• Menu

दूरसञ्चार प्राधिकरणको वार्षिक प्रतिवेदन सञ्चारमन्त्रीलाई हस्तान्तरण, ब्रोडव्याण्ड घनत्व १४८ प्रतिशत पुग्यो

नेपाल प्रफिट

२०८३ असोज ३०, शुक्रबार १३:५६

दूरसञ्चार प्राधिकरणको वार्षिक प्रतिवेदन सञ्चारमन्त्रीलाई हस्तान्तरण, ब्रोडव्याण्ड घनत्व १४८ प्रतिशत पुग्यो

काठमाडौं । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनालाई नेपाल दूरसञ्चार प्राधिकरणको आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन हस्तान्तरण गरिएको छ ।

सञ्चारमन्त्री डा. तिमिल्सिनासमक्ष शुक्रबार प्राधिकरणका अध्यक्ष अर्जुन घिमिरेले वार्षिक प्रतिवेदन पेस गरेका हुन् । प्रतिवेदन ग्रहण गर्दै मन्त्री डा. तिमिल्सिनाले नागरिकलाई गुणरस्तरीय र भरपर्दो दूरसञ्चार सेवा प्रदान गर्न निर्देशन दिए ।

प्रतिवेदनमा आव २०८२/८३ मा जनसंख्याका आधारमा भ्वाइस टेलिफोन सेवाको घनत्व १०४.१६ प्रतिशत पुगेको उल्लेख छ । ब्रोडव्याण्ड सेवाको घनत्व १४८.६४ प्रतिशत रहेको प्राधिकरणले जनाएको छ ।

ब्रोडव्याण्डमध्ये फिक्स्ड ब्रोडव्याण्ड सेवाको घनत्व ५३.५५ प्रतिशत, थ्रि जीको घनत्व २.५७ प्रतिशत र फोर जीको घनत्व ९२.५२ प्रतिशत गरी मोबाइल ब्रोडव्याण्डको कूल घनत्व भने ९५.०९ प्रतिशत पुगेको प्राधिकरणले जनाएको छ ।

राजस्वका आधारमा आव २०७७/७८ मा भ्वाइस सेवाको बजार हिस्सा ८२.१६ प्रतिशत र इन्टरनेट नेटवर्क सेवा प्रदायकको बजार हिस्सा १७.८४ प्रतिशत रहेकामा आव २०८१/८२ को विवरणअनुसार भ्वाइस सेवाको बजार हिस्सा ७३.७९ प्रतिशत र इन्टरनेट नेटवर्क सेवा प्रदायकसमेत सेवा प्रदायकको बजार हिस्सा २६.२१ प्रतिशत पुगेको छ ।

दूरसञ्चार सेवा बजारको हिस्सालाई प्रमुख सेवा प्रदायकको राजस्वका आधारमा आव २०७७/७८ मा भ्वाइस सेवाको राजस्वमा नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको ४६.८७ प्रतिशत र एनसेल आजियटा लिमिटेडको ५३.१२ प्रतिशत बजार हिस्सा रहेको थियो । तर, आव २०८१/८२ मा भने भ्वाइस सेवाको राजस्वमा नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको ५०.८१ प्रतिशत र एनसेल आजियटा लिमिटेडको ४९ दशमलव १९ प्रतिशत बजार हिस्सा रहेको प्रतिवेदनमा उल्लेख छ ।

प्राधिकरणले आव २०८२/८३ मा इन्टरनेट (इमेलसहित) सेवा सञ्चालनका लागि एक र आधारभूत दूरसञ्चार सेवाको एक नयाँ अनुमतिपत्र जारी गरेको छ ।

आव २०८२/८३ मा २९ वटा इन्टरनेट सेवा प्रदायक, तीन वटा नेटवर्क सेवा प्रदायक र एक भिस्याट सेवा प्रयोगकर्ता गरी कुल ३३ वटा अनुमतिपत्र प्राप्त सेवा प्रदायक तथा उजुरीका आधारमा ५ वटा सेवा प्रदायकको अनुगमन गरी नियमानुसार कारबाहीको प्रक्रिया अघि बढाइएको प्राधिकरणले जनाएको छ ।

आव २०८२/८३ मा दूरसञ्चार सेवाका लागि आवश्यक उपकरण आयातबापतको भुक्तानीका लागि अनुमतिपत्र प्राप्त सेवा प्रदायकलाई रु चार अर्ब ८६ करोड २९ लाख ५६ हजार ३४ र व्याण्डविध भुक्तानीबापत चार अर्ब १४ करोड १० हजार ५७६ बराबरको विदेशी मुद्रा भुक्तानीका लागि सिफारिस गरिएको छ ।

त्यसैगरी, आव २०८२/८३ मा इन्टरनेट सेवाको समस्यासँग सम्बन्धित गुनासोको संख्या ३३९ रहेको छ भने भ्वाइस सेवाको समस्यासँग सम्बन्धित गुनासोको संख्या ९६ रहेको छ ।

ग्रामीण दूरसञ्चार विकास कोष परिचालन गरी मध्यपहाडी लोकमार्ग तथा जिल्ला सदरमुकाम जोडने महामार्गमा व्याक बोन नेटवर्क निर्माण गर्ने कार्यअन्तर्गत हालसम्म दुई हजार २४८.४४ किलोमिटर अप्टिकल फाइबर बिछ्याउने कार्य सम्पन्न भएको छ ।

त्यस्तै, आव २०८२/८३ मा २२०.९९ किलोमिटर अप्टिकल फाइबर विस्तार गर्ने काम भएको छ । प्राधिकरणका अनुसार आव २०८२/८३ दूरसञ्चार सेवा प्रदायकबाट आव २०८१/८२ को वार्षिक आयको ४ प्रतिशतले हुने रोयल्टी रकमबापत तीन अर्ब १७ करोड ६१ लाख ८५ हजार ५३३ नेपाल सरकारको राजस्व खातामा दाखिला भएको छ ।

दूरसञ्चार सेवा प्रदायकबाट आव २०८१/८२ को वार्षिक आयको दुई प्रतिशतले हुने ग्रामीण दूरसञ्चार विकास कोष रकमबापत एक अर्ब ६८ करोड पाँच लाख २४ हजार ५६४ ग्रामीण दूरसञ्चार विकास कोषमा दाखिला भएको छ ।

दूरसञ्चार सेवाका फ्रिक्वेन्सी प्रयोग गरेबापत विभिन्न सेवा प्रदायकबाट आव २०८२/८३ मा तीन अर्ब ९१ करोड ८२ लाख ८० हजार ५०० रकम नेपाल सरकारको खातामा जम्मा भएको छ । रासस