• Menu

अमेरिका-इरान वार्ता फलदायी भएको ट्रम्पको दाबीपछि अन्तर्राष्ट्रिय बजारमा घट्यो कच्चा तेलको मूल्य

नेपाल प्रफिट

२०८३ असोज ७, बुधबार १६:०८

अमेरिका-इरान वार्ता फलदायी भएको ट्रम्पको दाबीपछि अन्तर्राष्ट्रिय बजारमा घट्यो कच्चा तेलको मूल्य

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इरानका प्रतिनिधिबीच संयुक्त राष्ट्रसंघमा भएको वार्ता ‘धेरै राम्रो’ र फलदायी भएको बताएपछि बुधबार अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेको छ।

एसियाली बजारको प्रारम्भिक कारोबारमा अन्तर्राष्ट्रिय बेन्चमार्क ब्रेन्ट क्रुडको मूल्य प्रतिब्यारेल ९८.९१ अमेरिकी डलरमा झरेको छ। त्यस्तै अमेरिकी कच्चा तेलको बेन्चमार्क वेस्ट टेक्सास इन्टरमिडिएट (डब्ल्यूटीआई) ८९.९३ डलरमा कारोबार भएको छ।

मध्यपूर्वमा फेब्रुअरीमा युद्ध सुरु भएपछि पटक-पटक प्रतिब्यारेल १०० डलरभन्दा माथि पुगेको तेलको मूल्य पछिल्लो समय उक्त स्तरभन्दा तल आएको हो।

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँगको भेटका क्रममा ट्रम्पले अमेरिका-इरान प्रतिनिधिबीच तीन घण्टा लामो बैठक भएको र वार्ता निकै फलदायी रहेको बताएका थिए। उनका अनुसार दुवै पक्षबीच निकट भविष्यमै अर्को बैठक हुने तय भएको छ।

ट्रम्पको उक्त भनाइ संयुक्त राष्ट्रसंघको महासभामा इरानप्रति कडा धारणा व्यक्त गरेको केही घण्टापछि आएको हो। उनले इरानसँग सम्झौता गर्ने वा इस्लामिक गणतन्त्रलाई समाप्त गर्ने विषयमा आफूले ठूलो निर्णय लिनुपर्ने बताएका थिए।

अमेरिका र इरानबीचको तनाव भने कायमै रहेको छ। इरानले स्ट्रेट अफ हर्मुज बन्द राखेको छ भने अमेरिकाले इरानी बन्दरगाहमाथि नाकाबन्दी जारी राखेको जनाइएको छ।

यसैबीच, साउदी अरबले द्वन्द्वका कारण बन्द भएको ईस्ट-वेस्ट पाइपलाइन पुनः सञ्चालन गर्न थालेको छ। स्ट्रेट अफ हर्मुजमा सम्भावित अवरोधलाई छल्दै तेल निर्यात गर्न उक्त पाइपलाइन साउदी अरबका लागि महत्वपूर्ण मार्ग मानिन्छ। ब्लुमबर्गका अनुसार साउदी अरबले साताको अन्त्यतिरबाट तेल निर्यात पुनः सुरु गर्ने तयारी गरेको छ।

तेल बजारसँगै बुधबार एसियाली सेयर बजारमा मिश्रित कारोबार भएको छ। ताइवानको ताइएक्स परिसूचक ०.८ प्रतिशतले बढेको छ। कृत्रिम बुद्धिमत्ता (एआई) क्षेत्रमा बढ्दो लगानी र उत्साहले ताइवानको बजार प्रभावित भएको बताइएको छ।

एन्थ्रोपिक र ओपनएआईले मंगलबार केही घण्टाको अन्तरालमा नयाँ तथा तुलनात्मक रूपमा सस्ता एआई मोडल सार्वजनिक गरेका छन्। फेसबुकको मातृ कम्पनी मेटाले पनि नयाँ एआई एजेन्ट ‘म्युज’ सार्वजनिक गरेपछि कम्पनीको सेयर मूल्य ११ प्रतिशतले बढेको थियो।

यसैबीच, अमेरिकी राष्ट्रपति ट्रम्प र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच बिहीबार हुने शिखर बैठकतर्फ पनि लगानीकर्ताको ध्यान केन्द्रित भएको छ। अमेरिका-चीन व्यापार, शुल्क, मध्यपूर्वको द्वन्द्व तथा एआई प्रविधिको विकास र प्रतिस्पर्धा बैठकका प्रमुख विषय बन्न सक्ने अपेक्षा गरिएको छ।

सम्बन्धित समाचार