• Menu

जर्मन राज्यसचिव डा. बार्बेल कोफ्लर चारदिने नेपाल भ्रमणका लागि आउँदै

नेपाल प्रफिट

२०८३ कात्तिक ११, बुधबार १२:४९

जर्मन राज्यसचिव डा. बार्बेल कोफ्लर चारदिने नेपाल भ्रमणका लागि आउँदै

काठमाडौं । जर्मनीको आर्थिक सहयोग तथा विकाससम्बन्धी संघीय मन्त्रीका संसदीय राज्यसचिव डा. बार्बेल कोफ्लर चारदिने नेपाल भ्रमणका लागि बुधबार आउँदै छिन् ।

नेपालमा रहँदा राज्यसचिव डा. कोफ्लरले जर्मनी-नेपाल सहकार्यको विस्तृत जानकारी लिनुका साथै महिला अधिकार र स्वास्थ्य तथा भोटेकोशी बाढीको प्रभावसम्बन्धी विषयमा ध्यान केन्द्रित गर्ने जर्मनी दूतावासले जनाएको छ । उनले नेपाल सरकार, नागरिक समाज तथा अन्तरराष्ट्रिय र स्थानीय साझेदारका प्रतिनिधिहरूसँग भेटघाट गरी जर्मनी र नेपालबीचको विकास सहकार्यलाई अझ सुदृढ बनाउने विषयमा छलफल गर्ने छिन् ।

जर्मनीको संघीय सरकारले भोटेकोशी बाढीको प्रतिकार्यका लागि एक करोड १० लाख ६१ हजार युरो सहयोग उपलब्ध गराएको छ । उक्त सहयोग तत्काल मानवीय सहायता सञ्चालनका साथै प्रभावित क्षेत्रमा स्वास्थ्य तथा ऊर्जा पूर्वाधारको आपूर्ति र पुनर्निर्माणका लागि दीर्घकालीन विकास सहयोगमा खर्च गरिनेछ ।

बाढीका परिणाम र प्रभावित क्षेत्रको मानवीय अवस्थाबारे जानकारी लिन राज्यसचिव डा कोफ्लरले नुवाकोटको भ्रमण गर्ने छिन् । भ्रमणका क्रममा उनले स्थानीय सरकारका प्रतिनिधि, स्वास्थ्यकर्मी तथा प्रभावित नागरिकसँग अन्तक्र्रिया गरी स्थलगत रूपमा मानवीय सहायता र पुनर्स्थापनाका आवश्यकताबारे जानकारीसमेत लिने छिन् ।

काठमाडौंमा राज्यसचिव डा. कोफ्लरले जर्मन विकास सहयोगबाट समर्थित स्थानीय स्वास्थ्य संस्थाहरूको भ्रमण गर्ने छिन् । साथै, उनले स्वास्थ्य क्षेत्रका सरकारी तथा नागरिक समाजका प्रतिनिधिहरूसँग छलफल गर्ने बताइएको छ । यसका अतिरिक्त, उनले नेपालका वर्तमान तथा भावी विकासक्रम र चुनौतीहरूबारे विस्तृत जानकारी लिन विभिन्न छलफलमा सहभागी हुने छिन् । ती छलफलमा गत वर्ष भएको जेनजी आन्दोलन तथा नेपालमा संक्रमणकालीन न्यायका विषय पनि समेटिनेछन् ।

यस क्रममा राज्यसचिव डा. कोफ्लरले विकास सहकार्यका सबै तहबाट विभिन्न दृष्टिकोण बुझ्ने अवसर प्राप्त गर्ने छिन् । त्यसैले यो भ्रमण जर्मनी र नेपालबीच लामो समयदेखि कायम रहेको विकास सहकार्यमा महत्त्वपूर्ण हुने अपेक्षा गरिएको छ ।

राज्यसचिव डा. कोफ्लर सन् २००४ देखि जर्मन संसद्को सदस्य हुन् । उनी सन् २०२१ देखि आर्थिक सहयोग तथा विकाससम्बन्धी संघीय मन्त्रीका संसदीय राज्यसचिवका रूपमा कार्यरत छिन् । यस भूमिकामा उनले जर्मनीको द्विपक्षीय तथा बहुपक्षीय विकास नीतिसम्बन्धी सहकार्यको समन्वय र कार्यान्वयनमा मन्त्रीलाई सहयोग गर्दै आएकी छन् ।

राज्यसचिव डा. कोफ्लरले यसअघि सन् २०२२ मा पनि नेपालको भ्रमण गरेकी थिइन् । त्यस क्रममा उनले नेपालका विभिन्न साझेदारसँग छलफल गरेकी थिइन् । यस वर्षको भ्रमणले दुई देशबीचको सहकार्यलाई थप सुदृढ बनाउने र विगतका प्रयासलाई निरन्तरता दिँदै अघि बढ्ने अवसर प्रदान गर्ने बताइएको छ । रासस