एजेन्सी । युरोपेली संघ (इयु) को जलवायु अनुगमन सेवा कोपर्निकसका अनुसार गत अगस्ट विश्वभर रेकर्ड गरिएको सबैभन्दा तातो महिनामध्ये एक बनेको छ। सो महिनामा विश्वको औसत हावाको तापक्रमसँगै समुद्री सतहको तापक्रमसमेत अभूतपूर्व स्तरमा पुगेको थियो।
कोपर्निकसका अनुसार अगस्टमा विश्वको औसत हावाको तापक्रम १६.९६ डिग्री सेल्सियस पुगेको थियो। यो सन् २०२३ को जुलाईमा कायम भएको अघिल्लो मासिक कीर्तिमानभन्दा ०.०१ डिग्री सेल्सियस बढी हो। तापक्रमको अन्तर अत्यन्तै न्यून रहेकाले दुवै महिनालाई संयुक्त रूपमा सबैभन्दा तातो महिना मानिएको कोपर्निकसले जनाएको छ।
कोपर्निकसकी सामन्था बर्गेसले कम्तीमा पछिल्लो एक लाख वर्षको अवधिमा मानिसले अहिले देखिएको जस्तो उच्च तापक्रमको अनुभव नगरेको बताएका छन् । वैज्ञानिकहरूका अनुसार कोइला, तेल र ग्यासजस्ता जीवाश्म इन्धनको निरन्तर प्रयोगका कारण औद्योगिक युगअघिको तुलनामा पृथ्वीको औसत तापक्रम करिब १.४ डिग्री सेल्सियस बढिसकेको छ।
संयुक्त राष्ट्रसंघले जीवाश्म इन्धनको प्रयोगमा उल्लेख्य कमी नल्याए विश्व अझ गम्भीर जलवायु संकटतर्फ जाने चेतावनी दिएको छ। संयुक्त राष्ट्रसंघ का जलवायु प्रमुख साइमन स्टिलले जीवाश्म इन्धनप्रतिको मानव निर्भरताले विश्वव्यापी जलवायु संकटलाई थप गम्भीर बनाइरहेको बताएका छन् ।
यसैबीच, अगस्टमा समुद्री सतहको तापक्रम पनि रेकर्डस्तरमा पुगेको कोपर्निकसले जनाएको छ। महासागरमा लगातार तीन महिनासम्म तापक्रमका नयाँ कीर्तिमान कायम भएको जनाइएको छ । हरितगृह ग्यासबाट उत्पन्न अतिरिक्त तापको ९० प्रतिशतभन्दा बढी समुद्रले सोस्दै आएको भए पनि बढ्दो तापक्रमले समुद्री जीव, प्रवाल संरचना र तटीय समुदायमा गम्भीर असर पारिरहेको वैज्ञानिकहरूले बताएका छन्।
पश्चिमी युरोपमा पनि असाधारण गर्मी
कोपर्निकसका अनुसार जुनदेखि अगस्टसम्मको अवधिमा पश्चिमी युरोपले सन् २००३ मा कायम भएको सबैभन्दा तातो गर्मीको कीर्तिमानसमेत पार गरेको थियो। लामो समयसम्म चलेको तातो लहरका कारण कतिपय क्षेत्रमा विद्यालय बन्द गर्नुपरेको, नदीहरू सुक्ने अवस्था आएको तथा वन डढेलोको जोखिम बढेको थियो।
युरोपमा अतिरिक्त मृत्युको निगरानी गर्ने तथ्यांक अनुसार जुलाईको मध्यदेखि अगस्टको मध्यसम्म अत्यधिक गर्मीका कारण ३२ हजारभन्दा बढी अतिरिक्त मृत्यु भएको अनुमान गरिएको छ।
असाधारण गर्मीको प्रभाव युरोपमा मात्र सीमित थिएन। अमेरिकी राष्ट्रिय महासागरीय तथा वायुमण्डलीय प्रशासन (एनओएए) का अनुसार अमेरिकाले पनि अभिलेखमै सबैभन्दा तातो गर्मीमध्ये एक सामना गरेको थियो। कोपर्निकसको तथ्याङ्कअनुसार करिब ९० करोड मानिस बसोबास गर्ने क्षेत्रमा अहिलेसम्मकै सबैभन्दा तातो जुलाई रेकर्ड भएको थियो।
जलवायु वैज्ञानिक फ्रेडेरिक ओटोले जीवाश्म इन्धनको प्रयोग नरोकिएसम्म यस्ता कीर्तिमानी तातो महिना दोहोरिइरहने चेतावनी दिएका छन् । बर्गेसले पनि विश्वव्यापी हरितगृह ग्यास उत्सर्जन नियन्त्रण गर्न नसके जलवायु अवस्था अझ चरम बन्दै जाने बताएका छन् ।