• Menu

विपद्मा स्वयंसेवक हुनु त नेपालीजस्तो, बाढीले दाइ घाइते भए पनि त्रिशूलीको तुइन तान्दै सेवामा खटिएका गणेश नेपाली

नेपाल प्रफिट

२०८३ भदौ ३१, बुधबार १२:५९

विपद्मा स्वयंसेवक हुनु त नेपालीजस्तो, बाढीले दाइ घाइते भए पनि त्रिशूलीको तुइन तान्दै सेवामा खटिएका गणेश नेपाली

काठमाडौं । विपद्मा स्वयंसेवकको सेवा कस्तो हुनुपर्दछ भन्ने अब्बल उदाहरण रसुवा मैलुङका गणेश नेपालीले प्रस्तुत गरेका छन् । यही भदौ १० गते बिहान भोटेकोशी नदीमा गएको अकल्पनीय बाढीबाट अकल्पनीय रूपमा जोगिएका नेपाली आफूलाई जोखिम मोलेर अहिले त्रिशूली नदीमाथि बनेको अस्थायी तुइनमा डोरी तान्ने काममा स्वयंसेवकका रूपमा तल्लीन छन् ।

विदुर नगरपालिका-९ स्थित सिमुटार-कोलनी जोड्ने तुइनमा उनले नेपाल रेडक्रसको स्वयंसेवक भएर बाढी प्रभावितसहित अत्यावश्यकीय सामग्रीलाई तुइनमार्फत वारिपारि गर्न सहजीकरण गरिरहेका छन् । उनले भने, ‘बाढीमा परेर घाइते हुनुभएका दाजु काठमाडौंस्थित वीर अस्पतालको ट्रममा उपचाररत हुनुहुन्छ । भेट्न जान पनि पाएको छैन । बाढी प्रभावितको पीडा देखेर मनले मानेन । यहाँ आएर तुइन जडान गर्न स्वयंसेवक भएर सुरक्षाकर्मीलाई साथ र सहयोग गरेँ । तुइन जडान भएपछि डोरी तान्ने काममा स्वयंसेवक गरिराखेको १२ दिन बितिसक्यो ।‘

बाढीले सिमुटार-कोलनी पुल क्षणभरमा बगाएपछि कोलनीवासी ठूलो समस्यामा परेका थिए । आवतजावत गर्न सम्पर्क टुटेको थियो । प्रभावितको खोज र उद्धारमा समेत जटिलता आएको थियो । सुरुआती दिनमा हेलिकप्टरमार्फत नै उद्धार गरिएको थियो । बाढीपूर्व पुलमार्फत सात-आठ मिनेटमा आवतजावत गर्न सकिने स्थान अहिले सात घण्टामा पनि पुगिँदैन ।

उनका अनुसार तुइन जडान भएपछि अहिले दैनिक पाँच सयसम्मलाई वारिपारि गराउनुपर्दछ । बाढीप्रभावितसहित अन्यलाई वारिपारि गर्न टोकन प्रणाली कार्यान्वयनमा ल्याइएको छ । बिरामी, बाढीमा आफन्त गुमाएका, अतिप्रभावित, महिला, बालबालिका तथा अत्यावश्यक सामग्री लैजान पहिलो प्राथमिता दिइएको छ । उनले भने, ‘स्वयंसेवक भएर सेवा गर्न पाउँदा म खुसी छु, बाढीको पीडा सम्झन चाहन्न ।‘

नेपाल रेडक्रस, संरक्षण विभागका प्रमुख दिव्यराज पौडेलले बाढी प्रभावित स्थानमा रेडक्रसका स्वयंसेवक अहोरात्र जुटिरहेको जानकारी दिँदै स्वयंसेवक नेपालीको सेवा उदाहरणीय रहेको बताए ।