एजेन्सी । चिनियाँ ह्युमनोइड रोबोट निर्माता युनिट्रीको सेयर साङ्घाई स्टक एक्सचेन्जमा कारोबार सुरु भएको केही समयमै ६२९ प्रतिशतसम्म बढेको छ । प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) मार्फत ९० करोड अमेरिकी डलरभन्दा बढी रकम जुटाएको कम्पनीको सेयरमा आएको यो उछालले चीनको तीव्र गतिमा विस्तार भइरहेको रोबोटिक्स उद्योगप्रति लगानीकर्ताको बढ्दो आकर्षण देखाएको छ ।
हाङ्झाउमा मुख्यालय रहेको युनिट्री चीनको ह्युमनोइड रोबोट विकास गर्ने प्रमुख कम्पनीमध्ये एक हो । कम्पनीको सेयर बुधबार १५०.८० युआनको निष्कासन मूल्यबाट बढेर कारोबार सुरु भएको केही समयमै १ हजार १०० युआनसम्म पुगेको थियो । पछि मूल्य केही घटेर करिब ९०० युआनमा झरेको थियो ।
युनिट्रीले अमेरिकी नास्डाकसँग तुलना गरिने साङ्घाई स्टक एक्सचेन्जको प्रविधि केन्द्रित स्टार बजारमा सूचीकरण गरेको हो । कम्पनीको सफल आईपीओ र प्रारम्भिक कारोबारले चीनको रोबोटिक्स क्षेत्रमा लगानीकर्ताको विश्वास बढेको संकेत गरेको छ ।
युनिट्रीले सोमबार ‘सुपरम्यान’ नामक नयाँ ह्युमनोइड रोबोटसमेत सार्वजनिक गरेको थियो । कम्पनीका अनुसार उक्त रोबोट दुई मिटर उचाइसम्म उफ्रिन तथा प्रतिघण्टा १२.६६ मिटर प्रतिसेकेन्डसम्मको गतिमा दौडिन सक्छ । कम्पनीले उक्त गति १०० मिटर दौडमा निरन्तर कायम राख्न सकेमा विश्व कीर्तिमानधारी धावक उसेन बोल्टभन्दा समेत तीव्र हुने दाबी गरेको छ ।
युनिट्रीका रोबोटले गत वर्ष चीनको वार्षिक वसन्त उत्सव गालामा समेत विशेष चर्चा पाएका थिए । परम्परागत चिनियाँ पोसाकमा देखिएका रोबोटले ब्याकफ्लिप, कुङफु तथा टेबलमाथि उफ्रिने लगायतका गतिविधि प्रदर्शन गरेका थिए ।
रोबोटिक्स इन्जिनियरिङ कम्पनी जेरोथका संस्थापक तथा प्रमुख कार्यकारी रेन्जी गुओका अनुसार युनिट्रीका उत्पादन चिनियाँ अनुसन्धान संस्था र कम्पनीसँगै एनभिडिया, गुगल तथा अमेजनजस्ता अमेरिकी प्रविधि कम्पनीले पनि प्रयोग गरिरहेका छन् । उनका अनुसार युनिट्री वरिपरि विकसित प्रविधि र आपूर्ति प्रणालीले अन्य कम्पनी तथा अनुसन्धानकर्तालाई समेत रोबोट विकास गर्न सहज बनाएको छ ।
चीनमा युनिट्रीसँगै युबिटेकलगायत कम्पनी पनि ह्युमनोइड रोबोट विकासमा सक्रिय छन् । युबिटेकले यसै वर्ष आँखा क्यामेरा, छातीमा सेन्सर तथा आवाज सुन्ने माइक्रोफोनसहितको ‘यु-१’ रोबोट सार्वजनिक गरेको थियो ।
चिनियाँ सरकारले रोबोटिक्सलाई रणनीतिक उद्योगका रूपमा प्राथमिकता दिँदै आएको छ । गत वर्षसम्म चीनका १४० भन्दा बढी कम्पनीले ३३० भन्दा बढी ह्युमनोइड रोबोटका मोडल विकास गरिसकेको बताइएको छ । ती कम्पनीले मानिसजस्तै वातावरण बुझ्ने, हिँड्ने र वस्तुसँग अन्तरक्रिया गर्ने क्षमता विकासका लागि ‘फिजिकल एआई’ प्रविधिमा ठूलो लगानी गरिरहेका छन् ।
ह्युमनोइड रोबोटिक्सको तीव्र विकाससँगै यो क्षेत्र अमेरिका–चीन प्रविधि प्रतिस्पर्धाको नयाँ मोर्चाका रूपमा समेत विकसित हुँदै गएको छ । अमेरिकाले गत जुनमा युनिट्रीलाई चिनियाँ सेनालाई सहयोग गरेको आरोप लागेका कम्पनीको सूचीमा राखेको थियो । जुलाईमा ट्रम्प प्रशासनले राष्ट्रिय सुरक्षा कारण देखाउँदै अमेरिकामा आयात प्रतिबन्ध लगाइएका उत्पादन तथा कम्पनीको सूचीमा चीनमा निर्मित ह्युमनोइड र चार खुट्टे रोबोटलाई समेत समावेश गरेको थियो ।
बेइजिङस्थित भेन्चर क्यापिटल कम्पनी जिन्किउ क्यापिटलका साझेदार तियान्यु जाङले युनिट्रीको आईपीओलाई चीनको ह्युमनोइड रोबोट उद्योगका लागि महत्वपूर्ण मोडका रूपमा व्याख्या गरेका छन् । उनका अनुसार अब युनिट्रीसँगै समग्र रोबोटिक्स उद्योगले विकास गरेका प्रविधिलाई वास्तविक संसारमा कति छिटो र प्रभावकारी रूपमा प्रयोगमा ल्याउन सक्छ भन्ने मुख्य चुनौती हुनेछ ।
उद्योगले आगामी दिनमा आफ्ना प्रविधिको व्यावहारिक उपलब्धि र प्रयोगबारे नियमित रूपमा सार्वजनिक मूल्यांकन प्रस्तुत गर्नुपर्नेमा समेत उनले जोड दिएका छन् ।