
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले नेपाललाई युरोपेली संघ (इयू)को उडान सुरक्षा सूचीबाट हटाउन सरकार दृढताका साथ अघि बढिरहेको बताएका छन्।
प्रतिनिधिसभाको मंगलबारको बैठकमा मन्त्रालयगत विषयमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री पौडेलले उडान सुरक्षाप्रतिको नेपालको प्रतिबद्धता, सुधारात्मक कार्ययोजनाको कार्यान्वयन, नियामकीय क्षमता अभिवृद्धि, संस्थागत सुधार तथा इयूसँगको निरन्तर संवादका आधारमा नेपाल छिट्टै उक्त सूचीबाट हट्ने विश्वास व्यक्त गरे ।
उनले इयूबाट सुधारात्मक कार्ययोजनाको समीक्षा नतिजा प्राप्त भएपछि त्यसका आधारमा आवश्यक थप कदम अघि बढाइने बताए। नेपाललाई उडान सुरक्षा सूचीबाट हटाउने विषय सरकारको उच्च प्राथमिकतामा रहेको उल्लेख गर्दै उनले प्राविधिक सुधारसँगै नियामकीय क्षमता अभिवृद्धि, संस्थागत सुधार र कूटनीतिक पहललाई समानान्तर रूपमा अघि बढाइएको जानकारी दिए ।
इयूले सन् २०२३ को सेप्टेम्बर ११ देखि १५ सम्म नेपालमा स्थलगत उडान सुरक्षा मूल्यांकन गरेको थियो। उक्त मूल्याङ्कनपछि आएका सुधारात्मक सुझाव कार्यान्वयन नभएको अवस्थामा आफूहरू आएपछि गत जुन ५ मा इयूसमक्ष त्यसको विवरण पेस गरिएको मन्त्री पौडेलले बताए।
इयूले जुन १२ मा पठाएको जानकारीअनुसार सुधारात्मक कार्ययोजनाको समीक्षा नतिजा छिट्टै उपलब्ध गराउने जानकारी दिएको उनले बताए।
उडान सुरक्षा तथा नियमनसम्बन्धी प्राविधिक क्षमता अभिवृद्धिका लागि अन्तर्राष्ट्रिय साझेदारसँगको सहकार्यमा विभिन्न कार्यक्रम सञ्चालन भइरहेको मन्त्री पौडेलले जानकारी दिए ।
संस्थागत सुधारतर्फ पनि महत्वपूर्ण काम अघि बढाइएको उनको भनाइ छ। नेपाल नागरिक उड्डयन प्राधिकरणलाई नियामकीय निकाय र सेवा प्रदायक निकायका रूपमा छुट्टाछुट्टै संरचनामा विभाजन गर्ने सम्बन्धमा आवश्यक विधेयक तयार भइसकेको र छिट्टै संसद्मा पेस गरिने उनले बताए।
प्राविधिक तथा संस्थागत सुधारसँगै सरकारले कूटनीतिक तहबाट पनि निरन्तर पहल गरिरहेको मन्त्री पौडेलले जानकारी दिए। यस क्रममा नेपालका लागि इयूका राजदूतसँग भेट गरी नेपालले उडान सुरक्षाका क्षेत्रमा गरेको प्रगति, सुधारात्मक कार्ययोजनाको कार्यान्वयन तथा आगामी योजनाबारे छलफल गरिएको उनले बताए ।
त्यस्तै, इयू सदस्य राष्ट्रका नेपालस्थित तथा गैरआवासीय राजदूतसँग पनि भेटघाट गरी नेपाललाई उडान सुरक्षा सूचीबाट हटाउने विषयमा नेपालको प्रतिबद्धता र सुधारका प्रयासबारे जानकारी गराउँदै सहयोगका लागि आग्रह गरिएको उनले बताए ।
मन्त्री पौडेलले नेपाललाई इयूको उडान सुरक्षा सूचीबाट हटाउने काम केवल कूटनीतिक पहलबाट नभई उडान सुरक्षामा वास्तविक र मापनयोग्य सुधारमार्फत सुनिश्चित गर्नुपर्ने बताए ।
‘अन्तर्राष्ट्रिय हवाई सुरक्षा मापदण्डअनुसार प्राविधिक र नियामकीय सुधारलाई तीव्रता दिइएको छ । इयू र सदस्य राष्ट्रसँग उच्चस्तरीय कूटनीतिक संवादलाई निरन्तरता दिइएको छ,’ उनले भने।
Copyright © Nepal Profit - 2026 / Developed By Webtech Nepal