काठमाडौं । दसैँमा घर फर्किएर परिवार र आफन्तसँग खुसी साटासाट गर्ने परम्परालाई थप विशेष बनाउन कोका-कोलाले ‘भरौँ खुसी’ दसैँ अभियान सञ्चालनमा ल्याएको छ। अभियानले दसैँमा घर फर्किने यात्रालाई सहज बनाउनुका साथै उपभोक्तालाई हवाई तथा बस टिकट जित्ने अवसर प्रदान गर्ने उद्देश्य राखेको छ।
अभियान सुरु भएदेखि नै सयौँ सहभागीले हवाई तथा बस टिकट भौचर जितिसकेका छन्। अन्य उपभोक्ताले पनि यस अभियानमा सहभागी भई टिकट जित्ने र परिवारसँग दसैँ मनाउन घर जाने अवसर प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ।
भदौ १८ देखि कात्तिक २९ गतेसम्म (सेप्टेम्बर ३ देखि नोभेम्बर १५, २०२६) सञ्चालन हुने यस योजनाअन्तर्गत सहभागीले दसैँ विशेष २.२५ लिटर र १.५ लिटरका कोक, स्प्राइट तथा फ्यान्टाका पेट बोतलमा उपलब्ध क्यूआर संकेत स्क्यान गरी वेबसाइटमार्फत दर्ता गरेर भौचर जित्ने अवसर पाउनेछन्।
कोका-कोला बोतलर्स नेपालका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत अजय कोनाले दसैँ टाढा रहेका परिवार तथा आफन्त एकै ठाउँमा भेला हुने विशेष समय भएको बताए ।
‘नेपालीहरूका लागि दसैँमा घर फर्किनु र परिवारसँग समय बिताउनु निकै अर्थपूर्ण हुन्छ भन्ने हामी बुझ्छौँ। ‘भरौँ खुसी’ मार्फत हामी यस्ता भेटघाटलाई सहज बनाउन सहयोग गर्ने भूमिका निर्वाह गरिरहेका छौँ,’ उनले भने।
काम, पढाइ वा अन्य विभिन्न कारणले आफ्नो घरपरिवारबाट टाढा बस्दै आएका व्यक्तिका लागि दसैँ परिवारसँगै रहने विशेष अवसर हो। यस अभियानले यस्ता भेटघाटको महत्त्वलाई उजागर गर्नुका साथै नेपालीलाई वर्षमा एकपटक आउने महान् चाड आफ्ना प्रियजनसँगै मनाउन गरिने प्रयास र समर्पणलाई सम्मान गर्ने कम्पनीले जनाएको छ।
अभियानअन्तर्गत विशेष टेलिभिजन विज्ञापनसमेत प्रसारण भइरहेको छ। विज्ञापनमा कोका-कोलाका ब्रान्ड प्रतिनिधिद्वय प्रदीप खड्का र स्वस्तिमा खड्काको अभिनय रहेको छ। विज्ञापनमा दसैँमा घर फर्कँदा अनुभव हुने व्यग्र प्रतीक्षा र परिवारसँगको आत्मीय भेटका क्षणलाई कलात्मक तथा भावनात्मक रूपमा प्रस्तुत गरिएको छ।
‘भरौँ खुसी’ अभियानले दसैँको खुसी परिवारसँग बाँड्ने अवसर सिर्जना गर्दै घर फर्किने यात्रालाई थप सहज र सम्झनलायक बनाउने अपेक्षा गरिएको छ।