• Menu

इसेवा र सिटिजन्स बैंकको सहकार्यमा अपाङ्गता भएका व्यक्तिलाई लक्षित गरी ‘स्वावलम्बन कर्जा’ सुरु

नेपाल प्रफिट

२०८३ असोज ८, बिहीबार १४:०९

इसेवा र सिटिजन्स बैंकको सहकार्यमा अपाङ्गता भएका व्यक्तिलाई लक्षित गरी ‘स्वावलम्बन कर्जा’ सुरु

काठमाडौं । इसेवा र सिटिजन्स बैंक इन्टरनेसनलको सहकार्यमा अपाङ्गता भएका व्यक्तिलाई लक्षित गर्दै डिजिटल कर्जा सुविधा ‘स्वावलम्बन कर्जा’ सुरु गरिएको छ ।

काठमाडौंमा आयोजित एक कार्यक्रममा उक्त कर्जा सुविधा सुरु गरिएको हो । नयाँ सुविधाले कर्जा लिन आवश्यक लामो प्रक्रिया, कागजी काम तथा भौतिक उपस्थितिलाई सहज बनाउने उद्देश्य राखिएको छ ।

कार्यक्रममा इसेवा, सिटिजन्स बैंक इन्टरनेसनल, राष्ट्रिय अपाङ्ग महासंघ नेपाल, विकास साझेदार संस्था, अपाङ्गता भएका व्यक्ति तथा सञ्चारमाध्यमका प्रतिनिधिको सहभागिता थियो ।

‘स्वावलम्बन कर्जा’मार्फत योग्य अपाङ्गता भएका व्यक्तिले इसेवा एपबाटै कर्जाका लागि आवेदन दिन सक्नेछन् । यसअन्तर्गत १० हजारदेखि २ लाख रुपैयाँसम्म कर्जा लिन सकिनेछ । कर्जाको वार्षिक ब्याजदर ९.९९ प्रतिशत र प्रशोधन शुल्क ०.७५ प्रतिशत रहेको छ ।

योग्य प्रयोगकर्ताले इसेवा एपको गृहपृष्ठमा रहेको ‘स्वावलम्बन कर्जा’ ब्यानरमा क्लिक गरी आवेदन प्रक्रिया पूरा गर्न सक्नेछन् ।

कर्जाका लागि प्रयोगकर्ताको इसेवा खाता केवाईसी प्रमाणित भएको, नेपाल सरकारबाट जारी अपाङ्गता परिचयपत्र भएको, कम्तीमा ६ महिनादेखि इसेवा प्रयोग गर्दै आएको तथा तलब वा व्यवसायबाट नियमित आम्दानी हुने हुनुपर्नेछ । कर्जा स्वीकृतिसम्बन्धी मूल्यांकन तथा लागू हुने नियम बैंकको शर्तअनुसार हुने जनाइएको छ ।

कार्यक्रममा इसेवाका प्रमुख कार्यकारी अधिकृत जगदीश खड्काले डिजिटल प्रविधिको प्रयोगमार्फत अपाङ्गता भएका व्यक्तिका लागि कर्जामा पहुँच सहज बनाउन ‘स्वावलम्बन कर्जा’ सुरु गरिएको बताए ।

उनले भने, ‘कुनै पनि व्यक्तिको वित्तीय पहुँच उसको शारीरिक अवस्थाका कारण सीमित हुनु हुँदैन ।’ स्वावलम्बन कर्जा एउटा उत्पादन मात्र नभई नयाँ अवधारणाको सुरुवात भएको उनको भनाइ थियो ।

त्यस्तै, सिटिजन्स बैंक इन्टरनेसनलका प्रमुख सञ्चालन अधिकृत रोशन मानन्धरले अपाङ्गता भएका व्यक्तिको औपचारिक कर्जामा पहुँच विस्तार गर्न इसेवासँग सहकार्य गर्न पाउँदा खुसी लागेको बताए । स्वावलम्बन कर्जाले उनीहरूको व्यक्तिगत तथा आर्थिक आवश्यकतालाई सहयोग गर्ने वित्तीय समाधान उपलब्ध गराउने अपेक्षा गरिएको उनले बताए ।

कार्यक्रममा संस्थाका नेतृत्वको मन्तव्यसँगै ‘स्वावलम्बन कर्जा’ सुविधाबारे जानकारी, प्रत्यक्ष कर्जा वितरण, एक सहभागीको अनुभव तथा यस पहलसम्बन्धी वृत्तचित्रसमेत प्रस्तुत गरिएको थियो ।