काठमाडौं । प्रतिनिधिसभाको बैठकमा सांसदहरूले जलवायुजन्य विपद्को जोखिम न्यूनीकरणका लागि सरकारले तत्काल योजनाबद्ध कार्ययोजना ल्याउनुपर्ने माग गरेका छन् ।
बैठकको विशेष समयमा बोल्दै सांसदहरूले जोखिममा रहेका बस्तीको पहिचान तथा स्थानान्तरण, विपद्को पूर्वतयारी र प्रभावित समुदायको संरक्षणमा सरकारको ध्यानाकर्षण गराएका हुन् ।
नेपाली कांग्रेसका मदनकृष्ण श्रेष्ठले मौसमविद्ले यही साता मुलुकका विभिन्न क्षेत्रमा ठूलो वर्षा हुनसक्ने पूर्वानुमान गरेको भन्दै जोखिममा रहेका बस्ती तथा परिवार पहिचान गरी सुरक्षित स्थानमा स्थानान्तरण गर्न सरकारलाई सुझाव दिए ।
नेपाली कम्युनिष्ट पार्टीका रमेशकुमार मल्लले विपद् आउनुअघि नै जोखिम पहिचान र पूर्वतयारी गर्नुपर्ने बताए । उनले जोखिमयुक्त बस्ती व्यवस्थापन, जलवायु अनुकूल कृषि, खाद्य तथा पानीको सुरक्षा, स्वास्थ्य पूर्वतयारी र कमजोर समुदायको सामाजिक सुरक्षाका लागि योजनाबद्ध कार्ययोजना आवश्यक रहेको बताए ।
राष्ट्रिय स्वतन्त्र पार्टीका जगदीश खरेलले आगामी तीन दिन लगातार वर्षा हुने मौसमसम्बन्धी सूचनालाई ध्यान दिँदै विपद्को पूर्वतयारीमा जुट्न तीनै तहका सरकारलाई आग्रह गरे ।
कांग्रेसका गङ्गालक्ष्मी अवालले जलवायु परिवर्तन, हिमाली क्षेत्रका समस्या र जलवायु न्यायका विषय संयुक्त राष्ट्रसङ्घको महासभामा उठाउन प्रधानमन्त्री बालेन्द्र शाहलाई सुझाव दिइन् । रास्वपाका सागर ढकालले जलवायु परिवर्तनका कारण हिमालय क्षेत्रमा देखिएका गतिविधिबारे अध्ययन तथा अनुसन्धानका लागि लगानी बढाउनुपर्ने बताए ।
बैठकमा सांसदहरूले अन्य समसामयिक विषयमा समेत सरकारको ध्यानाकर्षण गराएका छन् । संस्कृति नीति, न्यायपालिका, जातीय विभेद, वैदेशिक रोजगारी, कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य तथा पूर्वाधार विकासका विषयमा सांसदहरूले धारणा राखेका थिए ।
रास्वपाका प्रमिला कुलुजुले युवाका लागि शिक्षा, रोजगारी र उत्पादनलाई जोड्ने गरी नीतिगत सुधार गर्नुपर्ने बताइन् । उनले स्वदेशी उत्पादन, नवप्रवर्तन, कृषि, पर्यटन तथा साना तथा मझौला उद्यममा युवाको पहुँच बढाउन सुझाव दिइन् ।
एमालेका लक्ष्मीप्रसाद पोखरेलले देशभर देखिएको खाना पकाउने एलपी ग्यासको अभावको दीर्घकालीन समाधान खोज्न आग्रह गर्दै दैलेखको पेट्रोलियम खानी उत्खननलाई अघि बढाउन सुझाव दिए ।
रास्वपाका गणेश धिमालले राष्ट्रिय गौरवका निजगढ अन्तरराष्ट्रिय विमानस्थल र काठमाडौं-तराई/मधेस द्रुत मार्ग निर्माणमा भइरहेको ढिलाइ अन्त्य गर्न सरकारको ध्यानाकर्षण गराए । रास्वपाकी पुष्पाकुमारी चौधरीले सप्तरीको सप्तकोशी नदी तटीय क्षेत्रमा हुँदै आएको कटान तथा डुबानको समस्या समाधानका लागि तत्काल तटबन्ध निर्माण गर्न माग गरिन् ।
यसैगरी, सांसदहरूले वैदेशिक रोजगारीमा हुने ठगी, तराई-मधेसमा विकास पूर्वाधार, कञ्चनपुरका उखु किसानका समस्या, महिलामाथिको हिंसा, संस्कृति नीति तथा संसद्का विभिन्न समयमा उठाइएका प्रश्नको सरकारले जवाफ दिनुपर्ने विषयमा समेत सरकारको ध्यानाकर्षण गराएका छन् ।