• Menu

भोटेकोशी बाढी : रोजगारीका लागि रसुवा पुगेका कैलालीका ४० जना सम्पर्कविहीन

नेपाल प्रफिट

२०८३ भदौ ११, बिहीबार १६:०६

भोटेकोशी बाढी : रोजगारीका लागि रसुवा पुगेका कैलालीका ४० जना सम्पर्कविहीन

कैलाली । रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि कैलालीका ४० जना नागरिक सम्पर्कविहीन भएका छन् ।

जिल्ला प्रहरी कार्यालय कैलालीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक योगेन्द्र तिमिल्सेनाका अनुसार बाढी प्रभावित क्षेत्रमा काम, व्यवसाय तथा अन्य सिलसिलामा पुगेका जिल्लाका ४० जना नागरिक हालसम्म परिवार तथा आफन्तको सम्पर्कमा आएका छैनन् ।

सम्पर्कविहीन व्यक्तिबारे थप विवरण संकलन तथा खोजीका लागि सम्बन्धित निकायसँग समन्वय भइरहेको प्रहरी नायब उपरीक्षक तिमिल्सेनाले जानकारी दिए । रसुवामा बाढी आएपछि विभिन्न कामका लागि त्यहाँ पुगेका कैलालीवासीको अवस्थाबारे प्रहरीले खोजी तथा विवरण अद्यावधिक गरिरहेको उनले बताए ।

सम्पर्कविहीन व्यक्तिका परिवार तथा आफन्तबाट प्राप्त सूचनालाई समेत आधार बनाएर प्रहरीले विवरण संकलन गरिरहेको छ । खोज तथा उद्धार कार्य जारी रहेकाले सम्पर्कविहीन व्यक्तिको संख्या र अवस्थाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

रसुवाको भोटेकोशी नदीमा बुधबार बिहान अचानक आएको बाढीले ठूलो जनधनको क्षति पुर्‍याएको छ । बाढीका कारण रसुवा, नुवाकोट, धादिङलगायत जिल्लामा मानवीय तथा भौतिक क्षति भएको छ ।

बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्य जारी रहेकाले सम्पर्कविहीन व्यक्तिको अवस्था पत्ता लगाउन सम्बन्धित निकायले समन्वय गरिरहेका छन् ।