
काठमाडौं । नेपाली हिपहप संगीत नयाँ चरणमा प्रवेश गर्ने तयारीमा छ। लामो समयदेखि भूमिगत रूपमा साइफर र साना प्रस्तुतीबाट अघि बढ्दै आएको नेपाली हिपहप अहिले ठूलो संख्यामा दर्शकसामु पुग्ने अवस्थामा पुगेका बेला ‘हसल बाई नेपहप’ टेलिभिजनमार्फत आउने भएको छ।
मलिन मिडियाले भारतीय र्याप सङ्गीतमा आधारित लोकप्रिय कार्यक्रम ‘एमटिभी हसल’को नेपाली संस्करणका रूपमा ‘हसल बाई नेपहप’ ल्याउन लागेको हो। नेपाली टेलिभिजनमार्फत प्रसारण हुने यो र्याप सङ्गीतमा आधारित प्रतिस्पर्धात्मक मनोरञ्जन कार्यक्रमका रूपमा तयार हुँदैछ।
कार्यक्रमले नेपाली हिपहप संगीत, कलाकार तथा संस्कृतिलाई राष्ट्रिय स्तरमा प्रस्तुत गर्ने मञ्च प्रदान गर्ने आयोजकको अपेक्षा छ।
कुनै समय सीमित समूहमा मात्र लोकप्रिय रहेको हिपहप संगीत पछिल्ला वर्षमा नेपालमा निकै लोकप्रिय बन्दै गएको छ। नयाँ पुस्ताका कलाकारले ठूलो संख्यामा दर्शक र श्रोता बनाएका छन् भने नेपाली र्याप गीतले विद्युतीय माध्यममा लाखौँ दर्शक पाउन थालेका छन्।
यही पृष्ठभूमिमा ‘हसल बाई नेपहप’ले नेपाली संगीतको मूलधारमा हिपहपले बनाएको स्थानलाई थप बलियो बनाउने अपेक्षा गरिएको छ।
कार्यक्रममा प्रतिभावान् कलाकारबीच प्रतिस्पर्धासँगै मार्गदर्शन र प्रस्तुतिको अवसर प्रदान गरिनेछ। अन्तर्राष्ट्रिय र्याप सङ्गीतमा लोकप्रिय प्रतिस्पर्धात्मक कार्यक्रमको अवधारणाबाट प्रभावित भए पनि यसको मुख्य विषयवस्तु नेपाली समाज, नेपाली कलाकार र स्थानीय कथामा केन्द्रित हुने आयोजकले जनाएको छ।
स्थापित र्यापरदेखि नयाँ प्रतिभासम्मलाई एउटै राष्ट्रिय मञ्चमा प्रस्तुत गर्ने उद्देश्य कार्यक्रमको रहेको छ। प्रस्तुति, कथा र प्रतिस्पर्धालाई एकसाथ अघि बढाउँदै नेपाली हिपहप समुदायमा रहेका विविध प्रतिभा उजागर गर्ने लक्ष्य राखिएको छ।
पछिल्लो समय नेपाली कलाकारले अन्तर्राष्ट्रिय दर्शकसमेत बनाउन थालेका छन्। यस्तो अवस्थामा हिपहप संगीतमा केन्द्रित राष्ट्रिय स्तरको कार्यक्रमले नेपाली कलाकारलाई थप अवसर प्रदान गर्नुका साथै नेपाली संगीतलाई अन्तर्राष्ट्रियस्तरमा चिनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
‘हसल बाई नेपहप’मार्फत हिपहपलाई केवल क्षणिक लोकप्रियताको विषय नभई दीर्घकालीन सम्भावना बोकेको नेपाली संगीत क्षेत्रका रूपमा स्थापित गर्ने प्रयास हुने आयोजकको भनाइ छ।
Copyright © Nepal Profit - 2026 / Developed By Webtech Nepal