काठमाडौं । नेपाल राष्ट्र बैंकले हायर पर्चेज कम्पनीका लागि नयाँ व्यवस्था लागू गरेसँगै बैंक तथा वित्तीय संस्थाको पहुँचबाहिर रहेका उपभोक्ता तथा व्यवसायीलाई वित्तीय सेवामा जोड्न थप सहज हुने एसोसिएसन अफ हायर पर्चेज कम्पनीज अफ नेपालले जनाएको छ।
नेपाल राष्ट्र बैंकले साउन २६ गते जारी गरेको ‘हायर पर्चेज कर्जा दिने कम्पनीलाई स्वीकृति दिने नीतिगत एवम् प्रक्रियागत व्यवस्था-२०८३’ ले हायर पर्चेज कम्पनीको भूमिकालाई थप व्यवस्थित बनाउनुका साथै वित्तीय पहुँच विस्तारमा सहयोग पुग्ने एसोसिएशनको विश्वास छ।
नयाँ व्यवस्थाले हायर पर्चेज कम्पनीलाई ग्राहकबाट एक प्रतिशतसम्म सेवा शुल्क लिन पाउने व्यवस्था गरेको छ। यसले कम्पनीको वित्तीय स्थायित्वमा सहयोग पुग्ने तथा कर्जाको ब्याजदर निर्धारणमा देखिएको अन्तरसम्बन्धी समस्यालाई समेत सम्बोधन गर्ने एसोसिएशनको भनाइ छ।
हायर पर्चेज कम्पनीको दीर्घकालीन नवीकरण अवधि १० वर्ष कायम गर्ने व्यवस्थाले संस्थागत स्थायित्व र लगानीको वातावरणमा सकारात्मक प्रभाव पार्ने एसोसिएशनले जनाएको छ।
हाल नेपाल राष्ट्र बैंकबाट अनुमति लिएर १० वटा हायर पर्चेज कम्पनी सञ्चालनमा छन्। ती कम्पनीले मोबाइल फोन, घरायसी उपकरण, विद्युतीय सामग्री, मोटरसाइकल, पुनः बिक्रीका लागि उपलब्ध सवारीसाधन तथा ठूला उपकरण खरिदका लागि कर्जा उपलब्ध गराउँदै आएका छन्।
एसोसिएशनका अध्यक्ष विष्णुकुमार अग्रवालले हायर पर्चेज कम्पनीको मुख्य उद्देश्य बैंक तथा अन्य वित्तीय संस्थाबाट सहज रूपमा कर्जा प्राप्त गर्न नसक्ने उपभोक्तालाई वित्तीय पहुँचमा ल्याउनु रहेको बताए ।
उनका अनुसार हायर पर्चेज कम्पनीको सेवा पछिल्लो समय सवारीसाधन र ठूला उपकरणमा मात्र सीमित छैन। करिब १० हजार रुपैयाँ पर्ने विद्युतीय सामानदेखि वासिङ मेसिनसम्म खरिदका लागि समेत कर्जा उपलब्ध हुन थालेको उनले बताए।
‘बैंकबाट कर्जा लिन सहज अवस्था नभएका उपभोक्ताका लागि हायर पर्चेज कम्पनीको सेवा निकै सहज बनेको छ,’ उनले भने।
हायर पर्चेज कम्पनीहरूले व्यावसायिक सवारीसाधनका चालक तथा व्यवसायी, साना उद्यमी र बैंकिङ प्रणालीमा सहज पहुँच नभएका उपभोक्तालाई कर्जा उपलब्ध गराउँदै आएका छन्। यसबाट नयाँ उद्यम तथा रोजगारी सिर्जनामा समेत योगदान पुगिरहेको एसोसिएशनको भनाइ छ।
राष्ट्र बैंकले नयाँ व्यवस्थामार्फत हायर पर्चेज कम्पनीलाई विभिन्न स्थानमा सम्पर्क कार्यालय खोल्न दिने प्रावधान ल्याउनु सकारात्मक भएको एसोसिएशनले जनाएको छ। यसले बैंक तथा वित्तीय संस्थाको पहुँच कम भएका दुर्गम क्षेत्रमा समेत हायर पर्चेज सेवा विस्तार गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।
हायर पर्चेज कम्पनीहरू विगत १२ वर्षदेखि नेपाल राष्ट्र बैंकको नियमनमा रहेर सञ्चालन हुँदै आएका छन्। पुरानो व्यवस्थामा देखिएका व्यावहारिक समस्या समाधान गर्न नियामक निकायले कम्पनीहरूलाई संगठित भएर आफ्ना विषय उठाउन सुझाव दिएपछि एसोसिएशन गठन भएको जनाइएको छ।
यद्यपि, कर्जा असुली प्रक्रियासँग सम्बन्धित केही विषय अझै स्पष्ट र व्यावहारिक बन्न नसकेको एसोसिएशनको भनाइ छ। गण्डकी, बागमती र लुम्बिनी प्रदेशमा लिलामी गरिएका सवारीसाधन दर्ता गर्ने व्यवस्था नभएकाले त्यसको समाधान खोज्नुपर्ने माग गरिएको छ।
त्यस्तै, वित्तीय क्षेत्रका विज्ञ रहेको ऋण असुली न्यायाधिकरणको सेवा हायर पर्चेज कम्पनीले समेत उपयोग गर्न पाउने व्यवस्था गर्नुपर्ने एसोसिएशनले जनाएको छ।
समग्रमा राष्ट्र बैंकको नयाँ व्यवस्थाले हायर पर्चेज कम्पनीलाई थप व्यवस्थित, दिगो र सेवामुखी ढंगले अघि बढ्न प्रोत्साहन गर्ने एसोसिएशनको निष्कर्ष छ। आगामी दिनमा वित्तीय पहुँच विस्तार, उद्यमशीलता प्रवर्धन, रोजगारी सिर्जना तथा समग्र अर्थतन्त्रको विस्तारमा हायर पर्चेज क्षेत्रले थप प्रभावकारी भूमिका निर्वाह गर्ने प्रतिबद्धतासमेत एसोसिएशनले जनाएको छ।