• Menu

फिलिपिन्सको बाङ्सामोरोमा संसदीय निर्वाचनको पूर्वसन्ध्यामा गोलीकाण्ड : ३ जनाको मृत्यु, १५ घाइते

नेपाल प्रफिट

२०८३ भदौ २९, सोमबार ११:४६

फिलिपिन्सको बाङ्सामोरोमा संसदीय निर्वाचनको पूर्वसन्ध्यामा गोलीकाण्ड : ३ जनाको मृत्यु, १५ घाइते

एजेन्सी । फिलिपिन्सको दक्षिणी क्षेत्रमा रहेको बाङ्सामोरो स्वायत्त क्षेत्रको संसदीय निर्वाचनअघि भएको गोलीकाण्डमा तीन जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् ।

स्थानीय प्रहरीका अनुसार आइतबार मध्यरातअघि कोटाबाटो सहरस्थित एक मतदान केन्द्रमा घटना भएको हो । मतदानका लागि लाइनमा बस्ने विषयमा प्रतिद्वन्द्वी राजनीतिक समूहबीच विवाद भएपछि धकेलाधकेल र हात हालाहाल भएको थियो। विवाद बढ्दै जाँदा गोली चलेको प्रहरीले जनाएको छ ।

यो घटना बाङ्सामोरो स्वायत्त क्षेत्रको पहिलो निर्वाचित संसद् चयनका लागि सोमबार सुरु भएको निर्वाचनको पूर्वसन्ध्यामा भएको हो । ।

स्थानीय सञ्चारमाध्यमका अनुसार यस निर्वाचनमा २० लाखभन्दा बढी मतदाता मतदानका लागि योग्य छन् । १३ राजनीतिक दलबाट ८० संसदीय सिटका लागि उम्मेदवारहरू प्रतिस्पर्धामा छन् ।

निर्वाचनलाई लक्षित गर्दै बाङ्सामोरो क्षेत्रमा पछिल्ला दिनमा सुरक्षा व्यवस्था कडा पारिएको छ । मतदान केन्द्रहरूको सुरक्षाका लागि २० हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ भने सम्भावित हिंसात्मक घटनाको तत्काल सामना गर्न द्रुत प्रतिक्रिया टोलीसमेत परिचालन गरिएको छ ।