• Menu

कृष्णभिरमा १८ दिनपछि सडक दुईतर्फी सञ्चालन, राजधानी आवतजावत सहज

नेपाल प्रफिट

२०८३ असोज १, बिहीबार १७:१३

कृष्णभिरमा १८ दिनपछि सडक दुईतर्फी सञ्चालन, राजधानी आवतजावत सहज

चितवन । पृथ्वी राजमार्गको कृष्णभिरमा पहिरोले १८ दिन सडक अवरुद्ध बनाएपछि राजधानी भित्रिने यातायातका साधन सहज रुपमा चल्न सकेका थिएनन् । ठूला सवारीसाधन बाटोमै रोकिएका थिए भने साना सवारीसाधन वैकल्पिक मार्ग प्रयोग गरेर काठमाडौं ओहरदोहर गर्ने गरेका थिए ।

मालवाहक ठूला सवारीसाधन राजधानी प्रवेश गर्न सकेका थिएनन् । एलपी ग्यासका बुलेट तराईका उद्योगमा बोटलिङ गरेर लैजानुपर्ने बाध्यता थियो । ठूला मालवाहक ट्रक हेटौंडातर्फबाट गुडाउन चालकलाई निकै कठिन भएको थियो । कतिपय ठूला सवारीसाधन बाटोमै रोकिएका थिए । पर्यटकीय बस चल्न सकेका थिएनन् ।

सरकारले द्रुत गतिमा गरेका कामका कारण छोटो समयमा नै कृष्णभिरको सडक बनेपछि यातायात व्यवसायी उत्साहित भएका छन् । राजधानीतर्फ जाँदै गरेका माइक्रोबसका धनी तथा चालक राजु थापा कृष्णभिरको सडक दुईतर्फी रुपमा खुलेपछि सेवा दिन सहज भएको बताउँछन् ।

उनले भने, ‘कृष्णभिरमा पहिरो गएपछि मैले दुईवटा माइक्रोबस दुईतर्फ नै राखेर यात्रुलाई सेवा दिँदैआएको थिएँ ।’ थापाले नारायणगढबाट यात्रु लिएर कृष्णभिरसम्म र भिरमा यात्रुलाई हिँडाएर पारि आफ्नै अर्को माइक्रोबसमा राखेर काठमाडौंसम्म यात्रु पुर्‍याउने कार्य गर्दैआएका थिए ।

काठमाडौंबाट नारायणगढ आइपुगेका ट्रकका चालक शिवकुमार थारुले कृष्णभिर बन्द हुँदा निकै दुःख पाएको गुनासो गरे । आफू काठमाडौं जाँदा हेटौंडा हुँदै गएको र बाटो बनेको थाहा पाएर कृष्णभिर हुँदै आज फर्किएको उनले बताए । हेटौंडातर्फबाट जाँदा साँघुरो बाटो र धेरै ठाउँमा बिग्रिएका कारण दुःख पाएको उनको भनाइ छ । थारुले भने, ‘हामीलाई पृथ्वी राजमार्ग नै सजिलो हुन्छ ।’

अर्को ट्रकका चालक खुशीयाल पठान आजै कृष्णभिर हुँदै नारायणगढ आएका छन् । भैरहवा जान आएका पठानले सडक बनेपछि सहज भएको बताए । हेटौंडा हुँदै जाँदा बाटो लामो हुने र दुःख पाइने भन्दै उनले पृथ्वी राजमार्ग हुँदै आउँदा धेरै सहज भएको बताए । सरकारले छोटो समयमा वैकल्पिक मार्ग बनाएकामा उनले धन्यवाद दिए ।

भैरहवाबाट काठमाडौं जाँदै गरेका बसका चालक आशिष क्षेत्री सडक बनेपछि आफूहरुलाई सहज भएको बताउँछन् । यसअघि काठमाडौं जाँदा हेटौंडा हुँदै गएको भन्दै उनले जामका कारण दुई दिन समय लागेको बताए । हेटौंडा हुँदै जाँदा सडक ८१ किलोमिटर लामो पर्ने क्षेत्रीको भनाइ छ ।

उनले भने, ‘सडक साँघुरो, ठाउँठाउँमा भत्किएको र लामो हुँदा दुःख पाइयो ।’ काम गरे सकिन्छ भन्ने प्रमाण कृष्णभिरले दिएको भन्दै उनले सरकारले गरेको कामको प्रशंसा गरे ।

पर्साको ठोरीबाट काठमाडौं आवतजावत गर्ने बसका चालक रुपेश परियार कृष्णभिरको पहिरोपछि आफूले बस चलाउन छाडेको बताउँछन् । वैकल्पिक बाटो जाँदा लामो र अप्ठ्यारो हुने हुँदा बस थन्क्याउनुपरेको र अब सडक बनेसँगै पृथ्वी राजमार्ग हुँदै जाने बताए । उनले भने ‘हेटौंडा हुँदै जाँदा खर्च नधान्ने भएपछि हामीले बस चलाउन बन्द गर्नुपर्ने अवस्था आयो ।’

कृष्णभिरमा सडक बनेपछि बुधबार साँझ सडकमा रोकिएका सवारीसाधन आवतजावत गराइएको थियो । चितवन तर्फबाट मात्रै एक हजार नौ सय हाराहारी रोकिएका सवारीसाधन काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक रामेश्वर पौडेलले बताए । आज बिहानदेखि सहज रुपमा सवारीसाधन कृष्णभिर हुँदै आवतजावत गरेका उनले जानकारी दिए ।

कृष्णभिरको सडक फेदमा त्रिशूली नदीले कटान गरेपछि सडक पूर्ण रुपमा भाँसिएको थियो । झण्डै एक सय मिटर सडक भाँसिएपछि नजिकैबाट भित्तो काटेर वैकल्पिक मार्ग बनाइएको हो ।

नियमित रुपमा तीव्र गतिमा काम गरिएकै कारण १८औँ दिनमा पूर्ववत् अवस्थामा आज बिहानदेखि सडक सञ्चालनमा आएको हो । यसबीचमा रोकिएका र वैकल्पिक मार्ग भएर जाँदा दुःख पाएका सवारी चालकहरुले सडक बनेसँगै खुसी व्यक्त गरेका छन् ।

सम्बन्धित समाचार