• Menu

इन्डोनेसिया भूकम्प : ४७ जनाको मृत्यु, १०० भन्दा बढी घाइते उद्धार कार्य जारी

नेपाल प्रफिट

२०८३ साउन ३१, आइतबार ११:५४

इन्डोनेसिया भूकम्प : ४७ जनाको मृत्यु, १०० भन्दा बढी घाइते उद्धार कार्य जारी

एजेन्सी । इन्डोनेसियाको पूर्वी क्षेत्रमा गएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको संख्या ४७ पुगेको छ। भूकम्पमा परी १०० भन्दा बढी घाइते भएका छन् भने हजारौँ मानिस विस्थापित भएका छन्।

भूकम्प गएको भोलिपल्ट आइतबार उद्धारकर्ताले भग्नावशेष र पहिरोमा पुरिएका मानिसको खोजी तीव्र बनाएका छन्। राष्ट्रिय विपद् व्यवस्थापन निकायका अनुसार मङ्गराई क्षेत्रमा २४ तथा पूर्वी मङ्गराईमा १७ जनाको मृत्यु भएको छ। सिक्का, न्गाडा र एन्डे क्षेत्रमा पनि मानवीय क्षति भएको जनाइएको छ।

फ्लोरेस टापुका विभिन्न क्षेत्रमा भूकम्पपछि गएको पहिरोमा मानिस पुरिएको आशंकामा उद्धारकर्ताले खोजी गरिरहेका छन्। उद्धार टोलीले पहुँच कठिन रहेका मङ्गराई, पूर्वी मङ्गराई र नागेकेओलगायत क्षेत्रमा खोजी कार्य पुनः सुरु गरेको छ।

अमेरिकी भूगर्भ सर्वेक्षणका अनुसार ७.७ म्याग्निच्युडको भूकम्प पूर्वी नुसा तेङ्गारा प्रान्तको एन्डेबाट उत्तर-उत्तरपश्चिमतर्फ ६८ किलोमिटर टाढा केन्द्रबिन्दु भएर गएको थियो। भूकम्पको केन्द्र समुद्रको सतहबाट करिब १० किलोमिटर गहिराइमा रहेको थियो।

भूकम्पका कारण फ्लोरेस टापुको अधिकांश भाग प्रभावित भएको छ। यसको धक्का छिमेकी पश्चिमी नुसा तेङ्गारा र दक्षिणी सुलावेसीका केही क्षेत्रमा समेत महसुस गरिएको थियो।

विपद् व्यवस्थापन निकायका अनुसार भूकम्पबाट ९०० भन्दा बढी घर पूर्ण रूपमा ध्वस्त भएका छन् भने करिब ४५० घरमा क्षति पुगेको छ। करिब पाँच हजार मानिस अस्थायी आश्रयस्थलमा बस्न बाध्य भएका छन्। परकम्पको डरले अन्य हजारौँ बासिन्दाले समेत रात खुला आकाशमुनि बिताएका छन्।

विद्यालय, स्वास्थ्य केन्द्र र चर्चलगायत कम्तीमा १६७ सार्वजनिक संरचनामा क्षति पुगेको छ। राहतकर्मीले प्रभावित क्षेत्रमा चामल, तयारी खाना, खानेपानी, कम्बल र औषधि वितरण सुरु गरेका छन्। विस्थापितका लागि आपत्कालीन आश्रयस्थल निर्माण भइरहेको छ।

अधिकारीहरूले विद्युत तथा सञ्चार सेवा पुनर्स्थापना गर्नु र पहिरोका कारण सम्पर्क विच्छेद भएका दुर्गम गाउँमा राहत पुर्‍याउनु मुख्य चुनौती रहेको बताएका छन्। पहिरोका कारण फ्लोरेसका विभिन्न बस्ती जोड्ने करिब ७०० किलोमिटर लामो ट्रान्स-फ्लोरेस राजमार्गका केही खण्डसमेत अवरुद्ध भएका छन्।

कोमोडो राष्ट्रिय निकुञ्जको प्रवेशद्वारका रूपमा परिचित लाबुआन बाजो पनि भूकम्पबाट प्रभावित भएको छ। धेरै बासिन्दाले क्षतिग्रस्त घरमा फर्किनुभन्दा बाहिरै रात बिताएका छन्।

मौमेरेस्थित खोज तथा उद्धार कार्यालयका प्रमुख फतुर रहमानका अनुसार अधिकांश पहिरो हटाएर केही पृथक गाउँमा सडक सम्पर्क पुनःस्थापित गरिएको छ। यद्यपि सञ्चार र विद्युत सेवा अवरुद्ध हुँदा खोजी तथा उद्धार कार्य प्रभावित भइरहेको छ। उद्धारकर्ताले भत्किएका घर तथा अन्य संरचनाको भग्नावशेषमा सम्भावित पीडितको खोजी गरिरहेका छन्।

भूकम्पको उच्च जोखिममा इन्डोनेसिया

१७ हजारभन्दा बढी टापु रहेको इन्डोनेसिया प्रशान्त महासागरको ‘रिङ अफ फायर’ क्षेत्रमा पर्छ। सक्रिय ज्वालामुखी र भूगर्भीय चिरा रहेका कारण इन्डोनेसिया भूकम्प तथा ज्वालामुखी गतिविधिको उच्च जोखिममा रहेको मुलुक हो।

सन् १९९२ मा फ्लोरेस क्षेत्रमा गएको शक्तिशाली भूकम्पपछि आएको सुनामीमा करिब दुई हजार ५०० जनाको मृत्यु भएको थियो। त्यस्तै, सन् २०१८ मा ७.५ म्याग्निच्युडको भूकम्पपछि आएको सुनामी र त्यसबाट भएको भू-तरलीकरणका कारण पालु सहरमा ठूलो विनाश भएको थियो। उक्त विपद्मा चार हजार ४०० भन्दा बढी मानिसको मृत्यु भएको थियो।

सन् २००४ को डिसेम्बरमा इन्डोनेसियाको सुमात्रा टापुनजिकै गएको ९.१ म्याग्निच्युडको भूकम्पपछि आएको विनाशकारी सुनामीले हिन्द महासागर क्षेत्रका एक दर्जनभन्दा बढी देशमा करिब दुई लाख ३० हजार मानिसको ज्यान लिएको थियो।