षेत्रले हेलम्बु, लाङटाङ र तामाङ सम्पदा मार्गलाई समेत जोडेको छ। विशेषगरी जेठ-असारमा पर्ने गङ्गादशहरा र साउन-भदौमा पर्ने जनैपूर्णिमाका अवसरमा यहाँ ठूलो मेला लाग्ने गर्दछ। बालाचतुर्दशीमा पनि विशेष धार्मिक अनुष्ठान हुने गरेको रसुवाका पुरोहित टङ्कप्रसाद ढकालले बताए।
सडक तथा पदमार्गको दिगो सुधार, पर्यटकीय पूर्वाधारको विकास र प्राकृतिक सम्पदाको संरक्षण गर्न सके गोसाइँकुण्ड क्षेत्र धार्मिक पर्यटनसँगै साहसिक पदयात्राको समेत आकर्षक गन्तव्य बन्ने सम्भावना छ। रासस