ललितपुर । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको सबै तहको मतगणना सम्पन्न भएको छ। असोज २३ गते रातिदेखि सुरु भएको मतगणना शुक्रबार बिहान सकिएको निर्वाचन समितिले जनाएको छ।
निर्वाचन समितिका सदस्यसचिव राजु कटुवालका अनुसार मधेस र बागमती प्रदेशको अन्तिम परिणाम आएसँगै सबै पदको मतगणना पूरा भएको हो। अहिले गणना भएका मतको रुजु गर्ने काम भइरहेको र केहीबेरमै सबै परिणाम सार्वजनिक गर्ने तयारी गरिएको उनले जानकारी दिए ।
लुम्बिनी, गण्डकी, उपत्यका, श्रमिक, सहिद परिवार तथा द्वन्द्वपीडितका तर्फबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्यको मतगणना यसअघि नै सम्पन्न भएको थियो। त्यसैगरी सहमहामन्त्री तथा खुला र महिला केन्द्रीय सदस्य चयन हुने खस आर्य र थारू समूहको मतगणना पनि राति अबेर सकिएको कटुवालले बताए ।
महाधिवेशनमा सभापति पदको मतगणना राष्ट्रिय सभागृहमा गरिएको थियो। त्यसको परिणाम असोज २४ गते बिहानै सार्वजनिक गरिएको थियो। अन्य पदको मतगणना भने असोज २४ गते रातिदेखि पार्टीको केन्द्रीय कार्यालय सानेपामा गरिएको थियो।
निर्वाचन समितिका अनुसार यस पटक सात हजार ३९२ मतदाताको मतगणना एक सातामै सम्पन्न भएको छ। कांग्रेसको १४औँ महाधिवेशनमा चार हजार ७०० मतदाताको मतगणना गर्न १२ दिन लागेको थियो। यस पटक दिनरात गरी झण्डै २५ समूह बनाएर मतगणना गरिएकाले छिटो परिणाम निकाल्न सम्भव भएको कटुवालले बताए ।
यस पटक करिब एक लाख ६२ हजार मतपत्र गणना गर्नुपरेको थियो। कुल २२९ पदका लागि भएको निर्वाचनमा प्रत्येक मतदाताले २३ वटा मतपत्रमा मतदान गर्नुपर्ने व्यवस्था गरिएको थियो।
मतदान तथा मतगणनाका क्रममा कुनै विवाद सिर्जना नभएको र निर्वाचन सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको निर्वाचन समितिका सदस्यसचिव कटुवालले जानकारी दिए ।
निर्वाचित पदाधिकारी तथा सदस्यलाई प्रमाणपत्र वितरण र शपथग्रहण कार्यक्रम भने दसैँलगत्तै आयोजना गरिने जनाइएको छ । रासस