• Menu

धार्मिक, ऐतिहासिक र पर्यटकीय धरोहर इशानेश्वर महादेव : जहाँ ‘ठाडो बत्ती’ बालेपछि सन्तान प्राप्ति हुने जनविश्वास छ

नेपाल प्रफिट

२०८३ भदौ ३, बुधबार १७:४६

धार्मिक, ऐतिहासिक र पर्यटकीय धरोहर इशानेश्वर महादेव : जहाँ ‘ठाडो बत्ती’ बालेपछि सन्तान प्राप्ति हुने जनविश्वास छ

लमजुङ । मध्यनेपाल नगरपालिका-७ करापुटारमा रहेको इशानेश्वर महादेव मन्दिर धार्मिक आस्था, ऐतिहासिक महत्व र सांस्कृतिक परम्पराले भरिपूर्ण तीर्थस्थलका रूपमा परिचित छ। वर्षभर भक्तजनको आगमन हुने यस मन्दिरमा विशेषगरी साउने सोमबार र महाशिवरात्रिमा ठूलो भीड लाग्ने गरेको छ।

सन्तान प्राप्ति तथा मनोकांक्षा पूरा हुने धार्मिक विश्वासका कारण इशानेश्वर महादेवप्रति भक्तजनको विशेष आस्था रहेको छ। महाशिवरात्रिका अवसरमा रातभर जाग्राम बसेर ‘ठाडो बत्ती’ बाल्ने यहाँको प्रमुख धार्मिक परम्परा हो। लामो समयसम्म सन्तान नभएका दम्पतीले श्रद्धापूर्वक ठाडो बत्ती बालेर पूजा गरेमा सन्तान प्राप्त हुने जनविश्वास छ ।

मन्दिरका पुजारी वामदेव सोतीका अनुसार सन्तान प्राप्त भएपछि महादेवलाई धन्यवाद दिन पुनः मन्दिरमा आउने भक्तजनको संख्या उल्लेख्य छ। स्थानीय जनश्रुतिअनुसार गोरखाका राजा कृष्ण शाहले सन्तान प्राप्तिको कामनासहित महाशिवरात्रिका दिन यहाँ ठाडो बत्ती बालेर पूजा गरेपछि पुत्र प्राप्त भएको र उनको नाम रुद्र शाह राखिएको विश्वास गरिन्छ ।

तनहुँको बन्दीपुरकी सृजना पौडेलले २०७५ सालको महाशिवरात्रिमा सन्तान प्राप्तिको कामनासहित ठाडो बत्ती बालेपछि अर्को वर्ष छोरा जन्मिएको अनुभव सुनाएकी छन्। गोरखाकी विपना थापाले पनि आफ्नो कामना पूरा भएपछि छोरासहित पुनः मन्दिर दर्शन गर्न आएको बताएकी छन्।

इशानेश्वर मन्दिरको इतिहास स्थानीय जनश्रुति र धार्मिक मान्यतासँग जोडिएको छ। स्थानीय स्रोतका अनुसार १४१४ सालमा तत्कालीन लमजुङका राजा वीरनारायण शाहको पालामा मन्दिर निर्माण भएको विश्वास गरिन्छ । खेती गर्ने क्रममा शिवलिङ्ग भेटिएपछि यस क्षेत्रको धार्मिक महत्व विस्तार हुँदै गएको स्थानीयको भनाइ छ ।

यस क्षेत्रलाई स्वस्थानी व्रतकथामा उल्लेखित धार्मिक प्रसङ्गसँग समेत जोडेर हेर्ने गरिएको छ । स्थानीय धार्मिक विश्वासअनुसार सतीदेवीको अङ्ग पतन भएको स्थानका रूपमा समेत इशानेश्वर क्षेत्रलाई लिने गरिएको छ ।

मन्दिरको संरक्षण तथा विकासका लागि २०६५ सालमा इशानेश्वर महादेव मन्दिर क्षेत्र विकास समिति गठन गरिएको थियो। पछि ट्रस्ट समिति गठन गरी मन्दिरको संरक्षण, प्रचारप्रसार तथा पूर्वाधार विकासका काम अघि बढाइएको छ। मन्दिरको धार्मिक इतिहास र महत्व समेटिएको पुस्तकसमेत प्रकाशन गरिएको छ।

२०७२ सालको भूकम्पबाट क्षतिग्रस्त मन्दिर पुरातत्व विभागको सहयोगमा पुरानै शैलीमा पुनर्निर्माण गरिएको हो। करिब १ करोड २० लाख ६८ हजार रुपैयाँको लागतमा पुनर्निर्माण गरिएको मन्दिर परिसरमा गौरीशङ्कर मन्दिर र १०८ शिवलिङ्गसमेत निर्माण गरिएको छ। मन्दिरदेखि माथिल्लो क्षेत्रसम्म करिब साढे दुई सय मिटर सिँढी निर्माण गर्ने योजना रहेको समितिले जनाएको छ।

इशानेश्वर क्षेत्र धार्मिक परम्परासँगै सांस्कृतिक महत्वका कारण पनि परिचित छ। स्थानीय मान्यताअनुसार देउवा दुरा र पञ्चबहादुर गुरुङले यही क्षेत्रमा गीतमार्फत ठाडो भाकाको सुरुआत गरेको विश्वास गरिन्छ।

महाशिवरात्रिका अवसरमा यहाँ हरेक वर्ष करिब डेढदेखि दुई लाख भक्तजन तथा दर्शनार्थी आउने गरेका छन्। साउने सोमबारमा पनि देशका विभिन्न स्थानबाट भक्तजन आउने र विशेष पूजा-आराधना गर्ने गरेका छन्।

मध्यनेपाल नगरपालिकाले मन्दिर क्षेत्रको संरक्षण, प्रचारप्रसार र पूर्वाधार विकासमा सहयोग गर्दै आएको जनाएको छ। नगरपालिकाकी उपप्रमुख सीता गुरुङले इशानेश्वरलाई धार्मिक पर्यटनको आकर्षक गन्तव्यका रूपमा विकास गर्न स्थानीय उत्पादनको बजारीकरणसँगै पर्यटन प्रवर्धनलाई प्राथमिकता दिइएको बताएकी छन् ।

मन्दिरको संरक्षण, व्यवस्थित पूर्वाधार निर्माण र प्रचारप्रसारलाई थप प्रभावकारी बनाउन सके इशानेश्वर महादेव क्षेत्र धार्मिक, सांस्कृतिक तथा पर्यटकीय गन्तव्यका रूपमा अझ स्थापित हुने देखिन्छ ।