• Menu

प्रधानमन्त्री वालेन्द्र शाह र भारतीय सेनाध्यक्ष धीरज सेठबीच शिष्टाचार भेटवार्ता

नेपाल प्रफिट

२०८३ भदौ २, मंगलबार १६:०८

प्रधानमन्त्री वालेन्द्र शाह र भारतीय सेनाध्यक्ष धीरज सेठबीच शिष्टाचार भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री एवं रक्षामन्त्री वालेन्द्र शाहसँग भारतीय स्थल सेनाध्यक्ष जनरल धीरज सेठले शिष्टाचार भेटवार्ता गरेका छन्।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मंगलबार भएको भेटमा नेपाल-भारतबीचको आपसी सम्बन्ध तथा दुई देशका सेनाबीचको सहकार्यका विषयमा छलफल भएको प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले जानकारी दिइन्। भेटमा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव पनि सहभागी थिए।

नेपाली सेनाका प्रधान सेनापति अशोकराज सिग्देलको औपचारिक निमन्त्रणामा सेनाध्यक्ष सेठ चारदिने भ्रमणका क्रममा आइतबार काठमाडौं आएका हुन्। पाँच सदस्यीय भ्रमण टोलीमा उनकी धर्मपत्नी कोमल सेठ पनि सहभागी छन्।

सेनाध्यक्ष सेठलाई सोमबार राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गरेका थिए।

नेपाल र भारतबीच सन् १९५० देखि दुवै देशका सेनापतिलाई एक-अर्को देशको मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गर्ने परम्परा रहँदै आएको छ।

सोमबार नै प्रधान सेनापति अशोकराज सिग्देल र सेनाध्यक्ष सेठबीच द्विपक्षीय भेटवार्ता भएको थियो। भेटमा आपसी हितका विषयसँगै नेपाल र भारतबीचको सैन्य सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा छलफल भएको थियो।

त्यस अवसरमा भारतीय सेनाध्यक्ष सेठले नेपाली सेनालाई सैन्य तथा स्वास्थ्य उपकरणसमेत हस्तान्तरण गरेका थिए। भ्रमणका क्रममा सेनाध्यक्ष सेठले मंगलबार बिहान पशुपतिनाथ मन्दिरमा पुगेर पूजाआजा गरेका छन्।

मित्रराष्ट्रका उच्चपदस्थ सैनिक अधिकारीको यस किसिमको भ्रमणले नेपाल र भारतबीचको सैनिक सम्बन्धलाई थप विस्तार र प्रगाढ बनाउन सहयोग पुग्ने नेपाली सेनाले जनाएको छ।

सेनाध्यक्ष सेठ बुधबार स्वदेश फर्कने कार्यक्रम रहेको छ।