काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बाढीप्रभावित क्षेत्रमा उद्धार तथा राहतका लागि तत्काल आवश्यक पर्ने स्रोत, साधन र बजेटको कमी हुन नदिने बताएका छन् ।
भोटेकोशी बाढीबाट भएको क्षति, खोजी तथा उद्धार, राहत र पुनर्स्थापनाका विषयमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले बोलाएको सर्वदलीय बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै अर्थमन्त्री वाग्लेले प्रभावितको उद्धार तथा राहतमा कुनै कमी हुन नदिने बताएका हुन् ।
उनले अहिले सरकारको मुख्य प्राथमिकता उद्धार र राहत रहेको बताए । मौसमले साथ दिएसम्म अलपत्र परेका नेपाली नागरिक तथा विदेशी पर्यटकको उद्धारलाई निरन्तरता दिइने उनको भनाइ छ ।
अर्थमन्त्री वाग्लेका अनुसार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हाल दुई अर्ब ३४ करोड रहेको छ । अर्थ मन्त्रालयले गृह मन्त्रालयका लागि एक अर्ब १७ करोड विनियोजन गरिसकेको जानकारी दिँदै उनले तत्कालका लागि स्रोत र आर्थिक आवश्यकतामा कमी नहुने गरी काम अघि बढाउने जिम्मेवारी मन्त्रिपरिषद्ले आफूलाई दिएको बताए ।
उनले उद्धार तथा राहतको काम सम्पन्न भएपछि मात्रै मध्यकालीन र दीर्घकालीन पुनर्निर्माणका कार्यक्रम अघि बढाइने बताए । बाढीबाट प्रभावित क्षेत्रमा पुनर्निर्माणको अवस्था चुनौतीपूर्ण रहेको उल्लेख गर्दै उनले क्षतिको यकिन तथ्यांक प्राप्त भएपछि २०७२ सालको भूकम्पपछिको जस्तै पुनर्निर्माणको महाअभियान सञ्चालन गर्ने प्रतिबद्धता जनाए ।
पुनर्निर्माणका लागि आवश्यक स्रोतसाधन जुटाउनुका साथै अन्तर्राष्ट्रिय सहयोग प्राप्त गर्ने प्रयाससमेत सुरु भइसकेको उनले बताए । विश्व बैंकसँगको समन्वयमा करिब २५ अर्ब बराबरको आर्थिक सहायता जुटाइएको र चीन, भारत तथा जापान सरकार, एसियाली विकास बैंक र जेनेभास्थित अन्तर्राष्ट्रिय रेडक्रस महासंघबाट समेत सहयोगको प्रतिबद्धता प्राप्त भएको उनले जानकारी दिए ।
बाढीका कारण करिब २५ वटा पक्की पुल तथा ७०० मेगावाट क्षमताका जलविद्युत् आयोजनामा क्षति पुगेको अर्थमन्त्री वाग्लेले बताए । पुनर्निर्माण सरकारको मात्रै जिम्मेवारी नभएको भन्दै उनले सबै राजनीतिक दल, सरकारी तथा गैरसरकारी निकाय र समाजका विभिन्न पक्षसँग समन्वय गरेर अघि बढ्नुपर्नेमा जोड दिए ।
उनले प्रभावित क्षेत्रको पुनर्निर्माणलाई साझा अभियानका रूपमा अघि बढाउन सबै पक्षलाई सहभागी हुन आह्वान गरे ।