• Menu

भक्तपुर दरबार स्क्वायरस्थित केदारनाथ मन्दिर तीजको अवसरमा पहिलो पटक सर्वसाधारणका लागि खुला, साँझ महाआरती गरिँदै

नेपाल प्रफिट

२०८३ भदौ २९, सोमबार १७:१७

भक्तपुर दरबार स्क्वायरस्थित केदारनाथ मन्दिर तीजको अवसरमा पहिलो पटक सर्वसाधारणका लागि खुला, साँझ महाआरती गरिँदै

भक्तपुर । भक्तपुरको दरबार स्वायरस्थित केदारनाथ मन्दिर हरितालिका (तीज)को उपलक्ष्यमा पहिलो पटक सर्वसाधारणका लागि आज खुला गरिएको छ । तत्कालीन राजा यक्ष मल्लद्वारा स्थापित उक्त मन्दिर केदारनाथको दर्शनका लागि सोमबार खुला गरिएको संस्कृति अध्येता गणेश रञ्जितकारले बताए ।

मन्दिरका पुजारी प्रमिलराज सुवेदीले यसअघि केदारनाथको जन्मोउत्सव बुद्धजयन्ती अर्थात् वैशाख पूर्णिमा र महाशिवरात्रिको दिन वर्षमा दुईपल्ट खोलिँदै आएको थियो ।

तीजमा व्रत बसेका सर्वसाधारणलाई दर्शनका लागि सहज तुल्याउन बिहानदेखि मन्दिर खुला गरिएको हो । मन्दिर खुला भएसँगै दर्शनका लागि त्यहाँ पुग्ने महिलाको सहभागिता बाक्लो देखिएको छ । दर्शनका लागि मन्दिर दिनभर खुल्ला रहने जनाइएको छ । स्थानीय सबिना बोहजुले त्यस मन्दिर पहिलो पल्ट दर्शन गर्न पाएकामा खुसी व्यक्त गरे ।

उनले २०७२ सालको भूकम्पमा भत्किएको बेला भित्रको महादेवको मन्दिर बाहिरीबाट दर्शन गरिएको बताए । आज भित्र गएर दर्शन गर्न मौका मिलेको उनी बताउँछन् । भक्तपुर सम्पदा संरक्षण समूहका संयोजक सत्यराम सुवालले हरितालिका तीज २०८३ को अवसरमा दरबार स्क्वायरमै रहेको प्रसिद्ध चारधाम क्षेत्रमा एकैसाथ भव्य तथा दिव्य महाआरती पनि गरिने जानकारी दिए ।

उनका अनुसार तीजको दिन चारधाम क्षेत्रमा एकैपटक र एकै समयमा महाआरती सञ्चालन गरिन लागेको हो । धार्मिक तथा आध्यात्मिक महत्व बोकेको उक्त कार्यक्रममा तीजको व्रत बसेका तथा दर्शनका लागि आउने श्रद्धालु भक्तजनको सहभागिता रहने अपेक्षा गरिएको छ ।

सुवालले तीजको दिन साँझ आयोजना हुने महाआरतीमा सहभागी भई कार्यक्रमलाई सभ्य, भव्य र व्यवस्थित रूपमा सफल बनाउन सम्पूर्ण श्रद्धालु भक्तजनमा हार्दिक निमन्त्रणा गरेका छन् ।