
काठमाडौं । अनलाइन सट्टेबाजी र क्रिप्टोकरेन्सी कारोबार बढ्दै गएपछि प्रहरीले यस्ता गतिविधिमा संलग्न व्यक्तिमाथिको अनुसन्धान तथा कारबाहीलाई तीव्र बनाएको छ ।
पछिल्लो समय ठूलो रकमको क्रिप्टोकरेन्सी कारोबारमा संलग्न विदेशी नागरिकसमेत पक्राउ परेका छन्। १७ करोड ७९ लाखभन्दा बढी बराबरको क्रिप्टोकरेन्सी कारोबार गरेको आरोपमा चिनियाँ नागरिक ३५ वर्षीय झु यी फेङ्ग गत चैत १९ गते काठमाडौंको ठमेलबाट पक्राउ परेका थिए।
त्यस्तै, ३० लाख ४९ हजार ७३६ बराबरको क्रिप्टोकरेन्सी कारोबार गरेको आरोपमा बंगलादेशी नागरिक २९ वर्षीय मोहम्मद शेहाबुल इस्लाम गत चैत ११ गते पक्राउ परेका थिए। क्रिप्टोकरेन्सी कारोबारमा संलग्न रहेको आरोपमा नागार्जुन नगरपालिका-८ भीमढुंगाका २८ वर्षीय सागर गिरी र २८ वर्षीय प्रमोदप्रसाद धिताल पनि गत चैत २ गते पक्राउ परेका थिए ।
प्रविधिको बढ्दो प्रयोगसँगै यसको दुरुपयोगबाट हुने आपराधिक गतिविधि पनि बढ्दै गएपछि प्रहरीले अनलाइन बेटिङ तथा क्रिप्टोकरेन्सी कारोबार नियन्त्रणका लागि विशेष अभियान सञ्चालन गर्दै आएको छ ।
आर्थिक वर्ष २०८२/८३ मा अनलाइन बेटिङमा संलग्न ४८ जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा २६ जना विदेशी र २२ जना नेपाली नागरिक छन्। आर्थिक वर्ष २०८१/८२ मा ९३ विदेशी नागरिकसहित १४८ जना तथा आव २०८०/८१ मा १३ विदेशी नागरिकसहित ६२ जना अनलाइन बेटिङमा संलग्न व्यक्ति पक्राउ परेका थिए।
त्यस्तै, आव २०८२/८३ मा क्रिप्टोकरेन्सी कारोबारमा संलग्न ४२ जना पक्राउ परेका छन् । तीमध्ये सात जना विदेशी र ३५ जना नेपाली नागरिक छन्। आव २०८१/८२ मा ४५ विदेशी नागरिकसहित ११७ जना तथा आव २०८०/८१ मा पाँच विदेशी नागरिकसहित १० जना क्रिप्टोकरेन्सी कारोबारमा संलग्न व्यक्ति पक्राउ परेका थिए ।
विशेषगरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालन भइरहेका बेला विभिन्न अनलाइन बेटिङका माध्यम बढी सक्रिय हुने गरेको प्रहरी अनुसन्धानबाट देखिएको छ ।
केन्द्रीय प्रहरी प्रवक्ता अविनारायण काफ्लेले अनलाइन बेटिङका सञ्जाल तथा क्रिप्टोकरेन्सी कारोबार नियन्त्रणका लागि सूचना सङ्कलन र निगरानीलाई प्रहरीले प्राथमिकतामा राखेको बताए ।
उनका अनुसार सट्टेबाजी हुन सक्ने सम्भावित स्थान, गिरोह तथा व्यक्तिबारे गोप्य सूचना संकलन गर्नुका साथै खेलकुद बेटिङमा संलग्न सञ्जालको डिजिटल निगरानी र बैंक तथा डिजिटल वालेटमार्फत हुने कारोबारमाथि समेत निगरानी बढाइएको छ ।
प्रहरीका अनुसार अनलाइन बेटिङ साइबर अपराध, ठगी तथा हुण्डी कारोबारसँग समेत जोडिने गरेको छ। सामाजिक सञ्जालमार्फत मानिसलाई सट्टेबाजीमा आकर्षित गर्ने, त्यसकै माध्यमबाट ठगी गर्ने तथा अवैध रकम स्थानान्तरणलाई बढावा दिने गतिविधिसमेत भेटिएको प्रहरीले जनाएको छ ।
मुलुकी अपराध संहिता, २०७४ अनुसार सट्टेबाजीसम्बन्धी कसुरमा मुद्दा दर्ता भएमा प्रयोग भएको बिगो जफत गरी कसुरदारलाई एक वर्षसम्म कैद र १० हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ ।
त्यस्तै, क्रिप्टोकरेन्सी कारोबारमा संलग्न व्यक्तिलाई अभौतिक मुद्राको प्रयोगसम्बन्धी कसुरमा बिगो तथा त्यसबाट बढेको वा बढाइएको सम्पत्तिसमेत जफत गरी पाँच वर्षसम्म कैद र बिगोबमोजिम जरिवाना हुने कानुनी व्यवस्था रहेको छ ।
Copyright © Nepal Profit - 2026 / Developed By Webtech Nepal