झापा । भद्रपुर भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८३/८४ को सुरुआती दुई महिना (साउन र भदौ) मा निर्धारित लक्ष्यभन्दा बढी राजस्व संकलन गरेको छ ।
कार्यालयले यस अवधिमा चार करोड ६६ लाख ४९ हजार ५४० राजस्व असुली गरेको हो । यो दुई महिनाका लागि निर्धारित कुल लक्ष्यको ११८.३४ प्रतिशत हो ।
कार्यालयका प्रमुख भन्सार अधिकृत प्रभुनारायण मेहताका अनुसार सीमा क्षेत्रमा चोरी, पैठारी नियन्त्रणमा सशस्त्र प्रहरीको सक्रियता बढेसँगै वैधानिक रुपमा भन्सार नाकाबाट हुने आयातमा वृद्धि भएकाले राजस्व असुलीमा सुधार आएको हो । विशेषगरी यस अवधिमा साडी, कुर्तासलवारलगायत कपडाको आयात बढेको उनले बताए ।
भदौमा मात्र दुई करोड १० लाख २४ हजार राजस्व संकलन गर्ने लक्ष्य राखिएकामा कार्यालयले तीन करोड १६ लाख १५ हजार ४२२ संकलन गरेको छ । यो लक्ष्यको १५०.३८ प्रतिशत हो । यसअघि साउनमा एक करोड ५० लाख ३४ हजार ११८ राजस्व संकलन भएको थियो ।
चालु आवका लागि कार्यालयले २६ करोड २८ लाख राजस्व संकलन गर्ने लक्ष्य राखेको छ । दुई महिनाको अवधिमा भएको संकलन वार्षिक लक्ष्यको १७.७५ प्रतिशत हो ।
यस अवधिमा संकलित कुल राजस्वमध्ये सबैभन्दा बढी योगदान मूल्य अभिवृद्धि कर (भ्याट) बाट दुई करोड २० लाख एक हजार १५६ रहेको छ ।
यस्तै, भन्सार महसुल (आयात) बाट एक करोड ८४ लाख १२ हजार ३२३, अन्तःशुल्कबाट ६२ लाख ७७ हजार २९६ र कृषि सुधार शुल्कबाट १३ लाख २२ हजार ३८९ संकलन भएको कार्यालयले जनाएको छ ।
गत आव २०८२/८३ मा भने कार्यालयले निर्धारित राजस्व संकलनको लक्ष्य पूरा गर्न सकेको थिएन । सो वर्ष २५ करोड तीन लाख २५ हजार राजस्व संकलन गर्ने लक्ष्य रहेकामा ७४.३४ प्रतिशत अर्थात् १८ करोड ६० लाख ९५ हजार ८४४ मात्रै संकलन भएको थियो ।