• Menu

क्यानाडाली सामानमा ५० प्रतिशत शुल्क लगाउने निर्णय तीन दिनका लागि स्थगित, नयाँ सम्झौताको तयारी

नेपाल प्रफिट

२०८३ भदौ ३, बुधबार ११:२९

क्यानाडाली सामानमा ५० प्रतिशत शुल्क लगाउने निर्णय तीन दिनका लागि स्थगित, नयाँ सम्झौताको तयारी

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानाडाली सामानमा लगाउने तयारी गरिएको ५० प्रतिशत शुल्क तीन दिनका लागि स्थगित गरेका छन् । अमेरिका र क्यानाडाबीच व्यापार सम्झौताको अन्तिम दस्तावेज तयार गर्ने काम भइरहेकाले शुल्क कार्यान्वयन केही दिन पछि सारिएको उनले बताएका हुन् ।

शुल्क बुधबारदेखि लागू गर्ने तयारी थियो । त्यसको केही घन्टाअघि मंगलबार ट्रम्पले क्यानाडाका प्रधानमन्त्री मार्क कार्नीसँग तत्काल वार्ता गरेका थिए । वार्तापछि ट्रम्पले सामाजिक सञ्जालमार्फत अमेरिका-क्यानाडाबीच सम्झौताको अन्तिम दस्तावेज तयार हुन बाँकी रहेकाले शुल्क स्थगित गरिएको जानकारी दिएका हुन् ।

दुवै नेताबीच सोमबार पनि छलफल भएको थियो । त्यसपछि प्रधानमन्त्री कार्नीले वार्ता गम्भीर र संवेदनशील चरणमा पुगेको बताएका थिए । अमेरिकी व्यापार प्रतिनिधिको कार्यालयका अनुसार प्रस्तावित समझदारीमा अमेरिकी सामानका लागि व्यापक बजार पहुँच, आर्थिक सुरक्षासम्बन्धी प्रतिबद्धता र डिजिटल व्यापारमा सहकार्यलगायत विषय समेटिएका छन् ।

क्यानाडाले अमेरिकी सामानमाथि भइरहेको भेदभावपूर्ण तथा अनुचित व्यवहार हटाउने प्रतिबद्धता जनाएपछि शुल्क स्थगित गरिएको अमेरिकी पक्षले जनाएको छ । ट्रम्प प्रशासनले क्यानाडाले अमेरिकी मदिरा, मोटरगाडी तथा दुग्धजन्य उत्पादनमा भेदभावपूर्ण व्यवहार गरेको आरोप लगाउँदै गत महिना ५० प्रतिशत शुल्क लगाउने निर्णय गरेको थियो ।

प्रस्तावित शुल्क वाइन, हक्की स्टिक, सिमेन्टलगायत क्यानाडाली उत्पादनमा लागू हुने थियो । अक्सफोर्ड इकोनोमिक्सका अनुसार यसबाट क्यानाडाबाट अमेरिकातर्फ हुने निर्यातको करिब ५.५ प्रतिशत अर्थात् लगभग २० अर्ब अमेरिकी डलर बराबरको व्यापार प्रभावित हुने अनुमान गरिएको थियो ।

क्यानाडाली वार्ताकारहरूले नयाँ शुल्कबाट जोगिन तथा अटोमोबाइल, इस्पात, काठ र एल्युमिनियममा यसअघि लगाइएका क्षेत्रगत शुल्कबाट राहत पाउन वासिङ्टनमा छलफल गरिरहेका छन् । क्यानाडाले अमेरिकी मदिरा तथा वाइनमाथिका प्रतिबन्ध हटाउनेलगायतका छुट दिन सक्ने प्रस्ताव अघि सारेको बताइएको छ ।

यसैबीच ट्रम्पले पूर्वराष्ट्रपति जो बाइडेनको कार्यकालमा रोकिएको ‘किस्टोन एक्सएल’ पाइपलाइन परियोजना पुनः अघि बढ्न सक्ने संकेत पनि गरेका छन् । वातावरणीय कारण देखाउँदै बाइडेन प्रशासनले उक्त परियोजना अघि बढ्न दिएको थिएन ।

अमेरिका-मेक्सिको-क्यानाडा स्वतन्त्र व्यापार सम्झौताको पुनरावलोकन तथा नवीकरण प्रक्रिया अघि बढिरहेका बेला शुल्कको धम्कीलाई वार्तामा दबाब सिर्जना गर्ने माध्यमका रूपमा प्रयोग गरिएको हुन सक्ने विश्लेषण गरिएको छ ।

अक्सफोर्ड इकोनोमिक्सले सिमेन्ट, कागज, मुद्रण, काठ, कपडा तथा विद्युतीय उपकरण उत्पादन गर्ने क्षेत्रलाई प्रस्तावित शुल्कबाट बढी प्रभावित हुने क्षेत्रका रूपमा औँल्याएको छ ।

अबको तीन दिन अमेरिका-क्यानाडा व्यापार वार्ताका लागि निर्णायक हुने देखिएको छ । यस अवधिमा सम्झौताको अन्तिम दस्तावेज तयार भए शुल्क कार्यान्वयन रोकिनेछ भने सहमति नजुटे क्यानाडाली सामानमा ५० प्रतिशत शुल्क पुनः लागू हुन सक्नेछ ।