• Menu

जैविक विविधता संरक्षणको ‘३०×३०’ लक्ष्य हासिल गर्नबाट पछाडि पर्दै विश्व, लगानी बढाउन दबाब

नेपाल प्रफिट

२०८३ असोज ७, बुधबार १६:४८

जैविक विविधता संरक्षणको ‘३०×३०’ लक्ष्य हासिल गर्नबाट पछाडि पर्दै विश्व, लगानी बढाउन दबाब

एजेन्सी  । सन् २०३० सम्म विश्वको ३० प्रतिशत भूमि र महासागर संरक्षण गर्ने अन्तर्राष्ट्रिय लक्ष्य हासिल गर्ने दिशामा विश्व पछाडि परेको वातावरणीय अभियानकर्ताहरूले बताएका छन्।

आगामी अक्टोबरमा आर्मेनियामा हुने संयुक्त राष्ट्रसंघीय जैविक विविधता सम्मेलनअघि सार्वजनिक गरिएको प्रतिवेदनले जैविक विविधता संरक्षणका लागि सरकारको प्रतिबद्धता र कार्यान्वयनबीच ठूलो अन्तर रहेको देखाएको छ।

सन् २०२२ मा करिब २०० राष्ट्रले तय गरेको ‘३०×३०’ लक्ष्यअन्तर्गत सन् २०३० सम्म विश्वको कम्तीमा ३० प्रतिशत भूमि तथा समुद्री क्षेत्र संरक्षण गर्ने प्रतिबद्धता गरिएको थियो। तर ‘क्याम्पेन फर नेचर’ र ‘टुगेदर फर द ओसन’ को प्रतिवेदनअनुसार लक्ष्य हासिल गर्न संरक्षण प्रयास र लगानी तत्काल बढाउन आवश्यक छ।

प्रतिवेदनअनुसार हालका प्रतिबद्धता पूर्ण रूपमा कार्यान्वयन भए पनि सन् २०३० सम्म संरक्षित भूमि तथा अन्तर्देशीय जलक्षेत्र करिब २७ प्रतिशत मात्र पुग्नेछ। महासागरको संरक्षण भने करिब १२ प्रतिशतमा सीमित हुने अनुमान गरिएको छ।

‘क्याम्पेन फर नेचर’का निर्देशक ब्रायन ओ’डोनेलले तीव्र प्रगति सम्भव भए पनि विश्व ३०×३० लक्ष्य हासिल गर्ने बाटोमा नरहेको बताएका छन्। संयुक्त राष्ट्रसंघअन्तर्गतको जैविक विविधतासम्बन्धी महासन्धिले पनि राष्ट्रहरू लक्ष्य हासिल गर्ने मार्गबाट पछि हटिरहेको चेतावनी दिएको छ।

संरक्षणका लागि आवश्यक वित्तीय स्रोतको अभावलाई प्रमुख चुनौतीका रूपमा औँल्याइएको छ। ३०×३० लक्ष्य पूरा गर्न वार्षिक १ खर्बदेखि १ खर्ब ८० अर्ब अमेरिकी डलर आवश्यक पर्ने अनुमान भए पनि हाल करिब २४ अर्ब डलर मात्र खर्च भइरहेको प्रतिवेदनमा उल्लेख छ।

महासागर संरक्षणका लागि मात्रै वार्षिक १६ अर्ब डलर आवश्यक पर्ने भए पनि हाल करिब १ अर्ब ८० करोड डलर खर्च भइरहेको जनाइएको छ।

विश्वका धेरै जैविक विविधतायुक्त क्षेत्र विकासोन्मुख देशमा रहेकाले ती देशलाई संरक्षणका लागि थप स्रोत आवश्यक रहेको प्रतिवेदनले जनाएको छ। निर्देशक ओ’डोनेलले सरकारहरूले संरक्षण बजेट बढाउनुका साथै जीवाश्म इन्धन तथा खानी उद्योगजस्ता प्रदूषणकारी क्षेत्रबाट संरक्षणमा योगदान गराउने कानुनी व्यवस्था गर्नुपर्ने बताएका छन्।

अक्टोबर १९ देखि आर्मेनियाको राजधानी येरेवानमा हुने जैविक विविधता सम्मेलनमा राष्ट्रहरूले ३०×३० लक्ष्यतर्फको प्रगति समीक्षा गर्नेछन्। सम्मेलनमा लक्ष्यलाई पुनः सही मार्गमा ल्याउन आवश्यक उपायबारे छलफल हुने जनाइएको छ।

सम्बन्धित समाचार