
एजेन्सी । आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को तीव्र विस्तारसँगै दक्षिण कोरियामा युवाहरूका रोजगारीका अवसरमा गम्भीर जोखिम देखिएको केन्द्रीय बैंकको एक प्रतिवेदनले जनाएको छ । पछिल्ला चार वर्षमा युवाको रोजगारी दुई लाख ८५ हजारले घटेकामा ९४ प्रतिशत अर्थात् दुई लाख ६८ हजार रोजगारी एआईको उच्च जोखिम भएका क्षेत्रमा गुमेको पाइएको छ ।
राष्ट्रिय पेन्सन सेवा (एनपीएस) का ग्राहक अभिलेख तथा आर्थिक रूपमा सक्रिय जनसंख्यासम्बन्धी सर्वेक्षणका आधारमा तयार गरिएको बैंक अफ कोरिया (बीओके) को प्रतिवेदनले एआईको उच्च जोखिम भएका उद्योगमा युवाको रोजगारी घट्ने क्रम जारी रहेको जनाएको छ ।
प्रतिवेदनअनुसार पछिल्ला चार वर्षमा सूचना सेवामा युवाको रोजगारी ३१.४ प्रतिशतले घटेको छ । यसैगरी प्रकाशन क्षेत्रमा २७.४ प्रतिशत, कम्प्युटर प्रोग्रामिङमा १६.६ प्रतिशत र व्यावसायिक सेवामा ११.६ प्रतिशतले युवा रोजगारी घटेको पाइएको छ ।
युवाका लागि रोजगारीका अवसर खुम्चिँदै गए पनि सोही उद्योगमा ५० वर्ष उमेर समूहका कामदारको रोजगारी भने बढेको प्रतिवेदनले जनाएको छ । यसले एआईको विस्तारसँगै श्रम बजारमा पुस्तागत अन्तरसमेत बढ्दै गएको संकेत गरेको छ ।
बीओकेको प्रतिवेदनले भने एआई प्रविधिको विस्तारलाई मात्र रोजगारी घट्नुको कारण मान्न नहुने स्पष्ट गरेको छ । एआईलाई कसरी प्रयोग गरिन्छ भन्ने कुराले रोजगारीमा पर्ने प्रभाव निर्धारण गर्ने प्रतिवेदनको निष्कर्ष छ ।
मानवले गर्दै आएका कामलाई पूर्ण रूपमा प्रतिस्थापन गर्ने गरी एआई प्रयोग भएका उद्योगमा युवाको रोजगारीमा बढी गिरावट देखिएको छ । तर मानव कामलाई सहयोग गर्ने तथा उत्पादकत्व बढाउने उपकरणका रूपमा एआई प्रयोग भएका क्षेत्रमा युवा भर्तीमा नकारात्मक प्रभाव तुलनात्मक रूपमा सीमित रहेको प्रतिवेदनले जनाएको छ ।
प्रतिवेदनले एआई अपनाउने वा नअपनाउनेभन्दा पनि व्यवसायहरूले एआईलाई मानव श्रमको विकल्पका रूपमा प्रयोग गर्छन् वा मानव क्षमतालाई सहयोग गर्ने साधनका रूपमा प्रयोग गर्छन् भन्ने विषय रोजगारीको परिणामका लागि महत्त्वपूर्ण हुने निष्कर्ष निकालेको छ ।
यसले एआईको विकाससँगै रोजगारीको स्वरूप परिवर्तन भइरहेका बेला विशेषगरी श्रम बजारमा प्रवेश गर्न खोजिरहेका युवाका लागि नयाँ सीप र प्रविधिसँग अनुकूलन गर्ने क्षमता महत्त्वपूर्ण बन्दै गएको देखाएको छ ।
Copyright © Nepal Profit - 2026 / Developed By Webtech Nepal