• Menu

चीनले इरानलाई अमेरिकी सैन्य अड्डाका स्याटेलाइट तस्बिर दिएको खबरलाई ट्रम्पद्वारा अस्वीकार

नेपाल प्रफिट

२०८३ भदौ २९, सोमबार ११:४३

चीनले इरानलाई अमेरिकी सैन्य अड्डाका स्याटेलाइट तस्बिर दिएको खबरलाई ट्रम्पद्वारा अस्वीकार

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानी क्षेप्यास्त्र आक्रमणमा तीन अमेरिकी सैनिकको मृत्यु हुनुअघि र पछि जोर्डनस्थित अमेरिकी सैन्य अड्डाका स्याटेलाइट तस्बिर चिनियाँ संस्थाले इरानलाई उपलब्ध गराएको भन्ने समाचारलाई बेवास्ता गरेका छन् ।

वाल स्ट्रिट जर्नलले चिनियाँ संस्थाले तेहरानलाई उक्त सैन्य अड्डाका तस्बिर उपलब्ध गराएको समाचार सार्वजनिक गरेको भोलिपल्ट आइतबार एयर फोर्स वनमा पत्रकारहरूसँग कुरा गर्दै राष्ट्रपति ट्रम्पले अमेरिका र चीनबीच एकअर्काको गुप्तचर गतिविधि हुने बताए । ‘उनीहरूले हाम्रो जासुसी गर्छन् भने हामी पनि उनीहरूको जासुसी गर्छौं।’ उनले भने ।

जुलाई १७ मा इरानले जोर्डनस्थित मुवाफाक सल्टी एयर बेसमा क्षेप्यास्त्र आक्रमण गर्दा तीन अमेरिकी सैनिकको मृत्यु भएको थियो । जर्नलले उद्धृत गरेका नाम नखुलाइएका अमेरिकी अधिकारीहरूले स्याटेलाइट तस्बिर उपलब्ध गराउने चिनियाँ संस्थाको नाम खुलाएका छैनन् र चिनियाँ सरकार प्रत्यक्ष रूपमा संलग्न रहेको आरोपसमेत लगाएका छैनन् ।

चिनियाँ अधिकारीहरूले स्याटेलाइट तस्बिर हस्तान्तरण भएको प्रमाण मागेको तथा चिनियाँ कम्पनीहरू तेहरानलाई तस्बिर उपलब्ध गराउन संलग्न रहेको स्वीकार गर्न अस्वीकार गरेको जर्नलले जनाएको छ ।

यस घटनाले सेप्टेम्बर २४ मा चिनियाँ राष्ट्रपति सी जिनपिङको ह्वाइट हाउस भ्रमणअघि वासिङ्टन र बेइजिङबीचको तनाव बढाउन सक्ने देखिएको छ । राष्ट्रपति ट्रम्पले चीनलाई इरानलाई हतियार बिक्री नगर्न चेतावनी दिँदै आउनुभएको छ । मे महिनामा अमेरिकाले इरानको सैन्य गतिविधिमा सहयोग गरेको आरोपमा चीनमा आधारित तीन स्याटेलाइट कम्पनीमाथि प्रतिबन्ध लगाएको थियो ।

चीन इरानको प्रमुख आर्थिक साझेदार हो र उसको ठूलो परिमाणको तेल खरिद गर्नुका साथै तेहरानलाई कूटनीतिक समर्थन गर्दै आएको छ । यद्यपि, राष्ट्रपति ट्रम्पले राष्ट्रपति सीसँग सम्बन्ध उचित रहेको बताए ।