बनेपा । दुई वर्षअघि आएको बाढीपहिरोबाट क्षतिग्रस्त काभ्रे उपत्यका एकीकृत खानेपानी आयोजनाको पुनर्निर्माण प्रक्रिया सुरु भएपछि बनेपा, धुलिखेल र पनौतीका नागरिकमा खानेपानी समस्या समाधान हुने आशा पलाएको छ।
तीनवटै नगरपालिकालाई लक्षित गरी अघि बढाइएको आयोजना निर्माणको अन्तिम चरणमा पुगेका बेला बाढीपहिरोबाट मुहान, इन्टेक, ट्यांकी तथा मुख्य र शाखा पाइपलाइनमा क्षति पुगेको थियो। त्यसपछि आयोजना पुनर्निर्माणका लागि प्रक्रिया अघि बढाइएको हो।
सरकारले चालु आर्थिक वर्ष २०८३/८४ मा आयोजनाको पुनर्निर्माणका लागि २० करोड बजेट विनियोजन गरेपछि काम अघि बढाउन बाटो खुलेको हो। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. राम लामाका अनुसार पुनर्निर्माणका लागि यही महिनामा बोलपत्र आह्वान गर्ने तयारी छ। आयोजना दुई वर्षभित्र सम्पन्न गर्ने लक्ष्यसहित प्रक्रिया अघि बढाइएको उनले बताए।
काभ्रे उपत्यका एकीकृत खानेपानी व्यवस्थापन बोर्डका अध्यक्ष एवं बनेपा नगरपालिकाका प्रमुख शान्तिरत्न शाक्यका अनुसार स्थानीय तहको स्रोतबाट मात्र पुनर्निर्माण सम्भव नभएपछि संघीय सरकारसँग समन्वय गरिएको हो।
पूर्वाधार मन्त्रालयअन्तर्गत पुनर्निर्माण हुने आयोजनाको लागत ७९ करोडभन्दा बढी अनुमान गरिएको छ। मन्त्रालयबाट बोलपत्र आह्वान भएपछि ठेक्कामार्फत काम अघि बढाइने र हाल विनियोजित २० करोडपछि आवश्यकताअनुसार थप बजेट व्यवस्थापन हुने अपेक्षा गरिएको शाक्यले बताए।
बाढीबाट क्षतिग्रस्त आयोजनाको पुरानो कार्यालयसमेत पुनः सञ्चालनमा ल्याइएको छ। कार्यालय सञ्चालनमा आएपछि प्रशासनिक, प्राविधिक तथा ठेक्का प्रक्रियासम्बन्धी काम अघि बढाउन सहज भएको जनाइएको छ।
बनेपा, धुलिखेल र पनौतीलाई एउटै खानेपानी प्रणालीमा जोड्ने उद्देश्यले अघि बढाइएको आयोजनाबाट करिब एक लाख ४० हजार जनसङ्ख्यालाई खानेपानी सेवा उपलब्ध गराउने लक्ष्य छ। विभिन्न मुहानबाट पानी संकलन तथा प्रशोधन गरी वितरण गर्ने योजना रहेको छ।
बाढीपहिरोअघि आयोजनाको समग्र भौतिक प्रगति ९६.६० प्रतिशत पुगेको थियो। तर प्राकृतिक विपत्तिका कारण आयोजनाका महत्वपूर्ण संरचनामा क्षति पुगेपछि पुनर्निर्माण आवश्यक भएको हो।
धुलिखेल नगरपालिकाका कार्यवाहक नगरप्रमुख निराजन जङ्गमले आयोजनाको पुनर्निर्माणका लागि करिब ७९ करोड आवश्यक पर्ने अनुमान गरिएको बताए। चालु आर्थिक वर्षमा विनियोजित २० करोडबाट पहिलो चरणको काम सुरु गरी आवश्यक रकम क्रमशः व्यवस्थापन गर्दै आयोजना अघि बढाइने उनले जानकारी दिए।
पनौती नगरप्रमुख रामशरण भण्डारीले आयोजना तीनवटै नगरका नागरिकको साझा सरोकार भएकाले सामूहिक प्रयासबाट सम्पन्न गरिने बताए।
आयोजना दुई वर्षभित्र पुनर्निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ।