• Menu

सत्यवतीमा गाईपालन गर्ने किसानलाई १० हजार प्रोत्साहन

नेपाल प्रफिट

२०८३ भदौ ३, बुधबार १३:३९

सत्यवतीमा गाईपालन गर्ने किसानलाई १० हजार प्रोत्साहन

गुल्मी । सत्यवती गाउँपालिकाले पालिकाभित्र गाईपालन गर्ने किसानलाई  प्रोत्साहन तथा अनुदान कार्यक्रम सञ्चालनमा ल्याएको छ ।

पालिकाले गाईपालन व्यवसायलाई प्रवर्धन तथा संरक्षण गर्ने उद्देश्यले प्रतिगाई रु १० हजार प्रोत्साहन रकम उपलब्ध गराइउने भएको छ । उक्त प्रोत्सहान पाउन २०८३ साउन १ गतेदेखि २०८४ असार १५ गतेभित्र आफ्नो फार्म वा घरमा पालेको गाई पहिलोपटक ब्याएको हुनुपर्ने पालिकाले जनाएको छ ।

आर्थिक वर्ष २०८३/८४ को वार्षिक स्वीकृत पशुपन्छी विकास कार्यक्रमअन्तर्गत गाईको बाच्छी हुर्काउने किसानलाई प्रोत्साहन गर्न लागिएको सत्यवती गाउँपालिका अध्यक्ष टीकाराम पाण्डेले जानकारी दिए ।

त्यसैगरी, उन्नत जातका गाई, भैँसी तथा राँगो खरिद गरी व्यावसायिक रूपमा पशुपालन गर्न चाहने किसान, फार्म, समूह तथा सहकारीहरूलाई प्रतिपशु २५ हजार  अनुदान दिने घोषणा गरिएको छ । उन्नत जातका पशु खरिदका लागि इच्छुक किसानले यही भदौ १५ गतेभित्र प्रस्ताव पेस गर्नुपर्ने गाउँपालिकाले जनाएको छ ।

कार्यक्रममा सहभागी हुने किसानलाई आवश्यक कागजातसहित गाउँपालिका कार्यालयमा निवेदन सूचित गरिएको छ ।