एजेन्सी । इरानले हर्मुज जलघाँटी हुँदै आवतजावत गर्ने जहाजमाथि आक्रमण गर्दै ओमानको खाडी र अरब सागरका केही भागलाई समेत प्रतिबन्धित क्षेत्रमा समेटेपछि अमेरिका-इरान तनाव थप चर्किएको छ । इरानी रिभोलुसनरी गार्ड्सले बुधबार दुई अमेरिकी जहाज, आठ तेल ट्यांकर र १० वटा निर्देशन पालना नगरेका जहाजमाथि कारबाही गरेको जनाएको छ ।
गार्ड्सका प्रवक्ता हुसेन मोहेबीले प्रतिबन्धित क्षेत्रमा समन्वय नगरी प्रवेश गर्ने जहाज कारबाहीको दायरामा पर्ने बताए । इरानले हर्मुज जलघाँटी प्रयोग गर्ने जहाजले अनुमति लिन र पारवहन शुल्क तिर्नुपर्ने व्यवस्था गरेको छ ।
यसबीच, तेलको मूल्य प्रतिब्यारेल १०० डलरभन्दा माथि पुगेको छ । ब्रेन्ट कच्चा तेलको मूल्य बुधबार १०१.२१ डलरमा बन्द भएको थियो । हर्मुज जलघाँटीबाट सामान्यतया विश्वको तेल तथा तरलीकृत प्राकृतिक ग्यासको करिब पाँचौँ भाग ओसारपसार हुने गर्छ ।
इरानले अमेरिकी सेनाले पाँच इरानी तेल ट्यांकर नष्ट गरेको जवाफमा जोर्डनस्थित अमेरिकी सैन्य अड्डामाथि आक्रमण गरेको पनि जनाएको छ । जोर्डनले आफ्नो क्षेत्रमा प्रहार गरिएका १८ क्षेप्यास्त्र खसालेको बताएको छ । इरानले अमेरिकी कारबाहीलाई क्षेत्रीय तथा अन्तर्राष्ट्रिय शान्तिका लागि खतरा भन्दै सैन्य संरचनामाथिको आक्रमणलाई आत्मरक्षा भनेको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नोभेम्बरको मध्यावधि निर्वाचनपछि युद्ध अन्त्य हुने विश्वास व्यक्त गरेका छन् । तर ‘वाल स्ट्रिट जर्नल’ ले अमेरिकी अधिकारीलाई उद्धृत गर्दै युद्ध ट्रम्पको कार्यकालको बाँकी दुई वर्षसम्म पनि जारी रहन सक्ने चेतावनी उनका वरिष्ठ सल्लाहकारहरूले दिएको जनाएको छ ।
यसैबीच, अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सीको बोर्ड अफ गभर्नर्सले इरानको आणविक विषय संयुक्त राष्ट्र सुरक्षा परिषद्मा पठाउने पक्षमा २३-३ मतले मतदान गरेको छ । रुस, चीन र नाइजरले विपक्षमा मतदान गरेका थिए । इरानले अमेरिकी दबाबमा प्रस्ताव पारित गरिएको भन्दै त्यसको कुनै आधार नभएको जनाएको छ ।
फेब्रुअरीमा अमेरिका-इजरायलले इरानमाथि आक्रमण सुरु गरेयता हर्मुज जलघाँटीबाट हुने अन्तर्राष्ट्रिय आवतजावत लगभग ठप्प छ । जलघाँटी बन्द हुँदा विश्वव्यापी ऊर्जा आपूर्तिमा गम्भीर असर पर्न सक्ने चिन्ता बढेको छ ।