• Menu

अफगानिस्तानमा पाकिस्तानको हवाई तथा ड्रोन आक्रमण, १० सैन्यस्थललाई लक्षित गरिएको दाबी

नेपाल प्रफिट

२०८३ असोज ८, बिहीबार १३:४८

अफगानिस्तानमा पाकिस्तानको हवाई तथा ड्रोन आक्रमण, १० सैन्यस्थललाई लक्षित गरिएको दाबी

एजेन्सी । पाकिस्तानले अफगानिस्तानबाट आफ्नो भूभागतर्फ ड्रोन आक्रमणको प्रयास भएको दाबी गर्दै त्यसको जवाफी कारबाहीस्वरूप अफगानिस्तानका १० स्थानमा हवाई तथा ड्रोन आक्रमण गरेको जनाएको छ । पाकिस्तानका सूचना तथा प्रसारणमन्त्री अताउल्लाह तारारले ती स्थान ड्रोन प्रक्षेपण तथा भण्डारणका लागि प्रयोग हुँदै आएका सैन्यस्थल भएको दाबी गरेका छन् ।

तारारले पाकिस्तानले आफ्नो सार्वभौम अधिकार रक्षाका लागि ‘सटीक, नियन्त्रित र अनुपातिक’ कारबाही गरेको बताए । उनका अनुसार आक्रमण पाकिस्तानमाथि भएको भनिएको ड्रोन आक्रमणसँग सम्बन्धित पहिचान गरिएका सैन्य लक्ष्यमा मात्र केन्द्रित थियो । पाकिस्तानले बुधबार अफगानिस्तानबाट आएका आठ ड्रोन आफ्नो हवाई क्षेत्रमा प्रवेश गरेको र ती सबैलाई खसालेको जनाएको थियो ।

अफगानिस्तानले भने पाकिस्तानी हवाई आक्रमणको विरोध गर्दै उचित जवाफ दिने चेतावनी दिएको छ । अफगान सरकारका प्रवक्ता जबिहुल्लाह मुजाहिदले कुनार र पक्तिका प्रान्तमा पाकिस्तानी आक्रमणबाट नागरिक हताहत भएको दाबी गरेका छन् । उनका अनुसार कुनारमा एक महिलासहित तीन सर्वसाधारणको मृत्यु तथा चार जना घाइते भएका थिए भने पक्तिकामा घर र स्थानीय पसलमा क्षति पुगेको थियो ।

संयुक्त राष्ट्रसंघीय सहायता मिसन (युएनएएमए) का अनुसार अप्रिलदेखि जुन २०२६ सम्म सीमापार सशस्त्र हिंसाबाट ३९९ सर्वसाधारण प्रभावित भएका छन् । तीमध्ये ५७ जनाको मृत्यु र ३४२ जना घाइते भएका छन् । प्रभावित हुनेमा ४० महिला र ११२ बालबालिका छन् । युएनएएमएले हवाई आक्रमण र स्थल सैन्य गतिविधिलाई प्रमुख कारणका रूपमा उल्लेख गरेको छ ।

यसअघि जुन २८ मा पक्तिया, पक्तिका र कुनारमा भएका हवाई आक्रमणमा कम्तीमा २८ सर्वसाधारण मारिएको र ४९ जना घाइते भएको युएनएएमएले जनाएको थियो । पाकिस्तानको सूचना तथा प्रसारण मन्त्रालयले ती प्रान्तमा आफ्ना सुरक्षा बलले कारबाही गरेको पुष्टि गरेको थियो ।

सीमापार आतंकवादी गतिविधि, ड्रोन आक्रमण र सैन्य कारबाहीलाई लिएर पाकिस्तान र अफगानिस्तानबीच पछिल्ला दिनमा तनाव बढ्दै गएको छ । दुवै पक्षले एकअर्कामाथि आरोप लगाउँदै आएका छन् ।

सम्बन्धित समाचार