एजेन्सी । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले कृत्रिम बुद्धिमत्ता (एआई) को तीव्र विकाससँगै देखिन सक्ने सम्भावित जोखिमलाई जिम्मेवार र सुरक्षित ढंगले व्यवस्थापन गर्न अन्तर्राष्ट्रिय सहकार्यलाई थप प्रभावकारी बनाउन आग्रह गरेका छन् । उनले यसका लागि सदस्य राष्ट्रहरूबीच सहमतिमा आधारित बहुपक्षीय एआई जोखिम व्यवस्थापनसम्बन्धी ढाँचा निर्माण गर्न आवश्यक रहेको बताए ।
संयुक्त राष्ट्रसंघ महासभाको ८१औँ अधिवेशनको सामान्य बहस उद्घाटनका क्रममा मंगलबार सम्बोधन गर्दै महासचिव गुटेरेसले प्रविधिको तीव्र विकाससँगै विश्वमा शक्ति र प्रभावको स्वरूपमा पनि परिवर्तन भइरहेको उल्लेख गरे । उनका अनुसार विगतमा शक्ति मुख्यतः भूभाग, त्यसपछि उद्योग र वित्तसँग सम्बन्धित थियो भने अहिले डेटा, कम्प्युटिङ क्षमता र एल्गोरिदमको भूमिका निरन्तर बढिरहेको छ ।
एआई प्रविधिको विकास अत्यन्त तीव्र गतिमा भइरहेको उल्लेख गर्दै गुटेरेसले यसको सम्भावित प्रभावलाई पूर्ण रूपमा बुझ्न तथा भविष्यमा देखिन सक्ने चुनौतीका लागि समयमै तयारी गर्न अन्तर्राष्ट्रिय समुदायले मिलेर काम गर्नुपर्ने बताए । उनले एआईको विकास र प्रयोग पारदर्शी, जिम्मेवार र जवाफदेही ढंगले अघि बढाउनु आवश्यक रहेको उल्लेख गरे ।
महासचिव गुटेरेसले प्रविधि आफैँमा चुनौती नभएको स्पष्ट गर्दै यसको प्रयोगमा उचित निगरानी, पारदर्शिता र जवाफदेहिता सुनिश्चित गर्नुपर्ने बताए । एआई प्रणाली विकासमा संलग्न केही विज्ञहरूले समेत सम्भावित सुरक्षा जोखिमबारे चिन्ता व्यक्त गरिरहेको उल्लेख गर्दै उनले सम्बन्धित विषयमा समयमै आवश्यक सावधानी अपनाउनुपर्ने धारणा व्यक्त गरे ।
सरकारहरूको प्रमुख जिम्मेवारी आफ्ना नागरिकको सुरक्षा र हित सुनिश्चित गर्नु रहेको उल्लेख गर्दै गुटेरेसले एआई क्षेत्रमा अग्रणी क्षमता भएका देशहरूले अन्तर्राष्ट्रिय समुदायसँग जिम्मेवार र रचनात्मक रूपमा सहकार्य गर्नुपर्ने बताए । उनले संवाद, पारदर्शिता, आपसी विश्वास र सहयोगलाई थप सुदृढ बनाउने वातावरण निर्माण गर्न पनि आग्रह गरे ।
शीतयुद्धका क्रममा आणविक हतियारबाट उत्पन्न सम्भावित जोखिम व्यवस्थापनका लागि विभिन्न राष्ट्रहरूले संवाद र सहकार्यका संयन्त्र निर्माण गरेको उदाहरण प्रस्तुत गर्दै महासचिव गुटेरेसले एआईका सम्भावित जोखिमका विषयमा पनि साझा समझदारी र सहकार्य आवश्यक रहेको बताए ।
एआई प्रविधिको विकासमा अग्रणी देशहरूले उदीयमान सुरक्षा जोखिमसम्बन्धी जानकारी आदानप्रदान गर्न, परीक्षण तथा मूल्यांकनमा सहकार्य गर्न र साझा सुरक्षा मापदण्ड विकासका लागि पहल गर्नुपर्ने उनले बताए । एआईको प्रभाव विश्वव्यापी भएकाले यसको जिम्मेवार व्यवस्थापनका लागि पनि अन्तर्राष्ट्रिय समन्वय आवश्यक रहेको उनले उल्लेख गरे ।
महासचिव गुटेरेसले संयुक्त राष्ट्रसंघ सबै राष्ट्रले साझा भविष्यसँग सम्बन्धित विषयमा आफ्ना विचार प्रस्तुत गर्न सक्ने महत्वपूर्ण अन्तर्राष्ट्रिय मञ्च भएको बताए । उनका अनुसार ग्लोबल डिजिटल कम्प्याक्टमार्फत संयुक्त राष्ट्रसंघका सदस्य राष्ट्रहरूले एआई शासनका लागि पहिलोपटक विश्वव्यापी सिद्धान्तमा सहमति जनाएका छन् । त्यस्तै, एआई शासनसम्बन्धी ग्लोबल डायलगमार्फत सरकार, वैज्ञानिक, उद्योग क्षेत्र तथा नागरिक समाजबीच सहकार्यका लागि साझा मञ्च निर्माण गरिएको छ ।
संयुक्त राष्ट्रसंघले एआईसम्बन्धी स्वतन्त्र अन्तर्राष्ट्रिय वैज्ञानिक प्यानलमार्फत विश्वभरका विज्ञहरूको विशेषज्ञता एकत्रित गरी प्रमाणमा आधारित नीति निर्माणमा सहयोग पुर्याइरहेको पनि गुटेरेसले बताए ।
अब सदस्य राष्ट्रहरूले एआईको जिम्मेवार विकासका लागि आवश्यक वातावरण निर्माण गर्नुका साथै सम्भावित जोखिम सम्बोधन गर्न थप सुरक्षा उपाय अवलम्बन गर्नुपर्ने उनले बताए । साथै, विश्वसनीय र स्वतन्त्र निगरानीसहितको बहुपक्षीय एआई जोखिम व्यवस्थापनसम्बन्धी ढाँचा निर्माणका लागि आवश्यक पहल अघि बढाउन उनले अनुरोध गरे ।
महासचिव गुटेरेसले एआईको विकास र प्रयोग मानवताको हितलाई केन्द्रमा राखेर अघि बढाउनुपर्नेमा विशेष जोड दिनुभयो । बालबालिकाको सुरक्षा र हितलाई उच्च प्राथमिकता दिँदै एआई प्रणालीको जिम्मेवार प्रयोग सुनिश्चित गर्नुपर्ने तथा मानव जीवनसँग सम्बन्धित महत्वपूर्ण निर्णयहरूमा आवश्यक मानवीय निगरानी कायम राख्नुपर्ने उनले बताएका छन् ।
साथै, स्वचालित घातक हतियारबाट उत्पन्न हुन सक्ने जोखिमलाई ध्यानमा राख्दै यस विषयमा अन्तर्राष्ट्रिय समुदायले आवश्यक सावधानी, जिम्मेवारी र सहकार्यका साथ अघि बढ्नुपर्ने धारणा व्यक्त गरे ।