• Menu

डेनमार्कद्वारा उत्तरी सागरमा समुद्री सतहमुनि कार्बन भण्डारण सुरु, युरोपमै पहिलो पूर्ण क्षमताको परियोजना

नेपाल प्रफिट

२०८३ असोज २, शुक्रबार १७:४०

डेनमार्कद्वारा उत्तरी सागरमा समुद्री सतहमुनि कार्बन भण्डारण सुरु, युरोपमै पहिलो पूर्ण क्षमताको परियोजना

एजेन्सी । डेनमार्कले उत्तरी सागरमा समुद्री सतहमुनि कार्बनडाइअक्साइड भण्डारण गर्ने सुविधा सञ्चालनमा ल्याएको छ । ऊर्जा समूह आइएनइओएसले ‘ग्रीन्स्यान्ड’ कार्बन कब्जा तथा भण्डारण (सिसिएस) परियोजनाअन्तर्गत पुरानो तेल प्लेटफर्ममुनि कार्बनडाइअक्साइड भण्डारण सुरु भएको जनाएको छ ।

आइएनइओएसका प्रमुख कार्यकारी डेभिड बकनलले ग्रीन्स्यान्ड युरोपेली संघ (इयु) को पहिलो पूर्ण क्षमताको कार्बनडाइअक्साइड भण्डारणस्थल भएको बताए । उनका अनुसार यसले युरोपभरि यस्ता परियोजना विस्तारका लागि आधार तयार गर्नेछ ।

संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी अन्तरसरकारी प्यानल (आइपिसिसी) र अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सी (आइइए) ले सिमेन्ट र स्टिलजस्ता उद्योगबाट हुने कार्बन उत्सर्जन घटाउन सिसिएस प्रविधिलाई उपयोगी उपायका रूपमा लिँदै आएका छन् । यद्यपि, यो प्रविधि जटिल र महँगो मानिन्छ ।

डेनमार्कको पश्चिमी तटबाट करिब २०० किलोमिटर टाढा रहेको ग्रीन्स्यान्डको भण्डारणस्थल निनी वेस्टको पुरानो तेल प्लेटफर्ममुनि छ । परियोजनाको पहिलो चरणमा प्रतिवर्ष चार लाख टन कार्बनडाइअक्साइड भण्डारण गरिनेछ । आइएनइओएसले सन् २०३० सम्ममा क्षमता बढाएर वार्षिक ४० लाखदेखि ८० लाख टनसम्म पुर्‍याउने योजना बनाएको छ ।

कार्बनडाइअक्साइड मुख्यतः डेनमार्कका बायोमिथेन उत्पादन केन्द्रबाट संकलन गरी तरलीकृत अवस्थामा एस्बेर्ज बन्दरगाहबाट जहाजमार्फत भण्डारणस्थलसम्म पुर्‍याइनेछ ।

युरोपेली संघ (इयु) ले नेट-शून्य उद्योग ऐनअन्तर्गत सन् २०३० सम्ममा वार्षिक कम्तीमा पाँच करोड टन कार्बनडाइअक्साइड भण्डारण क्षमता विकास गर्ने लक्ष्य लिएको छ ।

यसअघि छिमेकी नर्वेको ‘नर्दर्न लाइट्स’ परियोजनाले सन् २०२५ अगस्टमा समुद्रको पिँधमुनि रहेको चट्टानी तहमा कार्बनडाइअक्साइड भण्डारण सुरु गरेको थियो । इक्विनोर, शेल र टोटल इनर्जीको लगानी रहेको उक्त परियोजनाले दशकको अन्त्यसम्म वार्षिक १५ लाखदेखि ५० लाख टनसम्म भण्डारण क्षमता पुर्‍याउने योजना बनाएको छ ।