
दमास्कस । सिरियाको अदालतले पूर्वराष्ट्रपति बशर असदको शासनकालका पूर्व ग्रान्ड मुफ्ती अहमद बद्रेद्दिन हसनलाई हिंसा भड्काएको र हत्यालाई उचित ठहर गरेको अभियोगमा आजीवन कारावासको सजाय सुनाएको छ।
दमास्कसस्थित चौथो फौजदारी अदालतका प्रमुख न्यायाधीश फखरेद्दिन अल-आर्यनले हसन नेतृत्वको तत्कालीन धार्मिक प्रतिष्ठानले नागरिक क्षेत्रमा ब्यारेल बम प्रयोग तथा व्यापक विनाशलाई न्यायोचित ठहर गरेको बताएका छन्। अदालतले त्यस्ता गतिविधि अन्तर्राष्ट्रिय मानवीय कानुनविपरीत भएको ठहर गरेको छ।
सन् २००५ देखि २०२१ सम्म ग्रान्ड मुफ्ती रहेका हसन पूर्वराष्ट्रपति असदका निकट समर्थक मानिन्थे। उनले असद सरकारका नीतिको सार्वजनिक रूपमा समर्थन गर्दै आएका थिए। अदालतले फैसला सुनाउँदा हसन हिरासतमा रहेका थिए र उनी सुनुवाइमा उपस्थित भएका थिए।
असद शासनका उच्च अधिकारीमाथि नयाँ सरकारले अघि बढाएको कानुनी कारबाहीअन्तर्गत हसनमाथिको फैसला पछिल्लो महत्वपूर्ण निर्णय हो। पूर्वराष्ट्रपति असद र उनका भाइ माहेर असदसहित शासनकालका अन्य वरिष्ठ अधिकारीमाथि पनि पछिल्ला सातामा कडा सजाय सुनाइएको छ। तीमध्ये केहीलाई अनुपस्थितिमै मृत्युदण्डको फैसला सुनाइएको छ।
हसनविरुद्धको मुद्दा हतारमा अघि बढाइएको र निष्पक्ष सुनुवाइको पर्याप्त सुनिश्चितता नभएको भन्दै केही मानव अधिकार संस्थाले भने चिन्ता व्यक्त गरेका छन्। यद्यपि, असद शासनको दमनबाट पीडित धेरै सिरियालीले अदालतको फैसलाको स्वागत गरेका छन्।
सन् २०११ मा सिरियामा सुरु भएको सरकारविरोधी प्रदर्शनमाथि तत्कालीन सरकारले गरेको कठोर दमनपछि द्वन्द्व गृहयुद्धमा परिणत भएको थियो। करिब १४ वर्ष चलेको युद्धमा पाँच लाख मानिसको मृत्यु भएको अनुमान छ। युद्धका कारण युद्धपूर्व करिब दुई करोड ३० लाख रहेको सिरियाको जनसङ्ख्याको आधाभन्दा बढी विस्थापित भएको बताइन्छ।
डिसेम्बर २०२४ मा इस्लामवादी नेतृत्वको विद्रोही समूहको आक्रमणपछि असद सत्ताच्युत भएका थिए। त्यसयता नयाँ सरकारले असद शासनसँग सम्बन्धित उच्च अधिकारी तथा अन्य व्यक्तिमाथि कानुनी कारबाही अघि बढाउँदै आएको छ।
पूर्वशासनका अधिकारीमाथि जारी कारबाहीलाई नयाँ सरकारले न्यायिक जवाफदेहिता कायम गर्ने प्रयासका रूपमा अघि बढाएको छ भने मानव अधिकार संस्थाहरूले भने यस्ता मुद्दामा निष्पक्ष सुनुवाइ र कानुनी प्रक्रियाको सुनिश्चिततामा जोड दिँदै आएका छन्।
Copyright © Nepal Profit - 2026 / Developed By Webtech Nepal