एजेन्सी भारतको राजधानी नयाँदिल्लीमा सम्पन्न १८औँ ब्रिक्स शिखर सम्मेलनमा सहभागी विश्व नेताहरू तथा उच्चपदस्थ अधिकारीहरू स्वदेश फर्किएका छन् । सम्मेलनका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विभिन्न देशका नेताहरूसँग १५ वटा द्विपक्षीय भेटवार्ता गरेका थिए ।
प्रधानमन्त्री मोदीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिन, इरानी राष्ट्रपति मसुद पेजेस्कियान, चिनियाँ राष्ट्रपति सी जिनपिङ, इथियोपियाका प्रधानमन्त्री अबी अहमद अली, मलेसियाका प्रधानमन्त्री अनवर इब्राहिमलगायत नेताहरूसँग द्विपक्षीय छलफल गरेका थिए ।
आइतबार उनले कजाकिस्तान, फिलिपिन्स, इजिप्ट, दक्षिण अफ्रिका, बुरुन्डी, नाइजेरिया र युगान्डाका उच्चपदस्थ नेताहरूसँग पनि छुट्टाछुट्टै भेटवार्ता गरेका थिए । उनले ब्रिक्सका विभिन्न सत्रलाई सम्बोधन गर्नुका साथै ‘भारत इनोभेट्स’ प्रदर्शनीको अवलोकन र संयुक्त वृक्षारोपण कार्यक्रममा सहभागिता जनाएका थिए ।
सम्मेलनपछि बुरुन्डीका राष्ट्रपति एभारिस्ट नदाइसिमिये, नाइजेरिया र ब्राजिलका विदेशमन्त्री तथा विश्व व्यापार संगठनकी महानिर्देशक एनगोजी ओकोन्जो-इवेलालगायत उच्चपदस्थ अधिकारी सोमबार नयाँदिल्लीबाट प्रस्थान गरेका छन् । यसअघि दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसा, संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस र फिलिपिन्सका राष्ट्रपति फर्डिनान्ड आर मार्कोस जुनियरलगायत नेता स्वदेश फर्किएका थिए ।