काठमाडौं । बुधबार सेयर बजारका अधिकांश सूचक घटेका छन् । बजार परिसूचक नेप्से १५.४३ अंकले घटेर २ हजार ५४५ अंकमा कायम भएको छ। अघिल्ला लगातार चार कारोबार दिन बढेको बजारमा आज करेक्सन आएको हो ।
कारोबार रकम भने सामान्य बढेको छ। मंगलबार ३ अर्ब ८३ करोड रुपैयाँ बराबरको कारोबार भएकोमा बुधबार ४ अर्ब १९ करोड रुपैयाँको कारोबार भएको छ ।
आज कुल २७७ कम्पनीमध्ये ७४ कम्पनीको सेयर मूल्य बढेको छ भने १९२ कम्पनीको मूल्य घटेको छ। ११ कम्पनीको मूल्य भने स्थिर रह्यो ।
सबै समूहका सूचक घटेका छन्। विकास बैंक समूह सबैभन्दा धेरै २.३७ प्रतिशतले घटेको छ। बैंकिङ समूह ०.१६, वित्त १.०८, होटल तथा पर्यटन १.३८, जलविद्युत ०.४९, लगानी ०.८२, जीवन बिमा ०.२०, उत्पादन तथा प्रशोधन ०.२८, लघुवित्त ०.२५, निर्जीवन बिमा १.५७, अन्य ०.५२ र व्यापार समूह १.५६ प्रतिशतले घटेका छन् ।
आज अपर लोहोरे खोला हाइड्रोपावरको सेयर मूल्य सबैभन्दा धेरै १५ प्रतिशतले बढेको छ। त्यस्तै शुभम् पावर ६.४०, बाराही हाइड्रोपावर ५.७९ र इङ्वा हाइड्रोपावरको सेयर मूल्य ३.६६ प्रतिशतले बढेको छ ।
यता इमर्जिङ नेपाल, सिन्धु विकास बैंक र जानकी फाइनान्सको सेयर मूल्य १५ प्रतिशतले घटेको छ । सिन्धु विकास बैंक र जानकी फाइनान्सलाई मुक्तिनाथ विकास बैंकले प्राप्ति गर्ने समझदारी भएयता दुवै कम्पनीको सेयर मूल्य निरन्तर दबाबमा देखिएको छ ।
त्यस्तै कालिञ्चोक दर्शनको १४.२८, उपकार लघुवित्तको १२.०४, मुक्तिनाथ विकास बैंकको ७.९८, त्रिशूली जलविद्युतको ७.६०, सप्तकोशी विकास बैंकको ७.३३, नेपाल फाइनान्सको ६.४४ र मैलुङखोला जलविद्युत्को सेयर मूल्य ६.३२ प्रतिशतले घटेको छ ।
आज कारोबार रकमका आधारमा रिलायन्स स्पिनिङ मिल्स, सेन्ट्रल फाइनान्स, एनआरएन इन्फ्रास्ट्रक्चर, सोलु हाइड्रोपावर, शिवम् सिमेन्ट, सानिमा मिडिल तमोर र इमर्जिङ नेपाल अगाडि रहे ।