काठमाडौं । रसुवा-भोटेकोशी क्षेत्रमा २०८३ भदौ १० गते आएको विनाशकारी बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्राप्त सहयोग, वैदेशिक सहयोग, उद्धार तथा राहतसम्बन्धी आधिकारिक विवरण र नेपाल सरकारका निर्णयहरू एकै ठाउँमा सार्वजनिक गर्न अर्थ मन्त्रालयले ‘रसुवा-भोटेकोशी बाढी अद्यावधिक’ पोर्टल सञ्चालनमा ल्याएको छ ।
बाढीपछिको सहयोग तथा राहतसम्बन्धी विवरण पारदर्शी रूपमा सार्वजनिक गर्ने उद्देश्यले सञ्चालनमा ल्याइएको उक्त पोर्टलमा नेपाली र अङ्ग्रेजी दुवै भाषामा विवरण राखिएको छ ।
अर्थ मन्त्रालयका अनुसार २०८३ भदौ २४ गतेसम्म अर्थमन्त्रीलाई चेक तथा बैंकमार्फत हस्तान्तरण गरिएको ३८९ वटा सहयोगबाट २ अर्ब १५ करोड २५ लाख ४२ हजार ३०९ प्राप्त भएको छ। यसमा राष्ट्रिय भुक्तानी प्रणाली तथा अन्य विद्युतीय माध्यमबाट प्राप्त रकम र कोषको अमेरिकी डलर खातामा प्राप्त वैदेशिक सहयोगसमेत जोड्दा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हालसम्म १२ अर्ब ३१ करोड ५९ लाख ४२ हजार ३५ सहयोग प्राप्त भएको छ।
कोषमा प्राप्त सहयोगको स्रोतगत विवरणसमेत पोर्टलमा सार्वजनिक गरिएको छ । २०८३ भदौ २४ गते बिहान ९ बजेसम्मको कोषको अवस्थाअनुसार कुल ११ अर्ब ९८ करोड ९७ लाख ९६ हजार ८४ मौज्दात रहेको अर्थ मन्त्रालयले जनाएको छ ।
विभिन्न स्रोतबाट प्राप्त तथ्यांक फरक-फरक मिति तथा समयसम्मका भएकाले एकीकृत रकमको हिसाब मिलान भने अर्थ मन्त्रालयको कोष शाखाबाट हुन बाँकी रहेको मन्त्रालयले जनाएको छ ।
पोर्टलमा अर्थमन्त्रीलाई चेक तथा बैंकमार्फत हस्तान्तरण गरिएको सहयोगको नामसहितको विवरण, विद्युतीय माध्यमबाट प्राप्त सहयोग रकम, प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका बैंकगत खाताको अवस्था र अमेरिकी डलर खातामा प्राप्त वैदेशिक सहयोगको विवरण राखिएको छ ।
त्यसैगरी, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र नेपाल प्रहरीले सार्वजनिक गरेका उद्धार तथा राहतसम्बन्धी विवरण, मन्त्रिपरिषद्का निर्णय, राहत व्यवस्थासम्बन्धी जानकारी तथा राहत संकलनका लागि एकद्वार प्रणालीअन्तर्गतका सम्पर्क व्यक्तिहरूको विवरण पनि पोर्टलमा उपलब्ध गराइएको छ ।
मन्त्रालयले पोर्टलमा सार्वजनिक गरिने प्रत्येक तथ्यांक सम्बन्धित निकायका आधिकारिक कागजातसँग रुजु गरेपछि मात्र सार्वजनिक गरिने जनाएको छ। नयाँ आधिकारिक विवरण प्राप्त हुनासाथ पोर्टल अद्यावधिक गरिने मन्त्रालयको भनाइ छ ।
सहयोग गर्न इच्छुक व्यक्ति तथा संस्थाहरूलाई सहयोग रकम आधिकारिक भुक्तानी पोर्टल donate.gov.np मार्फत मात्र पठाउन मन्त्रालयले अनुरोध गरेको छ । नगद वा जिन्सी सहयोग गर्न चाहनेलाई अर्थ मन्त्रालयको राहत संकलन एकद्वार प्रणालीअन्तर्गतका सम्पर्क व्यक्तिसँग समन्वय गर्न आग्रह गरिएको छ ।
राहत संकलनसम्बन्धी सम्पर्क व्यक्तिको विवरण पोर्टलको ‘सम्पर्क’ खण्डमा उपलब्ध रहेको छ । उद्धारसम्बन्धी अनुरोध भने प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको उद्धारसम्बन्धी प्रणालीमार्फत गर्न सकिने मन्त्रालयले जनाएको छ ।