• Menu

‘होल्डिङ सेन्टर’मा महिला र बालबालिकाको अवस्था दयनीय, सुरक्षित र छुट्टै स्थानमा राख्न सरकारको ध्यानाकर्षण

नेपाल प्रफिट

२०८३ भदौ २६, शुक्रबार १५:०४

‘होल्डिङ सेन्टर’मा महिला र बालबालिकाको अवस्था दयनीय, सुरक्षित र छुट्टै स्थानमा राख्न सरकारको ध्यानाकर्षण

काठमाडौं । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा सांसदहरूले भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट, धादिङलगायत जिल्लाका ‘होल्डिङ सेन्टर’मा रहेका महिला तथा बालबालिकाको अवस्था दयनीय भएकाले उनीहरूको उचित व्यवस्थापन गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।

प्रतिनिधिसभाको विशेष समयमा भाग लिने सांसदहरूले बाढीप्रभावित महिला र बालबालिकालाई अन्य समूहबाट छुट्टै र सुरक्षित स्थानमा राख्न माग गरेका छन्।

सांसद अर्जुननरसिंह केसीले बाढीग्रस्त रसुवा र नुवाकोटका होल्डिङ कक्षमा राखिएका महिला र बालबालिकाको अवस्था दयनीय भएकाले पीडितहरूलाई यथाशीघ्र व्यवस्थित ढंगले ‘होल्डिङ सेन्टर’ सञ्चालनमा ल्याउन माग गरे। उनीहरूका लागि उचित खाना र सुरक्षाको प्रबन्ध मिलाउन पनि सांसद केसीले आग्रह गरे।

अनुष्का श्रेष्ठले जलवायु परिवर्तनको प्रभाव नेपालमा बारम्बार देखापरेकाले अन्तर्राष्ट्रिय मञ्चमा जोडदार रूपमा आवाज उठाउन माग गरिन्। त्यसैगरी सांसद आनन्दबहादुर चन्दले सरकारले ग्यास सिलिण्डरमा व्यवसायीलाई नभई सामान्य घरेलु उपभोक्तालाई राहत दिन माग गरे।

सांसद अफ्साना बानुले विपक्षी राजनीतिक दलका सांसदहरूले राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदलाई अपशब्द बोल्ने गरेको भन्दै सो विषयमा सरकारको ध्यानाकर्षण गराइन् । सांसद अभिषेकप्रताप शाहले तराई/मधेसका जिल्लाका विद्यालयमा दरबन्दीअनुसार शिक्षक नहुँदा पठनपाठनमा समस्या भएको बताए ।

सांसद विकले कुनै पनि विपद्को घटना बाजा बजाएर नआउने भएकाले विपद्का बेला आधारभूत रूपमा ज्यान जोगाउने विषयलाई विद्यालयको पाठ्यक्रममा समेट्नुपर्ने बताए ।

सांसद अम्बिकादेवी संग्रौलाले मुलुक विपद्सँग जुधिरहेको बेला ग्यासको सङ्कटका कारण सर्वसाधारणले सास्ती भोग्नुपरेको बताइन् । सांसद आशिका तामाङले पसलमा ग्यासको सिलिण्डर हुने तर जनताले ग्यास नपाउने समस्याको अन्त्य गर्न सरकारसँग माग गरिन् ।

सांसद एलिजा गुरुङले हिमताल फुट्ने जोखिम उच्च भएकाले त्यसको अध्ययन गरी आवश्यक सतर्कता र सावधानी अपनाउन माग गरिन् ।

सांसद यशोदा बरालले महिला र बालबालिकामाथि पछिल्लो समय साइबरबुलिङ भइरहेको भन्दै त्यस्ता कार्य रोक्न सरकारसँग माग गरिन् । सांसद ओजश्वी शेरचनले बाढीप्रभावित क्षेत्रमा रहेका अस्पतालमा शल्यक्रिया गर्ने बेला जेनेरेटरका लागि इन्धनसमेत अभाव रहेको बताइन् ।

सांसद अङ्किता ठाकुरले चाडपर्व नजिकिँदै गइरहेको बेला ग्यास र खाद्यान्न अभावलाई तत्काल सम्बोधन गर्न माग गरिन् । सांसद कमल सुवेदीले सरकारी तथ्यांकले ग्यासको आपूर्ति बढेको देखाए पनि जनताले ग्यास नपाएको विषयमा सरकारको ध्यानाकर्षण गराए ।

सांसद करिश्मा कठरियाले ग्रामीण महिलाका समस्यालाई नजरअन्दाज गर्ने परिपाटीको अन्त्य हुनुपर्ने बताइन् । सांसद कविन्द्र बुर्लाकोटीले देशभर सडक खनिए पनि सडकको मालपोत कर जनताले तिर्दै आएको विषयमा सरकारको ध्यानाकर्षण गराए ।

सांसद कामिनी कुमारीले क्यान्सर रोगको उपचार निःशुल्क हुनुपर्नेमा जोड दिइन् । सांसद कुलभक्त शाक्यले भोटेकोशी ग्यास वितरण प्रणालीमा कमीकमजोरी देखिएकाले वैकल्पिक व्यवस्थापन गर्न माग गरे ।

सांसद कालीबहादुर सहकारीले भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावितका लागि उद्धार र राहतसँगै मनोपरामर्शको आवश्यकता रहेको बताए। सांसद कृपा महर्जनले विद्युतको नियमित आपूर्ति नहुँदा बाढीप्रभावित क्षेत्रमा समस्या भोग्नुपरेको बताइन् ।

सांसद कृष्णहरि बुढाथोकीले भोटेकोशी बाढीमा रामेछापका ४४ जना सम्पर्कविहीन भएकाले खोजी कार्यमा सक्रियता देखाउन सरकारसँग माग गरे। सांसद कोमल ज्ञवालीले कैलाली र कञ्चनपुरका १६५ जनाभन्दा धेरै नागरिक भोटेकोशी बाढीमा सम्पर्कविहीन भएकाले खोजी कार्यमा सक्रियता देखाउन माग गरिन्।

सांसद क्रान्तिशिखा धितालले आत्महत्या र आत्मदाह गर्ने प्रवृत्ति बढेकाले त्यसको रोकथाम र नियन्त्रणका लागि मानसिक स्वास्थ्यका विषयमा प्रभावकारी ढंगले काम गर्नुपर्ने बताइन्। सांसद खगेन्द्र सुनारले सामान्य आरोपका भरमा तीन जना मन्त्री बर्खास्तमा परेको बताउँदै नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीमाथि पनि भ्रष्टाचारको आरोप लागेकाले आवश्यक अनुसन्धान गर्नुपर्ने बताए।

सांसद खडकबहादुर बुढाले यस वर्ष मात्रै विपद्का कारण जाजरकोटका आठ जना नागरिकको मृत्यु भएकाले नागरिकको जीउधनको रक्षाका लागि सरकार सक्रिय भएर लाग्नुपर्ने बताए। सांसद खड्ग शाहीले मुगु जिल्लाका धेरै बस्ती जोखिममा रहेकाले तत्काल आवश्यक सुरक्षा अपनाउन अनुरोध गरे।

सांसद खिमा विकले देवीघाटमा पुल निर्माणमा सरकारले प्रभावकारी ढंगले काम गर्दै आइरहेको बताइन् । सांसद खुश्बु ओलीले प्रधानमन्त्री आफैँले गोजीमा पैसा नहुनेले उपचार पाउनुपर्छ भन्ने एजेन्डा किन कार्यान्वयन नभएको भन्दै प्रश्न गरिन्।

सांसद खेमराज कोइरालाले वैदेशिक रोजगारको प्रलोभनमा पारेर नागरिकलाई ढाँटेर दुःख दिने गरेको विषयमा सरकारको ध्यानाकर्षण गराए। सांसद गजला शमीम मिकरानीले जलवायु परिवर्तनका कारण नेपालका हिमशृङ्खला पग्लेर विभिन्नखालका विपद् आएकाले सर्वसाधारणको अवस्था दयनीय भएको भन्दै जलवायु न्याय पाउनुपर्ने माग गरिन्।

सांसद गणेश कार्कीले जलवायु विपद् भयानक भएकाले विपद् व्यवस्थापनमा धेरै गाह्रो भइरहेको बताए। सांसद गणेशबहादुर विश्वकर्माले गजेन्द्रनारायण अस्पतालमा पटकपटक हेलचेक्य्राइँ भइरहेकाले दोषीमाथि कारबाही गर्न माग गरे।

सांसद गणेशसिंह ठगुन्नाले दार्चुलामा जिल्ला न्यायाधीश नपठाउँदा जिल्लाका नागरिकले न्याय प्राप्त गर्न नसकेको विषयमा सरकारको ध्यानाकर्षण गराए। सांसद गीताकुमारी सेन्दाङले ताप्लेजुङमा विभिन्न खेलकुद प्रतियोगिता भए पनि उचित प्यारापिटसहितको फुटबल खेलमैदान बनाउन सरकारको ध्यानाकर्षण गराइन्।

सांसद गुरूप्रसाद बरालले एलपी ग्यास प्रयोगकर्तालाई विद्युतीय चुल्हो प्रयोग गर्ने वातावरण बनाउनुपर्ने बताए। सांसद गोविन्द पन्थीले सरकारले सुशासन ल्याउन प्रतिबद्ध भए पनि शासनशैली र जीवनशैली परिवर्तन नभएको विषयमा ध्यानाकर्षण गराए। सांसद गङ्गादेवी श्रेष्ठले धादिङको फुर्केखोलामा तत्कालै पुल निर्माण गर्न सरकारसँग जोडदार माग गरिन् ।

सांसद गङ्गालक्ष्मीले भोटेकोशी बाढीका कारण रोजगारी गुमाएका व्यक्तिका लागि समग्र राहत र पुनःजीवनमा फर्किने वातावरण बनाउन माग गरिन्। सांसद इन्दिरा रानामगरले सहरमा बस्नेसमेत ग्यासको अभावबाट प्रभावित भइरहेका बेला ग्रामीण क्षेत्रमा बस्ने नागरिकको समस्यामा पनि सरकारले ध्यान दिनुपर्ने बताइन्।

सांसद अचुतम लामिछानेले बाढीप्रभावित क्षेत्रमा सडक लगायतका संरचनामा क्षति भएकाले तत्काल पुल र अन्य पूर्वाधार निर्माण गर्ने नीति अघि सार्नुपर्ने बताए।