• Menu

जापानमा टाइफुन डुजुआनको कहर : बाढी र पहिरोबाट ५०० बढी भवन प्रभावित, २४ हजार घरपरिवार अन्धकारमा

नेपाल प्रफिट

२०८३ असोज ७, बुधबार ११:१३

जापानमा टाइफुन डुजुआनको कहर : बाढी र पहिरोबाट ५०० बढी भवन प्रभावित, २४ हजार घरपरिवार अन्धकारमा

जापानमा टाइफुन डुजुआनको कहर, ९ जनाको मृत्यु, ४ जना बेपत्ता

एजेन्सी । जापानको पूर्वी क्षेत्रमा टाइफुन डुजुआनका कारण परेको भारी वर्षापछि आएको बाढी र पहिरोमा परी कम्तीमा ९ जनाको मृत्यु भएको छ भने ४ जना अझै बेपत्ता छन् ।

सोमबार कान्तो क्षेत्रमा आएको अत्यधिक वर्षाले टोकियो आसपासका विभिन्न स्थानमा बाढी र पहिरो निम्त्याएको थियो । स्थानीय सञ्चारमाध्यमका अनुसार चिबा प्रिफेक्चरमा मात्रै ६ जनाको मृत्यु भएको पुष्टि भएको छ ।

मृतकमध्ये ५० वर्ष आसपासका एक पुरुष पहिरोबाट थुप्रिएको माटो र भग्नावशेष हटाउने क्रममा भारी मेसिन सञ्चालन गरिरहेका बेला बाँसघारीमा खसेर मृत्यु भएको बताइएको छ । त्यस्तै, डुबेको एउटा सवारीसाधनभित्र एक पुरुषको शव फेला परेको छ ।

कानागावा प्रिफेक्चरमा पनि ३ जनाको मृत्यु भएको छ । त्यहाँ ६० वर्ष आसपासकी एक महिलाको घरमा पहिरो खस्दा माटोले घर पुरिएपछि उनको मृत्यु भएको जनाइएको छ ।

बेपत्ता भएकाहरूको खोजी तथा उद्धारका लागि प्रहरी र अग्निनियन्त्रकहरूले अभियान जारी राखेका छन् । टाइफुन डुजुआन सोमबार जापानको पूर्वी प्रशान्त तटीय क्षेत्रमा पुगेपछि कान्तो क्षेत्र र इजु द्वीपसमूहमा रेकर्डस्तरको वर्षा भएको थियो ।

भारी वर्षाका कारण विभिन्न स्थानमा पहिरो खस्नुका साथै नदीहरूमा बाढी आएको थियो, जसबाट टोकियो आसपासका क्षेत्र प्रभावित भएका छन् ।

हालसम्म चिबा, कानागावा र इबाराकी प्रिफेक्चरमा ५०० भन्दा बढी भवन ध्वस्त, क्षतिग्रस्त वा बाढीबाट प्रभावित भएका छन् । साथै, बुधबार बिहान ६ बज्नुअघि प्राप्त विवरणअनुसार चिबा र कानागावा प्रिफेक्चरका २४ हजार ७०० भन्दा बढी घरपरिवार विद्युतविहीन रहेका थिए ।

सम्बन्धित समाचार