बाँके । कर्णालीको स्याउ सस्तोमा उपलब्ध भएपछि नेपालगन्ज आसपासका क्षेत्रमा यस वर्ष तीजको कोसेलीका रुपमा घरघरमा पुगेको छ ।
नेपालगन्जस्थित धम्बोझीमा कर्णालीको स्याउ खरिद गरिरहेकी प्रकृति रानाले तीजमा खान, साथीसङ्गी तथा आफन्तकहाँ जाँदा कोशेली लैजान कर्णालीको स्याउ स्वादिलो र सजिलो भएको प्रतिक्रिया दिइन्।
‘सिजनको जुम्ली स्याउ स्वादिलो र रसिलो हुने भएकाले नेपालगन्जबाट अन्यत्र जाँदा तीजमा कोसेलीका रुपमा लैजाने सहज भएको छ,’ उनले भनिन्, ‘विदेशी स्याउको तुलनामा कर्णालीको स्याउ स्वादिष्ट र सस्तो भएकाले यो वर्ष धेरैको रोजाइमा परेको छ ।’
आयातीत भारतीय र चीनको भन्दा सस्तो, स्वादिलो र लामो समयसम्म भण्डारण गर्न सकिने भएकाले नेपालगन्जवासीको रोजाइमा कर्णालीको स्याउ परेको छ । नेपालगन्ज उपमहानगरपालिका-१९ का ध्रव थापाले यस वर्षको तीजमा कर्णालीको स्याउ कोसेलीका रुपमा १५ किलो खपत गरेको बताइन् ।
स्थानीय धम्बोझी चोकमा तीजलाई लक्षित गरेर केही दिनयता कर्णालीको स्याउ किनबेचको भीडभाड हुँदै आएको छ । उक्त चोकमा कर्णालीकै महिलाले भदौको पहिलो हप्तादेखि नै स्याउको बिक्री-वितरण गर्दै आएका छन् । जुम्लाको गुठीचौर गाउँपालिका-४ बाट ल्याइएको स्याउ बिक्री गरिरहेकी कल्पना शर्माले अरू बेलाभन्दा तीजमा स्याउको बिक्री धेरै हुने गरेको बताइन् ।
फलफूल पसलमा पुग्ने जुनसुकै उपभोक्ता पनि पछिल्लो समय कर्णालीकै स्याउ किन्ने गरेको पाइएको छ । नेपालगन्जको त्रिवेणी मोडस्थित पुरानो फलफूल पसल महाराजा फ्रुटका सञ्चालक कमल सुनारले यतिबेला कर्णालीको स्याउको माग धेरै हुने गरेको बताए । उनले आफ्नो पसलमा आउने उपभोक्ताले कर्णालीको स्याउ नै खोज्ने गरेको जानकारी दिए ।
कर्णाली प्रदेशका जिल्लामा उत्पादित स्याउ बजारमा आएपछि भारत र चीन दुवै ठाउँबाट आउने स्याउको आयात घटेको छ । खासगरी जुम्ला, कालीकोट, हुम्ला र मुगुमा उत्पादन गरिएको स्याउ ठूलो मात्रामा यहाँ भित्रिएको यहाँस्थित थोक बिक्रेता प्रेमलाल साहुले बताए ।
नेपालमा उत्पादित स्याउ अहिले प्रतिकिलो १२० देखि १५० सम्ममा पाइएकाले जो कोहीका लागि तीजको कोसेली बनिरहेको छ । नेपालजन्ज लगायत आसपासका बजारमा पछिल्लो समय जताततै कर्णालीकै स्याउ बिक्री भइरहेको साहुले बताए ।