मुस्ताङ । मुस्ताङ भन्सार कार्यालयले चालु आर्थिक वर्षको ३ महिनामा ८ अर्ब ३२ करोड ८३ लाख राजस्व संकलन गरेको छ ।
नेपाल-चीन उत्तरी कोरलानाकास्थित लोमान्थाङ-४ न्हेचुङस्थित मुस्ताङ भन्सार कार्यालयले उक्त राजस्व जम्मा गरेको हो । मुस्ताङ भन्सार कार्यालयका प्रमुख विदुर चुडालका अनुसार चालु आव २०८३/०८४ को साउन महिनादेखि असोज २७ गतेसम्म उक्त राजस्व जम्मा भएको जानकारी दिए ।
कोरलानाकास्थित मुस्ताङ भन्सार कार्यालयले चालु आवमा ९ अर्ब राजस्व जम्मा गर्ने लक्ष्य राखेको छ । कार्यालयले तीन महिना नपुग्दै (९३.५३) प्रतिशत राजश्व जम्मा गर्न सफल भएको छ ।
लक्ष्य पूरा हुन ६७ करोड १७ लाख अर्थात ९७.४६० प्रतिशत मात्रै राजस्व जम्मा गर्न बाँकी छ । उल्लेखनीय राजश्व वृद्धि हुनुको मुख्य कारण तातोपानी नाका र रसुवागढी नाका बन्द भएकाले हो ।
तातोपानी र रसुवागढी नाका पूर्ण रुपमा बन्द हुँदा त्यहाँबाट हुने निकासी तथा पैठारी मार्ग कोरलानाका विकल्प बनेको छ ।
चालु वर्षको साउन महिनादेखि असोज २७ गतेसम्मको अवधिमा रु १९ अर्ब ४० करोड ६७ लाख बराबरको मालवस्तु पैठारी भएको छ ।
यसैगरी ३७ लाख ७८ लाख मूल्य बराबरको मालवस्तु नेपालबाट चीनतर्फ निकासी भएको भन्सार विभागले जनाएको छ । रासस