• Menu

भृकुटीमण्डपमा विद्युत, ऊर्जा र विद्युतीय उपकरणको अन्तर्राष्ट्रिय प्रदर्शनी हुँदै, ३० हजारभन्दा बढी आगन्तुकको अपेक्षा

नेपाल प्रफिट

२०८३ भदौ ४, बिहीबार १३:२५

भृकुटीमण्डपमा विद्युत, ऊर्जा र विद्युतीय उपकरणको अन्तर्राष्ट्रिय प्रदर्शनी हुँदै, ३० हजारभन्दा बढी आगन्तुकको अपेक्षा

काठमाडौं । नेपालमा विद्युत, ऊर्जा, प्रकाश, उपभोक्ता विद्युतीय सामग्री तथा घरेलु उपकरण क्षेत्रको अन्तर्राष्ट्रिय प्रदर्शनी आयोजना हुने भएको छ। मिडिया स्पेस सोलुसन्स प्रालि., एक्जिबिसन एन्ड ट्रेड सर्भिसेस इन्डिया प्रालि. र फ्युचरेक्स ट्रेड फेयर एन्ड इभेन्ट्स प्रालिको संयुक्त आयोजनामा नेपाल इलेक्ट्रिक, पावर, लाइट तथा नेपाल कन्ज्युमर इलेक्ट्रोनिक्स एन्ड होम अप्लायन्सेस अन्तर्राष्ट्रिय प्रदर्शनी २०८३ हुने भएको हो ।

प्रदर्शनी आगामी भदौ १९ देखि २१ गतेसम्म काठमाडौंस्थित भृकुटीमण्डप प्रदर्शनी हलमा आयोजना हुनेछ। प्रदर्शनीमा स्वदेशी तथा विदेशी गरी १०० भन्दा बढी कम्पनीका स्टल रहने आयोजकले जनाएको छ ।

नेपालको विद्युत् तथा ऊर्जा क्षेत्रलाई अन्तर्राष्ट्रिय व्यावसायिक मञ्चसँग जोड्ने उद्देश्यले आयोजना हुन लागेको प्रदर्शनीले उद्योग, व्यापार र प्रविधिबीचको सहकार्य विस्तारमा योगदान पुर्‍याउने अपेक्षा गरिएको छ ।

नेपालमा बढ्दो जलविद्युत उत्पादनको प्रभावकारी उपयोग, ऊर्जा दक्षताको प्रवर्धन  तथा विद्युत पूर्वाधारको विकासलाई व्यवस्थित बनाउन प्रदर्शनीले महत्वपूर्ण भूमिका खेल्ने आयोजकको विश्वास छ। प्रदर्शनीमा ऊर्जा तथा विद्युतसँग सम्बन्धित नवीनतम प्रविधि, उत्पादन र सेवाहरू प्रस्तुत गरिनेछन् ।

यसबाट उद्योगी, व्यवसायी, उत्पादक, आयातकर्ता, वितरक तथा सेवा प्रदायकबीच नयाँ व्यावसायिक अवसर सिर्जना हुने अपेक्षा गरिएको छ। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रका व्यवसायी, उद्यमी र सरोकारवालालाई एउटै मञ्चमा ल्याएर ज्ञान, अनुभव र प्रविधि आदानप्रदान गर्ने अवसरसमेत प्रदर्शनीले प्रदान गर्नेछ।

प्रदर्शनीमा विद्युत प्रसारण तथा वितरण सामग्री, ऊर्जा आपूर्ति तथा नियन्त्रण प्रणाली, घरायसी तार जडान सामग्री, तार तथा केबल, चालक तार, आधुनिक स्विच, प्रकाश प्रविधि, विद्युतीय तथा घरेलु उपकरण, कार्यालय प्रविधि, सञ्चार उपकरण, सूचना प्रविधि र वैकल्पिक ऊर्जा प्रणालीलगायत सामग्री तथा प्रविधि प्रदर्शन गरिनेछ।

निःशुल्क प्रवेश रहने प्रदर्शनीमा उद्योगी-व्यवसायी, सरकारी अधिकारी, वास्तुविद्, विद्युतीय इन्जिनियर, आन्तरिक सज्जाकार, प्राविधिक, विद्युतीय व्यवसायी, सञ्चारकर्मी, विद्यार्थी तथा सर्वसाधारण गरी ३० हजारभन्दा बढी आगन्तुक सहभागी हुने आयोजकको अपेक्षा छ।

प्रदर्शनीलाई नेपाल चेम्बर अफ कमर्स, नेपाल इन्जिनियर्स एसोसिएसन, सोसाइटी अफ कन्सल्टिङ आर्किटेक्चरल एन्ड इन्जिनियरिङ फर्म्स, सोसाइटी अफ इलेक्ट्रिकल इन्जिनियर्स नेपाल र स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपालले सहयोग गर्नेछन् ।

आयोजकका अनुसार प्रदर्शनीले नेपालमा ऊर्जा, विद्युत तथा उपभोक्ता विद्युतीय उपकरण उद्योगको व्यावसायिक विस्तारसँगै प्रविधि हस्तान्तरण, लगानी प्रवर्धन र अन्तर्राष्ट्रिय सहकार्यलाई थप मजबुत बनाउनेछ। साथै, सम्बन्धित क्षेत्रको दिगो विकासका लागि प्रदर्शनी महत्वपूर्ण व्यावसायिक मञ्च बन्ने अपेक्षा गरिएको छ ।