
काठमाडौं। नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) ले गत आर्थिक वर्ष २०८२/८३ को अन्तिम तीन महिनामा ४ अर्ब २० करोड २४ लाख रुपैयाँभन्दा बढी नाफा कमाएको छ । कम्पनीले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार वैशाखदेखि असार मसान्तसम्ममा मात्रै उक्त नाफा कमाएको हो ।
आर्थिक वर्षको तेस्रो त्रैमाससम्म कम्पनीले ३ अर्ब १४ करोड ८० लाख रुपैयाँ नाफा कमाएको थियो । चौथो त्रैमासमा मात्रै नाफा १ अर्ब ५ करोड ४४ लाख रुपैयाँले बढेको हो ।
नेपाल टेलिकमको सेवा विस्तार, गुणस्तर सुधार तथा खर्च कटौतीमा सरकारले अघि सारेका सुधारात्मक कदमको प्रभाव कम्पनीको वित्तीय अवस्थामा समेत देखिन थालेको जनाइएको छ । सरकारले शासकीय सुधारसम्बन्धी १०० कार्यसूची तथा सूचना तथा सञ्चार मन्त्रालयअन्तर्गतको नतिजामा आधारित १० बुँदे सुधारात्मक कार्ययोजनामा नेपाल टेलिकमको सेवा सुधारलाई प्राथमिकतामा राखेको थियो ।
नेपाल टेलिकमका प्रवक्ता कमल लामिछानेका अनुसार पछिल्लो समय घरसम्म पुग्ने अप्टिकल फाइबर इन्टरनेट र जिएसएम डाटाको प्रयोग बढेका कारण आम्दानीमा वृद्धि भएको हो । भ्वाइस सेवाको तुलनामा डाटाको खपत बढ्दै गएको र सञ्चालन खर्च घटेका कारण नाफामा उल्लेख्य सुधार आएको उनले बताए ।
कम्पनीले विज्ञापन, प्रायोजनलगायतका खर्चमा कटौती गरेर पनि उल्लेख्य बचत गरेको जनाएको छ । गत आर्थिक वर्षमा यस्ता खर्च कटौतीबाट मात्रै करिब १० देखि १५ करोड रुपैयाँ बचत भएको टेलिकमको भनाइ छ । सेवा सञ्चालन तथा मर्मतसम्भार खर्चसमेत घटेको छ ।
गत आर्थिक वर्षको चौथो त्रैमाससम्म नेपाल टेलिकमले ८ अर्ब ८६ करोड ४६ लाख रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिको ६ अर्ब ६७ लाख रुपैयाँको तुलनामा खुद नाफा २ अर्ब ८५ करोड ७९ लाख रुपैयाँ अर्थात् ४७.५८ प्रतिशतले बढेको हो ।
कम्पनीको करअघिको नाफा पनि बढेर १३ अर्ब २६ करोड ४७ लाख रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षमा यस्तो नाफा ९ अर्ब ८५ करोड २ लाख रुपैयाँ थियो । यस आधारमा करअघिको नाफा ३ अर्ब ४१ करोड ४५ लाख रुपैयाँ अर्थात् ३४.६६ प्रतिशतले बढेको हो ।
त्यस्तै, ब्याज, कर, ह्रासकट्टी तथा अमोर्टाइजेसनअघिको आम्दानी २० अर्ब ४८ करोड १ लाख रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षमा यस्तो आम्दानी १८ अर्ब ४९ करोड ६० लाख रुपैयाँ थियो ।
कम्पनीको कुल सञ्चालन आय पनि बढेर ३४ अर्ब ९५ करोड ४ लाख रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षमा यस्तो आय ३३ अर्ब ८९ करोड ४५ लाख रुपैयाँ थियो ।
समीक्षा अवधिमा कम्पनीको कुल आय ३९ अर्ब १९ करोड ९६ लाख रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षमा कुल आय ३८ अर्ब १८ करोड ८१ लाख रुपैयाँ रहेको थियो ।
कम्पनीको वार्षिकीकरण गरिएको प्रतिसेयर आम्दानी ४९ रुपैयाँ २५ पैसा रहेको छ ।
ब्याजदर क्रमिक रूपमा घटेका कारण कम्पनीको ब्याज आम्दानी भने घटेको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा ब्याज आम्दानी करिब ८६ करोड १९ लाख रुपैयाँ अर्थात् २२.८८ प्रतिशतले घटेको कम्पनीले जनाएको छ ।
तर, मुख्य दूरसञ्चार सेवाबाट हुने आम्दानी बढेका कारण सञ्चालन आय र नाफामा सकारात्मक प्रभाव परेको छ । विशेषगरी जिएसएम सेवाबाट हुने आम्दानी ६४ करोड ५४ लाख रुपैयाँ अर्थात् २.२८ प्रतिशतले बढेको छ ।
सरकारले नेपाल टेलिकमको सेवा सुधारका लागि विभिन्न डिजिटल तथा प्रशासनिक सुधार अघि बढाएको छ । ग्राहकको डाटा प्याकेज सकिएपछि स्वतः मौज्दात रकम काटिने व्यवस्था अन्त्य गरी ग्राहकलाई शुल्क काट्ने वा नयाँ प्याकेज खरिद गर्ने विकल्प दिने व्यवस्था लागू गरिएको छ ।
त्यस्तै, सबै सेवा अनलाइन बनाउने तथा एकपटक मात्र ग्राहक पहिचान विवरण बुझाउनुपर्ने व्यवस्था लागू भएको छ । विद्युतीय सिम वितरण, गुनासो व्यवस्थापन, हराएको सिम पुनःप्राप्ति तथा स्वामित्व हस्तान्तरणलगायतका सेवा पनि अनलाइनबाट उपलब्ध हुन थालेका छन् ।
ग्राहकलाई एउटै स्थानबाट विभिन्न सेवा उपलब्ध गराउन टेलिकमका कार्यालयमा एकीकृत सहायता कक्षसमेत स्थापना गरिएको छ ।
यसैगरी, चौथो पुस्ताको मोबाइल सेवाको पहुँच र गुणस्तर सुधारका लागि थप आवृत्ति उपलब्ध गराउनेलगायतका नीतिगत काम अघि बढाइएको छ । सेवा सुधार, डाटा प्रयोगमा वृद्धि र सञ्चालन खर्चमा आएको कमीले आगामी दिनमा कम्पनीको वित्तीय अवस्थामा थप सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।
Copyright © Nepal Profit - 2026 / Developed By Webtech Nepal