एजेन्सी । युक्रेनलाई उपलब्ध गराइएका बेलायतमा निर्मित ड्रोन रुसभित्र गहिराइसम्मका सैन्य तथा औद्योगिक लक्ष्यमा आक्रमण गर्न प्रयोग भएको समाचार सार्वजनिक भएपछि मस्कोले बेलायतलाई त्यसको ‘मूल्य चुकाउनुपर्ने’ चेतावनी दिएको छ ।
सन्डे टाइम्सले दुई बेलायती कम्पनीले उत्पादन गरेका ड्रोन युक्रेनले रुसी भूभागभित्रका लक्ष्यमा प्रहार गर्न प्रयोग गरेको समाचार प्रकाशित गरेपछि रुसी चेतावनी आएको हो । लन्डनस्थित रुसी दूतावासले बेलायतलाई युक्रेनको आक्रमणमा ‘सहयोगी र सह-अपराधी’ को भूमिका निर्वाह गरेको आरोप लगाउँदै द्वन्द्वलाई जानाजानी थप चर्काउने बाटो रोजेको बताएको छ ।
दूतावासले जारी गरेको विज्ञप्तिमा बेलायतको संलग्नता र किएभको ‘आतंकवादी संयन्त्र’ लाई दिइने समर्थन बढ्दै गए त्यसको मूल्य पनि बढ्दै जाने चेतावनी दिइएको छ ।
सन्डे टाइम्सका अनुसार ड्रोन उत्पादनमा संलग्न दुई कम्पनीमध्ये एउटा बेलायती प्रमुख रक्षा कम्पनी बीएई सिस्टम्सको सहायक कम्पनी हो । सुरक्षा कारण देखाउँदै अखबारले अर्को कम्पनीको नाम सार्वजनिक गरेको छैन ।
बेलायतको रक्षा मन्त्रालयले यस विषयमा तत्काल टिप्पणी गर्न गरिएको अनुरोधको जवाफ दिएको छैन । सन् २०२२ को फेब्रुअरीमा रुसले युक्रेनमाथि पूर्णस्तरको आक्रमण सुरु गरेयता बेलायत किएभको प्रमुख समर्थकमध्ये एक रहँदै आएको छ । बेलायतले युक्रेनलाई हालसम्म करिब २५ अर्ब पाउन्ड अर्थात् ३३ अर्ब अमेरिकी डलर बराबरको सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । यसमा करिब १६ अर्ब पाउन्ड सैन्य सहायता रहेको छ ।
युक्रेनले पछिल्ला महिनाहरूमा रुसी भूभागभित्र लामो दूरीका ड्रोन तथा अन्य हतियारमार्फत आक्रमण तीव्र पारेको छ । यस्ता आक्रमणले रुसको सैन्य तथा औद्योगिक पूर्वाधारलाई लक्षित गर्दै आएको बताइएको छ ।
यसको जवाफमा रुसले पनि युक्रेनमाथि हवाई आक्रमण बढाउँदै आएको छ । विशेषगरी राजधानी किएभमा रुसी क्षेप्यास्त्र र ड्रोन आक्रमणको क्रम पछिल्ला महिनाहरूमा तीव्र बनेको छ ।
बेलायत निर्मित ड्रोन रुसी भूभागमा प्रयोग भएको समाचारले युक्रेनलाई पश्चिमी मुलुकले उपलब्ध गराउँदै आएको सैन्य सहयोग र त्यसले रुस-युक्रेन द्वन्द्वमा पार्न सक्ने प्रभावबारे नयाँ विवाद जन्माएको छ । मस्कोले पश्चिमी मुलुकको सैन्य सहयोगलाई आफूविरुद्धको प्रत्यक्ष संलग्नताका रूपमा व्याख्या गर्दै आएको छ भने बेलायतलगायत युक्रेनका समर्थक राष्ट्रहरूले रुसी आक्रमणविरुद्ध किएभलाई सहयोग गर्नु आवश्यक रहेको बताउँदै आएका छन् ।
रुसी दूतावासको पछिल्लो चेतावनीले युक्रेनलाई सैन्य सहायता उपलब्ध गराउने बेलायत र रुसबीचको तनाव थप बढ्न सक्ने संकेत गरेको छ ।